शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गाउँलाई सदरमुकामको बजारसँग जोड्न पक्की पुलको निर्माण

सोमबार, २५ पुस २०७९, ०९ : ५७
सोमबार, २५ पुस २०७९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ बाट वडा नं ४ जिल्ला सदरमुकाम जोड्न त्रिशूली नदीमा पक्की पुलको निर्माण तीव्र बनाइएको छ । 

जिल्ला सदरमुकामसँग जोडिएको भए पनि हालसम्म झोलुङ्गे पुलबाट वारपार हुँदै आएको विदुर–१२ को गाउँलाई सदरमुकामको बजारसँग जोड्न निर्माण थालिएको पक्की पुलको काम लक्ष्यभन्दा तीव्र बनाइएको हो ।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, पुल योजना मध्यक्षेत्र सेक्टर नं २ ललितपुरमार्फत निर्माण भइरहेको पक्की पुलको लक्ष्यभन्दा आधा समयअगावै सम्पन्न गर्ने गरेर निर्माणको काम भइरहेको निर्माण व्यवसायी जयविष्णु निर्माण सेवाका सञ्चालक अनिलकुमार सिलवालले जानकारी दिए । उनकाअनुसार तीन पिल्लरसहित दुई स्पानमा निर्माण गरिने पुलको हालसम्म दुई पिल्लरसहित एक स्पानको काम सम्पन्न भइसकेको छ । बाँकी एक स्पान र एक पिल्लरको काम अघि बढाउन सुरु भइसकेको छ ।

रु नौ करोड ५६ लाख लागतमा गत वैशाखदेखि काम सुरु भएको पुलको नौ महिनाको अवधिमा ६० प्रतिशत पूरा भएको छ । अर्को वर्ष विसं २०८० माघसम्ममा निर्माण सक्नुपर्ने भए पनि आगामी बर्खाअगावै सम्पन्न गर्ने लक्ष्यको साथ काम तीव्र बनाइएको हो । “पुल निर्माणमा ६० भन्दा बढी प्राविधिकसहितको जनशक्ति खटाइएको छ ।” निर्माण व्यवसायी सिलवालले भने, “आवश्यकताअनुसार निर्माण सामग्री र उपकरण व्यवस्थापनले पुलको निर्माणलाई निर्धारित लक्ष्यभन्दा आधा समय अगाडि सक्नेछौँ ।”

दायाँबायाँ पैदलयात्रु हिँड्नसमेत पुग्ने गरेर ११ मिटर चौडाइ र एकसय मिटर लम्बाइको पक्की पुल निर्माणले यहाँका बासिन्दालाई जिल्ला सदरमुकाम, बजार, अस्पताल, उच्च शिक्षा अध्ययनलगायतमा जोडिन प्रत्यक्ष लाभ पुग्नेछ । 

विदुर–१२ गौरीवेशीबाट विदुर–४ सिमचउर जोड्ने पुल बनेपछि साविक चारघरे गाविस हाल विदुर नगरपालिका वडा नं १२ को बासिन्दालाई जिल्ला सदरमुकामसँग यातायातको दूरी सहज, बाह्रै महिना चल्ने र निकै छोटो हुने स्थानीय शिक्षक नवराज ढुङ्गानाले बताए । 

अहिले यहाँका बासिन्दा अन्यत्र आउजाउको लागि त्रिशूली नदी पार गर्न विदुर–६ अथवा विदुर–८ हुँदै जानुपर्ने बाध्यता छ । गाउँमा उत्पादित कृषिउपज, दूधजन्य पदार्थ, कक्षा ११ अध्ययन र त्रिशूली अस्पतालसहित बजारमा पुग्न अहिले अर्को वडा भएर घुमेर जानुपर्नेमा अब यसले ल्याउने परिवर्तन ठूलो छलाङ हुने उनको भनाइ छ । 

“वडामा हालसम्म कक्षा ११ अध्यापन गराउने एउटै विद्यालय छैन । सँगै जोडिएका वडा (त्रिशूली नादी पारी) पुग्दा सदरमुकामको बजार पुगिन्छ । अहिलेसम्म पक्की पुलविहीन भएको चारघरे (विदुर–१२)लाई गोरीबेँसी–सिमचउर पुल निर्माणले विकासको परिवर्तनमा लागि कोसेढुङ्गाना बन्दछ ।” शिक्षक ढुङ्गानाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप