बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माघ ३ मा बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिने

बुधबार, २७ पुस २०७९, ११ : १८
बुधबार, २७ पुस २०७९

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

२५ गते नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । उनले मुख्यमन्त्री नियुक्त भएको एक साता भित्रै संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे प्रदेशसभा सचिवालयमा समेत जानकारी गइसकेको छ ।

‘मुख्यमन्त्रीको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे संसदमा पनि जानकारी गराइसकेको छ । उहाँले आगामी माघ ३ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत लिनु हुन्छ,’ उनले भने, ‘सरकारका तर्फबाट हामीले संसदमा जानकारी गराएका छौँ । अब संसद सचिवालयले आवश्यक व्यवस्थापन मिलाएर विश्वासको मत लिने वातावरण तयार गर्छ ।’

११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन गरेका छन् । ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन दिएको छैन ।

यस अवस्थामा मुख्यमन्त्री जम्कट्टेलले सहजै विश्वासको मत पाउने देखिन्छ । प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले ५६ मत मात्र पाएको खण्डमा उनको नेतृत्वको सरकार कायम रहन्छ । मुख्यमन्त्री जम्कट्टेले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । सरकारलाई छिट्टै पूर्णता दिन पनि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेको प्रवक्ता थपलियाले बताए ।

उनले विश्वासको मत लिएपछि पार्टी केन्द्रसँगको परामर्श अनुसार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको बताए । मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा रहेको १४ वटा मन्त्रालयलाई कटौती गरी ११ वटा कायम गर्ने र ती मन्त्रालयहरूलाई दलीय हैसियतका आधारमा गठबन्धनका दलहरूबिच भागबन्डा गर्ने तयारी गरेका छन् ।

सोही अनुसार सत्ता गठबन्धन दलका नेताहरू भागबन्डाको दाबी पेस गरी रहेका छन् । प्रदेशको मन्त्रिपरिषद्का लागि एमाले ५ वटा मन्त्रालयमा दाबी गरेको छ भने माओवादीले मुख्यमन्त्रीसहित ४ वटा, राप्रपाले २, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालयको दाबी गरेको छ । मन्त्रालयको सङ्ख्या र दलहरूको दाबी अनुसार मुख्यमन्त्री जम्मकट्टेललाई भागबन्डा सहज भने देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप