बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चरैवेति चरैवेति

शनिबार, ०७ माघ २०७९, ०७ : ५९
शनिबार, ०७ माघ २०७९

दिपेश पराजुली
लक्ष्य मेरो कठिन जरुर गन्तव्य धेरै दूर  
निर्जन बाटो अगाडि बिना कुनै नूर
मार्ग छ जटिल तर मनमा असिम उत्साह
सुन्यो जसले अन्तध्र्वनि, अर्थोक के सुन्नु र कहाँ ?
आततायी दुःखको के छ सामथ्र्य, इच्छाशक्तिको अघि  
चट्टानी अठोटले बरु बढाउँछ लक्ष्य प्राप्तिको गति

हिउँदका चिसा तुषाराले बरु रक्त मेरो जमाउला  
मरुभूमिका उष्ण वालुवाले कोमल चर्म सुकाउला  
हजार काँडाले घोच्लान् मेरो नाङ्गो पाउमा
नदुखेको कहाँ छ र, शरीरको कुनै ठाउँमा

पसिनाको धारो निधारमा तर्तर  
आँधी, हुरीको उछालले केश जर्जर
कदम थोरै डग्मगाउलान जरुर, तर यात्रा रोकिने छैन  
आँखा थोरै तिल्मिलाउलान् जरुर, तर लक्ष्य छेकिने छैन

हर बाधा, हर अवरोध म छिचोली
अड्चनका अग्ला चट्टान म फोडी
पुग्नेछु लक्ष्यमा कुनै दिन अवश्य
देख्नेछु आँखामा सारा जगत सदृश्य

सुमार्गमै लागि रहोस् मेरो पुरै मति
शक्ति मलाई पुगिरहोस् चाहिएको जति  
चरैवेति चरैवेति ।
कठिन हुन्छ हर यात्रा, मात्र जब सुरु हुन्छ
कठोर चुनौतीले मन अझै जुझारु बन्छ  

कसले सक्छ उसलाई रोक्न, जसलाई हुन्न नतिजाको पिर
सुख दुःख जो दुवै मान्दैन, हर अनुभवमा मन स्थिर
संसारिक रिसरागले मन मेरो मैलो नहोस्
हर्षले भरिऊन आँखा, अश्रुको दैलो नहोस्
मेरा हर कृत्यहरु ध्यान बनुन्
मेरा हर इन्द्रियले प्रेम जानुन्

कुनै अमुक आकृतिमा हैन, म विराट प्रकृतिमा झुक्न सकुँ
कुनै लुब्ध लुटेराझैँ म जीवनको मनोवृत्ति लुट्न सकुँ
घोप्ट्याई प्रेम सबै, म आफ्नो बटुको रित्याउन सकुँ
खाली हात जानु छ आखिर, सबै यही सिध्याउन सकुँ

हर परिस्थितिमा म प्रसन्न, काबिल बनिराखु
हर मनस्थितिमा म आसन्न, सुप्रबल बनिराखु
अपेक्षा छोडी आशा बोक्न सकुँ म सकेजति  
म अविछिन्न, अविरल हिँडी राखु सकेको जति
चरैवेति चरैवेति ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप