रवि लामिछानेविरुद्धको मुद्दा संवैधानिक इजलासको पहिलो नम्बरमा
काठमाडौँ । नागरिकता विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा संवैधानिक इजलासको पहिलो नम्बरमा पेसीमा चढेको छ । अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा अन्तरिम आदेश प्रयोजनका लागि शुक्रवार पेसीमा चढेको हो ।
अमेरिकाको नागरिकता र पासपोर्ट लिएकै समयमा नेपालको समेत नागरिकता र पासपोर्ट प्रयोगमा ल्याएको तथा अमेरिकाको नागरिकता त्याग गरेको निस्सा नबुझाई पुरानो नेपाली नागरिकता प्रयोग गरेको भन्दै लामिछाने र उनको सांसद पदसमेत खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
युवराज पौडेल (सफल) र अधिवक्ता रविराज बसौलासमेतले गत मङ्सिर २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेको नागरिकता प्राप्ति र उनको सांसद पदको शपथ संविधान अनुसार नभएको भन्दै ती दुवै खारेज गर्न रिट दर्ता गराएका थिए । मङ्सिर २८ गते दर्ता भएको रिटमा पुसको ६ गते पेसी सूचीमा चढ्दा विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि पुस २२ गते (शुक्रवार) छलफलका लागि बोलाएको थियो । बिहीबारसम्म सांसद पदमा रही कामकारबाही नगर्न नगराउन किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो सो विषयमा स्पष्ट पार्न लिखित जवाफ बुझाउन भनिएको थियो । बिहीबार अपराह्नसम्म विपक्षी संसद् सचिवालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले मात्रै लिखित जवाफ पेस गरेका थिए ।
शुक्रबारको पेसी सूचीको पहिलो नम्बरमा रहेको उक्त रिटमा सांसद पदमा रही काम कारबाही गर्न पाउने वा नपाउने भन्ने सम्बन्धमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा सुनुवाइ हुनेछ । अदालतले सांसदको पदमा रही काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएमा उनले सांसद र सांसदको हैसियतमा पाएका अन्य पदमा पनि मुद्दाको अन्तिम किनारा नलागेसम्म कामकारबाही गर्न पाउनेछैनन् । अन्तरिम आदेश जारी नभएको अवस्थामा भने उनले सांसदकै रूपमा गर्ने सबै काम कारबाही गर्न पाउनेछन् । यद्यपि मुद्दाको अन्तिम किनारा लाग्दा हुने फैसलाका आधारमा उनको नागरिकता विवादको निरूपण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण