शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

बुधबार, २७ पुस २०७९, २२ : २१
बुधबार, २७ पुस २०७९

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले आज बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद् सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो । 

गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीका लागि पत्रिवस्थल रहेकाले यहाँको विकास गर्ने गरी स्थलगत अवलोकन गरिएको उपाध्यक्ष त्रिपाठीले बताए । उनले बुद्ध भगवान्को जीवनसँग जोडिएको महत्त्वपूर्ण स्थल रामग्राम भएकाले तत्काल र दीर्घकालीनरूपमा रामग्रामको विकास गरिने बताए । 

उपाध्यक्ष त्रिपाठीले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्ड राख्न निर्देशन दिए । उनले लुम्बिनीपछिको महत्त्वपूर्ण बुद्धस्थलका रूपमा रामग्रामको विकास गर्नुपर्ने बताए । 

नवलपरासीको रामग्राम नगरपालिका–७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीले पवित्रस्थलका रूपमा पुज्ने गर्छन् । भगवान् बुद्धको अस्तुधातु राखी निर्माण गरिएको आठ वटा स्तूपमध्ये अहिलेसम्म बाँकी रहेको एकमात्र रामग्राम स्तूप हो । बौद्धग्रन्थमा सम्राट अशोकले अन्यत्रबाट झैँ रामग्राममा पनि अस्तु झिकी चौरासी हजार स्तूप बनाउन चाहेको तर, त्यसो नगरेको उल्लेख छ । 

यसैगरी लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका–१८ स्थित बौद्धक्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्व विभागले बौद्धकालीन अवशेष पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्विकस्थलका रूपमा संरक्षण गर्दै आएको छ । कोलीय गणराज्यको राजधानी तथा बुद्धको मावलीस्थलका रूपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्विक महत्त्व उजागर गर्नका लागि लुम्बिनी विकास कोषले यो क्षेत्रको अवलोकन गरेको कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए । 

उनले पुरातत्व विभागले उत्खनन गर्दा बुद्धकालीन अवशेष प्रशस्त देखिएकाले यसलाई बुद्धस्थलका रूपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने बताए । हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो । 

रामग्राममा तत्काल केही निर्माण गर्नुपर्ने र कार्यालयसमेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । रामग्राम स्तूपको गुरुयोजनासमेत बनेको र तत्काल केही आवश्यक पूर्वाधार निर्माण थाल्नेगरी निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताए । अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद् सदस्य सरोज भट्टराई, अर्का परिषद् सदस्य धनराज कँडेललगायतको सहभागिता थियो । 

टोलीले सुनवल–७ तरगौलीस्थित देवदह मध्यमार्गी बौद्ध गुम्बा एवं विहारको समेत अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे र सुनवल वडा नं ७ का वडाध्यक्ष नारायणप्रसाद आचार्यले लुम्बिनीसँग जोडेर क्षेत्रको विकास गर्न आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप