नवलपुरमा फोहर व्यवस्थापनसँगै जैविक मल उत्पादन गरिँदै
त्रिवेणी । फोहर व्यवस्थापन प्राय सबै क्षेत्रमा टाउको दुखाइ बन्ने गरेको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहर व्यवस्थापनबाट रोजगारी सिर्जना गर्दै जैविक मल उत्पादन गर्ने योजना अघि बढाएको छ ।
मध्यविन्दु नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रवर्तन’ कार्यक्रमको पहिलो चरणको काम सुरु गरेको हो । यस कार्यक्रम अन्तर्गत यस पालिकामा प्रदूषण न्यूनीकरण, फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य फोहरमैला व्यवस्थापन, स्थानीयलाई रोजगारी सिर्जना र किसानलाई जैविक मल उपलब्ध गराउने रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले जानकारी दिए ।
“कार्यक्रमको मुख्य उद्येश्य फोहर व्यवस्थापन,यसबाट रोजगारी सिर्जनासँगै जैविक मल उत्पादन गर्नु हो”, प्रमुख प्रशासकीय अधिकृत पनेरुले भने । उनका अनुसार अहिले नगरपालिकाको वडा नं –१५ मा परीक्षणका रुपमा मल उत्पादन सुरु गरिएको छ । कार्यक्रमलाई मध्यनजर गर्दै स्थानीय फोहरमैला व्यवस्थापन ऐन–२०७९ पारित गरी प्रस्तावित गौशालाको गुरुयोजना तयार पारिएको छ ।
फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको दोस्रो चरणमा निर्माण व्यवसायीसँग सम्झौता र ट्र्याक्टर तथा अन्य उपकरण खरिद गर्ने क्रममा रहेको उनले बताए । पालिकाले कार्यक्रममा विशेषगरी अर्धबेरोजगारी रहेका स्थानीयलाई रोजगारीसँग जोड्ने प्रयास गरेको छ । घरबाट निस्कने कुहिने फोहर, सडक छेउछाउका झाडी, वनका पातपतिङ्गर, बढी भएका घाँस पराल जोखेर किलोका दरले पालिकाले खरिद गर्नेछ । जसबाट स्थानीयले आम्दानी गर्नेछन् भने जैविक मल उत्पादन गरी किसानलाई सहुलियतमा बिक्री गरिनेछ ।
कार्यक्रमले मलको समस्या समाधान गर्ने, कृषि उत्पादन वृद्धि हुने र रासायनिक मलको प्रयोग कम गर्न प्रेरित गर्ने नगर प्रमुख भीमलाल अधिकारीले बताए । गौशाला निर्माण गरी छाडा पशुचौपायाको व्यवस्थापनसमेत गरिने अधिकारीले बताए ।
“कार्यक्रमको मूल उद्देश्य जैविक मल उत्पादन गर्ने छदैछ, साथमा रोजगारी सिर्जनादेखि कृषिमा रासायनिक मलको प्रयोग घटाउँदै, उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास छ”, नगर प्रमुख अधिकारीले भने ।
परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गरी गरिबी निवारणमा महत्वपूर्ण योगदानका साथ वातावरण संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने नगर प्रमुख अधिकारीले विश्वास व्यक्त गरेका छन् । आउँदो जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भएको हुँदा कामलाई तीव्र पारिएको अधिकारीले बताए । ‘नवप्रवर्तन’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लागत साझेदारी रहेको नगर प्रमुख अधिकारीले बताए ।
गण्डकी प्रदेश सरकारले ‘नवप्रवर्तन’ कार्यक्रमका लागि रु दुई करोड १३ लाख ८० हजार रकम प्रदान गरेको छ । पालिकाले रु ६३ लाख ८० हजार विनियोजन गरेको छ । गण्डकी प्रदेशमा पाँच वटा स्थानीय तह यो कार्यक्रमका लागि छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण