मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : उपसभामुखमा ३ जनाको उम्मेदवारी दर्ता

शुक्रबार, २९ पुस २०७९, १९ : ०२
शुक्रबार, २९ पुस २०७९

मकवानपुर । बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी माघ २ गतेका लागि तय भएको निर्वाचनका लागि ३ वटा दलबाट ३ जनाको उम्मेदवारी दर्ता भएको हो ।

उपसभामुख पदका लागि आगामी माघ २ गते सोमबार ३ बजेका लागि निर्वाचनको मिति तय गरिएको छ । उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

प्रदेशसभा सचिवालय हेटौंडाले उपसभामुख पदका लागि शुक्रवार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उक्त अवधिमा प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकीपाका सांसदले उम्मेदवारी दिएका हुन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईँले उपसभामुख पदका लागी उम्मेदवारी दिएकी छन् भने नेपाली कांग्रेसबाट सुना परियारको उम्मेदवारी दिएकी छन् । नेमकीपाबाट गीता काफ्लेले उम्मेदवारी दर्ता गराएकी छन् ।

केन्द्रीय स्तरमा गत पुस २५ गते भएको सत्तारुढ गठबन्धनको भागबण्डाको क्रममा बागमती प्रदेशको उपसभामुख पद एमालेको भागमा परेको थियो । सोही अनुसार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी चापागाईँले उम्मेदवारी दर्ता गरेकी हुन् ।

पद तथा गोपनियताको शपथ लिएसँगै नवनियुक्त प्रदेशसभाका सभामुख भुवन पाठकले उपसभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई जिम्मेवारी दिएका थिए ।

उपसभामुख पदमा उम्मेदवार बनेकी एमालेकी चापागाईँलाई माओवादी केन्द्रकी कुमारी मोक्तानको प्रस्तावमा राप्रपाकी आशा लामाले समर्थन गरेकी छिन् । सत्ता गठबन्धनमा रहेको एमालेकी चापागाईँलाई माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

त्यस्तै नेमकीपाकी काफ्लेको प्रस्तावकमा दलका नेमकीपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साई रहेका छन् भने समर्थकमा सांसद सुजना सायजु रहेकी छिन् ।

त्यसैगरी कांग्रेसबाट प्रदेशसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी परियारको प्रस्तावकमा सांसद उत्तम जोशी रहेका छन् भने समर्थकमा याङ्किला शेर्पा रहेकी छिन् ।

यस्तो छ समीकरण

बागमती प्रदेशसभाको सभामुखको लागि शुक्रवार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट सरकारलाई समर्थन दिएको नेकपा एकीकृत समाजवादीले तटस्थ भूमिका निर्वाह ग¥यो । सोही अनुसार एकीकृत समाजवादी आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनमा पनि तटस्थ रहने निश्चित रहेको छ ।

उपसभामुख पदमा सत्ता गठबन्धन, कांग्रेस र नेमकीपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्कापक्कि रहेको छ । उक्त निर्वाचनमा सत्ता गठबन्धनका ४ वटा दलहरुको समर्थन एमालेबाट उम्मेदवार बनेकी चापागाईँलाई रहेको छ । चापागाईँलाई राप्रपा, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

जस अनुसार चापागाईँलाई ६२ जना सांसदको समर्थन हुने देखिन्छ । ११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाको १३ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् । कांग्रेसकी उम्मेदवार परियाको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यता नेमकीपाकी सयजुको पक्षमा ३ जना सांसद रहेका छन् । ७ जना सांसद रहेको एकीकृत समाजवादी तटस्थ रहने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप