बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता - धौँली

शनिबार, ३० पुस २०७९, १० : ५४
शनिबार, ३० पुस २०७९

हेमन्त शिशिर
धौली
सर्गको बिजुली जस्तै चम्किलो 
तम्रो अनुहारले बोल्ने एजेन्डा मलाई 
थाहा छैन,
म त तम्रै करेटामा तमीसँग लुकीचोर खेल्दै 
हुर्केको फल्यौटो हुँ ।
आकाशले बादलको घुम्टो उघारे जसरी 
म उघार्थे अथाराको झ्याल 
र हेरिरहन्थे तम्रा गालामाथि फुलेका 
गुराँसका थुङ्गाहरू 
तर तम्रा नजरहरू भनेँ ठोकीजान्थे घर अगाडिको 
प्राचीन भेडबान्नामा 
जहाँ कयौं प्रेमिल जूनहरू टुक्रिएका थिए
जहाँ कयौं कलिला गोधूलीहरू च्यात्तिएका थिए ।।
 
हरेक दिन 
ब्यन्तिले तारासँग तम्रो दिन 
उज्यालो होस् भन्ने वर मागिसकेपछि
म बिस्तारै मुसार्थे 
तम्रा स्मृतिहरूले भरिएका मेरा बछ्छेका बाउलाहरू ।

मलाई तुलसीको थान र तम्री आमा उस्तै - उस्तै 
लाग्थेँ ,किनभने 
मेरो खलो सन्नेल्न आउँदा ठ्याक्कै तुलसीको थान
जति नै टाढा बस्ने तमीकन जन्म दिनेँ तम्री आमा 
मेरा लागि मन्दिर थिइन् 
तमी मेरालागि देउता छिए  
र त तमीसँग सँगको प्रेम आजपनि उस्तै छ 
मलाई थाहा छ देउतालाई भेट्न ,देख्न र स्पर्श गर्न 
मिल्दैन ।

धौँली 
तमील नै भरेकी छियौँ  
सुन्तलाका फेदहरूमा पसिखातको गन्ध 
र त म आज सुन्तलाका बैसालुँ चानाहरू माथि 
औंलाहरू राखेँर तम्रो सउँराई मेट्टोछुँ  ।

धौँली 
दाँतले फुटाएर हाडेँ ओखरजस्तो  घेरा 
तमीसँगै देउडा खेल्ने मन छियो प्रेमको उपत्यकामा 
तर 
चोभार जसरी काट्न प्रेमको उपत्यका 
हातमा तरबार लिएर हाम्रो वरिपरि उभिएका छन् मञ्जुश्री जस्ता मान्ठहरू ।

धौँली 
तमीकन रात र मलाई दिनको संज्ञा दिनेँ
यो वर्णव्यस्थालाई चुनैती दिएर 
कुनैबेला मेलैपनि लेखेकै हुँ रातको 
छातिमा प्रेमपत्र ।
चेतनाको कुच्चोले बढार्न खोजेकै 
हुँ अँध्यारो ।

धौँली 
यो संसार नगाँसिएका हरूको पनि हो 
नजोडिएका हरूको पनि हो ,
मालामा गाँसिदैँमा सत्रपत्रीहरू
कहाँ मेटिन्छ र गुलाफको अस्तित्व ?


कवितामा प्रयोग भएका अछामी भाषाका शब्दहरू यस प्रकार छन्। यी शब्दहरू अछाम हालको क्षेत्र ।नं २ खासमा भन्नुपर्दा भैसुले क्षेत्रमा बोलिने शब्दहरू हुन् ।
सर्गको - आकाशको 
तम्रो - हजुरको र तपाईंको र तिम्रो 
करेटामा - घर पछाडिको ठाउँमा  
फल्यौटो - केटो 
अथाराको - घरको माथिल्लो तलाबाट 
भेडबान्नामा - घर अगाडिको पर्खालमा 
ब्यन्तिले - बिहानैको 
बछ्छेका - लुगा
छिए - थिए 
पसिखातको - मलखातको 
सउँराई - सम्झना
मान्ठहरू - मान्छेहरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप