शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ सरकारको भागबन्डा टुङ्ग्याउन दलहरूको बैठक बस्दै

शुक्रबार, ०६ माघ २०७९, १० : ५८
शुक्रबार, ०६ माघ २०७९

विराटनगर । प्रदेश १ सरकारलाई पूर्णता दिन तथा दलहरुबीचको भागबन्डा टुङ्ग्याउने विषयमा आज बैठक बस्दैछ । मुख्यमन्त्री कार्यालय विराटनगरमा बस्ने बैठकमा सत्ता पक्षीय दलका नेताको उपस्थिति रहने बताइएको छ । 

पुस २५ मा प्रदेश १ सरकार गठन भए पनि हालसम्म सरकारले पूर्णता पाएको छैन । नियुक्त भएका ६ जना मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन । यस्तै मन्त्रालयको सङ्ख्या १३ वटाबाट ९ वटामा झार्ने कार्की नेतृत्वको मन्त्रीपरिषद्को पहिलो बैठकले निर्णय गरे पनि कुन मन्त्रालय कुन मन्त्रालयमा समायोजन गर्ने भन्ने विषयको टुङ्गो लाग्न अझै सकेको छैन । 

नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले आजको बैठकले निष्कर्ष निकाल्न सक्ने बताए । ‘हिंजो पनि छलफल भएको थियो, आज पनि बैठक बस्दैछ, हामी निष्कर्ष निकाल्ने प्रयासमा छौं,’ भण्डारीले भने, ‘मन्त्रालय सङ्ख्या टुङ्गो लागिसकेको छ, अन्य विषयमा छलफल भइरहेको छ ।’ 

सत्ता पक्षीय एक सांसदले भने तत्कालै जिम्मेवारी प्रदान गरेर द्रुत गतिमा काममा खटाउनु पर्ने मन्त्रीहरूलाई लामो समय भूमिकाविहीन तुल्याउने काम चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘तत्कालै जिम्मेवारी बाँडफाँट गर्ने र मन्त्रीहरूलाई काममा खटाउन मुख्यमन्त्रीले गरिरहेको आलटालले प्रदेशको सुशासनमाथि नै प्रश्न गरिरहेको छ,’ उनी भन्छन्, ‘केन्द्रको सरकारले गति लिइसकेको छ, अब प्रदेश सरकारले पनि गति लिनुपर्छ, यहाँ किन रोकिएको हो मैले बुझ्न सकेको छैन, ट्वाइलेटको छेउका कोठामा मन्त्रीलाई राखेर बेइज्जत गरिएको छ ।’ 

उनले प्रदेश सरकारका मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालयमा लाइन लागेर शुभकामना र खादा–माला लगाएको देख्दा आफूलाई डर लागेको बताए । ‘एकातिर मन्त्रीहरूले जिम्मेवारी नपाउँदा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीको कार्यकक्ष बनाउनलाई नै समस्या भएको छ भने मन्त्रीहरूको आवासको प्रबन्ध नहुँदा महँगो होटेल खर्च सरकारी कोषबाट खर्च भइरहेको छ,’ उनले भने, ‘आशा जगाउने समयमा निराशा बाँड्नेतिर हामी लाग्नु हुँदैन ।’

मुख्यमन्त्रीले पुस २५ गते तीन जना  मन्त्री नियुक्त गरेका थिए । तिलकुमार मेन्याङ्बो,  भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई पहिलो चरणमा मन्त्री बनाएका मुख्यमन्त्रीले दोस्रो चरणमा  दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य, बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाए । यी सबै मन्त्रीहरू अहिलेसम्म बिना विभागीय हैसियतमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप