बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिँदै

बिहीबार, २८ पुस २०७९, ११ : ११
बिहीबार, २८ पुस २०७९

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । गिरीले आज  दाङ देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा दिउसो १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरासहित एमालेका चेतनारायण आचार्यलाई मन्त्री बनाउने तयारी छ । आचार्य अर्घाखाँचीका हुन् भने महरा रोल्पाका हुन् ।

एमालेका एक नेताले आज मुख्यमन्त्री गिरी र २ जना विना विभागीय मन्त्रीले मात्रै शपथ लिने दाबी गरे । आचार्य यसअघि शङ्कर पोखरेल नेतृत्वको सरकारका पालामा पनि आन्तरिक मामिला तथा सञ्चार मन्त्री बनेका थिए । एमालेबाट मन्त्रीका लागि आर्थिक क्षेत्रका जानकार कपिलवस्तुका विष्णु पन्थी, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ लगायत आकाङ्क्षी हुन् ।

आज नियुक्त हुने दुवै मन्त्री विना विभागीय हुने ती नेताले बताए । दलहरुबीच मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले विना विभागीय मन्त्रीका रुपमा शपथ लिने तयारी रहेको उनले बताए । मुख्यमन्त्री गिरी कुनै पनि हालतमा ११ भन्दा बढी मन्त्री बनाउन तयार छैनन् ।

एमालेको प्रस्तावमा एमालेलाई४ माओवादीलाई २ र साना दललाई एक-एक गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी छ । माओवादीले ४ मन्त्रालय दाबी गरेको छ । नागरिक उन्मुक्ति,जनमत र जसपाले पनि हैसियत भन्दा बढी मन्त्री माग गरेर मोर्चाबन्दी गरेका छन् ।

त्यसले पनि मन्त्रालयको भागबन्डा मिलाउन कठिन भएकाले विश्वासको मत लिएपछि मात्रै पूर्ण आकारको मन्त्रिमण्डल बनाउने मुख्यमन्त्रीको तयारी छ ।

केन्द्रमा सरकार बाहिर रहेको लोसपाले पनि लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । मन्त्री पाइने लोभमा लोसपाले सरकार बनाउन हस्ताक्षर गरेको राजनीतिक वृत्तमा चर्चा छ । लोसपा विना पनि सत्ता गठबन्धनलाई पर्याप्त बहुमत हुँदा हुँदै मन्त्री बन्न पाइन्छ कि भन्ने लोभमै गठबन्धनमा मिसिएको टिप्पणी छ ।

उक्त दलका नेता सन्तोष पाण्डेले भने राजनीतिक स्थायित्वका लागि सरकारलाई समर्थन गरेको तर्क गर्छन् । गत चुनावमा उनले एमालेविरुद्ध गरेको अनर्गल प्रचारका कारण उनलाई मन्त्री बनाउन नहुने एमालेका अधिकांश नेताहरूको मत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप