शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिभोर्सपछि कांग्रेसले प्रचण्डलाई माया दर्शाउँदा...

बुधबार, २७ पुस २०७९, १४ : ३६
बुधबार, २७ पुस २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि विभिन्न टिका टिप्पणी भइरहेको छ । कांग्रेसले मंगलबार प्रचण्डलाई प्रतिनिधिसभामा भएको निर्वाचनमा विश्वासको मत दिएको थियो । कांग्रेसको उक्त कदमलाई कतिपयले कानुनी, राजनीतिक र नैतिक आधार गुमाएर गरिएको निर्णय भनेर टिप्पणी गरिरहेका छन् । 

कांग्रेस नेतृत्वको चुनावताकाको गठबन्धन भत्काएर प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले नै विश्वासको मत दिनुलाई अनौठो र अस्वभाविक मानिएको छ  । कांग्रेसका नेताहरुको टिप्पणी पनि सोही खालको देखिन्छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रचण्डलाई विश्वासको मत दिनुलाई भागी विवाहपछिको टिकाटालोको रूपमा अर्थ्याएका छन् ।

‘कुनै जोडिले भागेर विवाह गरेपछि दुई परिवारको बीचमा फरक विचार आउँदो रहेछ । बोलाएर टिकाटालो गर्नुपर्छ या पर्दैन भन्ने विषयमा । तर, बोलाएर टिकोटालो गरेपछि कुनै न कुनै रूपमा सहभागी हुनु पर्ने रहेछ,’ उनी भन्छन् । 
पार्टीले विश्वासको मत दिएर  डिभोर्स भइसकेपछि माया बस्यो भने जस्तो–जस्तै  भएको पनि उनलेटिप्पणी गरे । ‘घरजम छँदा प्रेम टुट्यो । डिभोर्स भइसकेपछि माया बस्यो भन्या जस्तोजस्तै भयो,’ उनले भने ।

कांग्रेस सांसद चन्द्र भण्डारीले प्रेम टुटेपछि पनि प्रेम अझ गहिरो हुन सक्ने बुझाइ राखेर विश्वासको मत दिएको प्रक्रिया दिएका छन् । उनले भने, ‘प्रेम टुटेपछि पनि प्रेम अझ गहिरो हुन सक्दछ जुन आफूमा भर पर्दछ । तर, प्रेमको अर्थ कति बुझेको छ पछि व्यवहारले थाहा हुन्छ ? अरु विकल्प थिएन ।’

केही नेताले ठट्टासहित विश्वासको मतको बचाउ गरेपछि केही नेताको चर्को आक्रोश पनि देखिन्छ । कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कांग्रेसले विश्वासको मत दिँदा लोकतन्त्रको  उपहास भएको तर्क गरेकी छिन् ।

‘संसदीय लोकतान्त्रिक व्यवस्थामा संसद  प्रतिपक्षको हुन्छ  भने  सत्ता  सरकारको हुन्छ ,’ उनले भनिन्, ‘तर यो  मूल्य मान्यता  विपरीत विश्वासको मत  दिनु  लोकतन्त्रको उपहास हो ।’

यस्तै कांग्रेस नेता मिनेन्द्र रिजालले विश्वासको प्रस्तावको पक्षमा मत दिने कांग्रेसको निर्णय अस्वाभाविक भएको बताए । ‘लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ्य प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्दछ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन। त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली काङ्ग्रेसको निर्णय अस्वाभाविक छ।’

कांग्रेस नेता लक्ष्मण घिमिरेले पनि कांग्रेसको निर्णयमाथि कडा टिप्पणी गरेका छन् । ‘जुवाको खालमा बस्न न पाएपछि जुवाडेले च्याँखे थाप्नतिर लाग्दछ । नेपालको राजनीतिका जुवाडेहरूमा पनि यहि कुरा लागु भइरहेको छ । न नीति न सिद्धान्त न मूल्य न मान्यता ,’ उनका आक्रोश छ ।

कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेसले लोकतन्त्रको गम्भीर उपहास हुने गरी प्रचण्डलाई विश्वासको मत दिएको बताए । उनले भने, ‘लोकतन्त्रको गम्भीर उपहास । गठबन्धन बनाउने, तर जोगाउन नसक्ने, प्रमुख विपक्षमा रहन खोज्ने, तर लक्षण नदेखाउने । यस्तो लोकतन्त्रका लागि हामी लडेका थिएनौँ,’

यस्तै कांग्रेस नेता भुपेन्द्रजंग शाहीले पनि सत्ताको अगाडि शिर झुकाउँदै लोकतान्त्रिक मूल्य मान्यताको अवमुल्यन गर्ने काम बताए ।  ‘बारम्बार  नेपाली कांग्रेसको विश्वासमाथि लात हानेका अस्थिर र अनैतिक राजनीतिका चतुर खेलाडी प्रचण्डलाई लत्रिएर विश्वासको मत दिनु भनेको कांग्रेसले सत्ताको अगाडि शिर झुकाउनु र लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन गर्नु हो,’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप