शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी लाग्यो लालबाबुको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक

सोमबार, २५ पुस २०७९, १९ : २४
सोमबार, २५ पुस २०७९

जनकपुरधाम । सोमबार जसपा नेपाल मधेस प्रदेशको दलको नेतामा निवर्तमान सभामुख सरोज यादव चयन भएपछि मुख्यमन्त्री लालबाबु राउतको पुनः मुख्यमन्त्री बन्ने सपनामा ‘ब्रेक’ लागेको छ ।

मुख्यमन्त्री राउत पुनः दलको नेता भई मधेस प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहे पनि उनलाई आफ्नै पार्टीका सरोज यादवले उछिनेका छन् । दलको नेतामा चुनिएसँगै यादव मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की भएको छ ।

केन्द्रकै राजनीतिक समीकरण अनुसार मधेस प्रदेशमा राजनीतिक कोर्ष अघि बढ्ने निश्चित देखिएपछि जसपा दलको नेता चयनमा सकस बनेको थियो । प्रदेश कमिटी र पार्टी अध्यक्ष समेतले सहमतिमै दलको नेता चयन गर्न प्रयास गरे पनि सहमति हुन नसकेपछि आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो ।

मधेस प्रदेशमा १६ सांसदसहित तेस्रो र निर्णायक दल रहेको जसपामा दलको नेता बन्न राउत र यादवबीच चुनावी प्रतिस्पर्धा हुने तय भएको थियो । दुवैले उम्मेदवारी दिए पनि अन्तिम समयमा पार्टीका सांसदहरुको साथ नपाउने देखेपछि राउत ‘ब्याक’ हुन बाध्य भए ।

पुस २१ र २२ गते जनकपुरधाममा दलको नेता चयन गर्न गठित समितिको बैठक निरन्तर चल्यो । तर, आकांक्षी बढी देखिएपछि समितिले दलको नेता चयन गर्न सकेन । त्यसपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नेता चुन्ने अधिकार दिइयो । तर यादवले दलको नेता छनौट गर्न प्रदेश कमिटीलाई निर्देशन दिए । पार्टीका नेता लालकिशोर साहको नेतृत्वमा गठन भएको उक्त समितिको बैठक आइतबार बसेर सोमबार निर्वाचन प्रक्रियाबाट दलको नेता छान्ने निर्णय ग¥यो ।

राउतको पक्षमा करिब ४–५ जना सांसद देखिए पनि उनले उम्मेदवारी दिने निधो गरेका थिए । तर आफ्ना प्रस्तावकले नै आफूलाई मत नदिने सुइँको पाएपछि यादवलाई समर्थन गर्ने निर्णयमा उनी पुगे ।

को हुन् दलका नेता यादव ?

निवर्तमान सभामुख तथा जसपा मधेस प्रदेश संसदीय दलको नेतामा चयन भएका यादव बारा १ (२) बाट प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन् । उनी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएर मधेस प्रदेशका सभामुख भएका थिए ।

तत्कालीन समयमा राजपाबाट निर्वाचित उनी पार्टी एकतापछि जसपामा रहे । तर जसपा विभाजन भएपछि उनी सभामुख भएका कारण कुनै पनि पक्षमा खुलेका थिएनन् । निर्वाचनमा उनले जसपाबाटै टिकट पाए र उम्मेदवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप