शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालनाटक: हिमाल

सोमबार, २५ पुस २०७९, १३ : १०
सोमबार, २५ पुस २०७९

स्थान:– कुनै सामुदायिक विद्यालय
समय:– अपराह्न तीन बजे
पात्रहरू:– सुशान्त (कक्षा पाँचका सामाजिक कक्षा शिक्षक) ४० वर्ष
१, कमला:– वर्ष १० की छात्रा
२, सुमन:– वर्ष १० को छात्र 
३, सिम्रिका:– वर्ष १० की छात्रा
४, हिक्मत:– वर्ष १० को छात्र 
मञ्चमा २०।२५ जना विद्यार्थी देखिन्छन् । एकाएक शिक्षक सुशान्तको प्रवेश हुन्छ । विद्यार्थीहरूले उठेर नमस्कार गर्छन् । शिक्षक सुशान्त सबैलाई बस्न आग्रह गर्दै भन्छन्–
‘बाबु नानी हो ! आज कुन विषय पढ्ने भन त ? मलाई त कुनै प्राकृतिक विषयमा छलफल गरौँ कि जस्तो लागेको छ, के भन्छौ ?’
कमला:– मलाई पनि त्यस्तै लागेको छ गुरु !’ 
शिक्षक:– ठीक भन्यौ । यस्ता छलफल पनि शिक्षा नै हो । पढ्नुको अर्थ पाठ्यपुस्तक धोक्नु मात्र होइन ।’
सुमन:– मलाई पनि यस्तै विषयमा छलफल गरौँ कि जस्तो लागिरहेको छ ।
सिम्रिका:– कुरा त ठीकै हो तर छलफल गर्ने पो कुन विषयमा ?’
हिक्मत:– आज हिमालको विषयमा छलफल गरौँ न हुन्न ? हामीले हिमाल देखेका त छौँ तर त्यसबारे खासै जानकारी पाएका छैनौँ ।’
विद्यार्थीहरू:– (सामुहिक स्वरमा) हो, ठीक भनेका छन् हिक्मतले । हामीलाई पनि यसबारे जान्न मन लागेको छ ।’
शिक्षक:– ठीक छ राम्रो कुरा ग¥यौ । यस्ता कुरामा चासो राख्नुपर्छ । बरू भन त हिमालका बारेमा के कुरा जान्न चाहेका हौ ?’
विद्यार्थीहरू (सामुहिक स्वरमा) यही कि हिमालहरू कसरी बन्छन्, के गर्छन्, तिनले हाम्रो जीवनमा पार्ने प्रभावका बारेमा जान्न चाहन्छौँ ।’
शिक्षक:– हामी बसेको पृथिवी बाहिर जति देखिएको छ त्यतिमात्र होइन । यसभित्र योभन्दा ठूलो हिस्सा छ । त्यस्तै बाहिर जेजति गतिविधि देखिएका छन् भित्र पनि त्यत्तिकै गतिविधि (उथलपुथल) भइरहेका छन् ।’
हिक्मत:– यसको हिमाल बन्नुसँग के सम्बन्ध छ र गुरु !’
शिक्षक:– ‘ छ नि किन नहुने ? यसैको कारण त हिमाल बनेका हुन् ।’
कमला:– ‘हो र ?’
शिक्षक:– ‘हो त नि ।’
सिम्रिका:– कसरी गुरु !’
शिक्षक:– लौ सुन । पृथिवीभित्र हुने भौगर्भिक गतिविधि (उथलपुथल) मा एउटा प्लेटहरूका चालन पनि हुन् । हाम्रो मुलुक र यसको आसपासको भूभाग भित्र रहेको प्लेटलाई इन्डियन प्लेट र तिब्बतियन प्लेट भनिन्छ । यिनीहरू आपसमा जुधेका कारण हिमालय पर्वतहरू बनेका हुन् ।’
सुमन:– हिमालयहरू नेपालमा मात्र छन् कि अन्यत्र पनि गुरु !’
शिक्षक:– अन्यत्र पनि छन् । हिन्दूकुश क्षेत्र (हालको अफगानिस्थान) देखि म्यानमार (ब्रह्मपुत्र नदीको आसपास) सम्म पूर्वपश्चिम भएर हिमालहरू फैलिएका छन् । यसको लम्बाई झण्डै २५ सय किलोमिटरको आसपास मानिएको छ ।’
कमला:– यिनले हाम्रो जीवनमा पार्ने प्रभाव केकस्ता छन् नि गुरु !’
शिक्षक:– धेरै छन् । यिनीहरू हाम्रा जलभण्डार हुन् । यहाँका नदीनाला यिनैका देन हुन् । यिनीहरू भएकाले नै यो क्षेत्र रसिलो, मलिलो र हराभरा भएका हुन् । यिनीहरू नभएका भए हाम्रो बासस्थान मरुभूमिमा परिणत हुन्थ्यो ।’
हिक्मत:– एऽ हिमालहरू त हाम्रा प्राण समान पो रहेछन् ।’
शिक्षक:– हो त नि । त्यसैले यसलाई बचाउन पर्छ ।’
कमला:– त्यो भनेको के हो गुरु !’
शिक्षक:– यही कि आवश्यकताभन्दा बढी गर्मी भयो भने अनावश्यक मात्रामा हिमालय पग्लिन थाल्छन् । यसरी हिमाल पग्लिँदै गयो भने पहिलो कुरा त हाम्रो वासस्थान मरुभूमिमा परिणत हुन पुग्छन् । अर्को कुरा पानी बढेर समुद्र निकटका भूमि तथा बस्तीहरू डुवानमा पर्न सक्छन् । त्यसैले तिनलाई बचाउने प्रयास गर्नुपर्छ भनेको ।’
सुमन:– बढी गर्मी हुनका कारण के हो नि गुरु !’
शिक्षक:– पृथिवीमा जति बढी धूवा, धुलो, कलकारखाना बढ्दै जान्छन् तिनैहरूकै कारण वायुमण्डलमा गर्मी बढ्दै जान्छन् र तिनै गर्मीका कारण हिमालय पग्लिन्छन् ।’
कमला:– अनि बचाउने कसरी नि गुरु !’
शिक्षक:– त्यस्तो गतिविधि हुन नदिने ।’
सुमन:– यस्तो काम एउटा देशको प्रयासले मात्र सम्भव हुन्छ र गुरु !’
शिक्षक:– हुँदैन, यसका लागि विश्वभरिकै देशहरूले मिलेर होस्टे हैँसे गर्नुपर्छ । यसबारेमा आवाज उठ्न थालिसकेका पनि छन् । तथापि यस्तो काम सरकारले मात्र गरेर नहुने भएकाले जनस्तरबाट पनि उत्तिकै चासो दिनुपर्ने हुन्छ ।’
हिक्मत:– त्यो कसरी गुरु !’
शिक्षक:– जताभावी फोहर नफाल्ने, नदीहरू सफा राख्ने, अनावश्यक धूलो उड्न नदिने, डडेलो नलगाउने, आफ्ना सवारी साधनलाई नियमित चेकजाँच गरी बढी आवाज र धूवाँ फाल्नबाट बचाउने, फोहर तथा घाँस, पराल नपोल्ने, कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने, नकुहिने जति छुट्याएर व्यवस्थित गर्ने जस्ता कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै गर्न सक्छौँ । बाँकी काममा सरकारहरूले पनि उत्तिकै ध्यान दिनुपर्छ । हिमालको आयु लम्ब्याउने भनेका यस्तै कामले नै हुन् ।’
विद्यार्थीहरू:– ओ हो ! यस्तो कुरा त सबैले सिक्नुपर्ने रहेछ । अवदेखि हामी पनि त्यस्तै गर्छौँ र मम्मी पापालाई पनि सिकाउँछौँ ।’
शिक्षक:– अति राम्रो । चाँडै नै कुरा बुझ्यौ, खुसी लाग्यो ।’
यत्तिकैमा समय सकिन्छ, सबै आ–आफ्ना घरतिर लाग्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप