बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा प्रकाश र रचनाले नचाए दर्शक

शनिबार, २३ पुस २०७९, २१ : ३०
शनिबार, २३ पुस २०७९

जापान । केही दिनअघि जापानमा आयोजित सांगीतिक धमाका-२०२३ मा कलाकार प्रकाश सपुतले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई देशको वर्तमान अवस्थाका कारण लाखौं नेपाली जनशक्ति विदेशिन वाध्य हुनुपरेको बारेमा चोटिलो प्रहार गर्दै त्यसतर्फ विशेष ध्यान पुर्याउन आग्रह गर्दै उनले भने– ‘मेरो पनि हैन र यो देश मेरो पनि हैन र...।’ प्रकाशले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर गीत संगीतमार्फत अनुनय गरे।

विदेशमा जतिसुकै सुविधायुक्त वातावरण रहेपनि पनि हरेक नेपालीलाई आफ्नै माटों प्यारो लाग्ने आफ्नै संस्कृति उकृष्ट लाग्ने, आफ्नै माटोमा बगाएका पसिनाको सुगन्ध मिठो लाग्ने भनेर मिठो साँगीतिक प्रस्तुति प्रस्तुत गर्दा जापानबासी नेपालीलाई निकै भावुक बनाए ।

उनले आमाले बनाएर दिएको आटो र गुन्द्रुकसँग यहाँको सुसी तुलना नै गर्न नसकिने भन्दै मूलको पानीले जसरी फ्रिजको चिसो पानीले तिर्खा मेटिदैन भन्दै सांगीतिक प्रस्तुति दिइरहँदा परदेशी नेपाली भावुक बनेका थिए । उनले सांगीतिक कार्यक्रममार्फत दर्शकहरुलाई आफ्नै गाउँठाउँ र बनपाखामा पुग्न बाध्य पारेका थिए । परदेशी नेपालीको मन चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे ।
‘किन्न त पाईन्छ पानी फ्रिजको अनि हावा एसीको
तर तिर्सना मेट्दैन गाउँ गाउँबेसीको
यस्तै छ कहानी परदेशीको’

‘छाती चर्क्यो चरर चरर मया, आँशु खस्यो बरररर मया, गाउँघर सम्झी रुन्छु म धररर’.....।भन्ने गीतमा हरेक परदेशीको व्यथालाई कथामा बुनेर अभिनय सहितको प्रकाशले प्रस्तुति दिँदा सबैका आँखामा आँशु टिल्पिलाएका थिए । 

जापानमा पहिलोपटक गलकोट समाजद्वारा आयोजित सांगीतिक धमाकामा प्रस्तुति दिन आएकी  चकलेटी गायिकाको उपमा पाएकी अत्यन्तै व्यस्त गायिका रचना रिमालले आफ्ना प्रस्तुति मार्फत जापानवासी दर्शकको मन मनमा बस्न सफल भइन् । उनका प्रस्तुतिले मात्र होइन उनीसँगको तस्बिर लिन र टिकटक बनाउन दर्शकको भिड नै लागेको थियो ।

सानो उमरमै सयौं गीत गाएर चर्चाको शिखरमा रहेकी रचनाले आफूद्वारा स्वरबद्द गरेका चर्चित गीत ‘फोटो फिरिम फिरिममा’ ‘उनको पिरती पहिले हो की’, ‘ढुंगे धारा, ‘सम्झनी पानी छम्कनी’ पोखरेली माया ’लगायत गीत गाइन् ।

त्यस्तै आफूलाई संगीत क्षेत्रमा सर्जकको रूपमा चिनाउन रुचाउने गलकोटे माटोमा जन्मिएर संगीत कर्मलाई नै व्यावसायिक पेशाको रूपमा अंगालेका कुशल संगीतकार तथा गायक समेत रहेका श्रीकृष्ण बम मल्लले  ‘लोभी आँखा’ ‘ निरमाया ठुली’, ‘ डाँडाघरे साइली’, ‘बागलुङ गलकोटैमा मेरो घर’ लगायत उनले आफूले सृजना गरेका चर्चित सृजना प्रस्तुत गरेर जापानबासी नेपाली दर्शकको मन जित्न सफल भए ।

सो सांगीतिक धमाकामा पञ्चेबाजाका गीतमा चर्चित गायक इश्वर सिंहले दिएका प्रस्तुतिले दर्शकलाई ननाची सुख दिएनन् । उनले चर्चित पञ्चेबाजाको गीत ‘शिरफूल शिरको’ ‘फूल पहेलै’, ‘यानीमाया’ ‘साइली’ गीत गाउँदा दर्शकहरू नाच्न थालेपछि आयोजकलाई भिड थाम्न हम्मे हम्मे परेको थियो भने ‘मादी दोभान’, आँशु बरबर’ लगायत गीत प्रस्तुत गर्दा भावुक समेत बनाएर दर्शकको मनमनमा राज गर्न सफल भएका थिए ।

गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२३ को अवसरमा ‘गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ सांगीतिक धमाका-२०२३’ अन्तर्गत जापानका चारवटा शहरमा  सांगीतिक प्रस्तुति सहितको कार्यक्रम सम्पन्न गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप