शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : नेपाल आमा

शनिबार, ०७ माघ २०७९, ०८ : ०६
शनिबार, ०७ माघ २०७९

कमला प्रसाईं 
नेपाल आमाको छातीभित्र 
गुम्सिएका अनगिन्ती पीडाहरु देख्दा 
कताकता आफ्नै छाती दुखिरहेछ !
त्यो फोहोरी राजनीति जालोको 
चपेटामा अटाएर
बाँच्नुपर्ने आज नेपाल आमा 
तिम्रो नियति बनेको छ । 

यतिबेला नेपाल आमालाई  
हाँस्न खोज्दा हाँस्नै गाह्रो
बाँच्न खोज्दा झनै साह्रो  
नियतिको खेल पो बनेको छ ।
आमा, तिम्रा ती देश सजाउने 
निर्दोष सुन्दर रहरहरु
छर्न र फलाउन नपाई 
ओइलाउन लागेका छन् !
अनि, 
आफ्ना सन्तानका लागि चुपचाप 
सहेर बस्दा बस्दै
आफ्नै सन्तानको लागि पीडा खप्दा खप्दै
कहिल्यै निको नहुने रोग लागेर 
नेपाल आमा झन–झन 
तिमी कमजोर बनिरहेकी छौ ! 

पीडा र ग्लानिको झापड खप्दै
सन्तानका खुशी र रहरको लागि 
आफू लुटिएर खोक्रो भैसक्दा पनि
निर्दोष कैदीझै विवशताको पर्खालले घेरिएर 
नेपाल आमा तिमी बन्दी भएकी छौ !

तीन दशकअघि तिमीले भनेको कुरा  
बिर्सेको छैन आमा !
चैत्र, वैशाखमा ढकमक्क फुल्ने लालीगुराँसझै
छोराछोरीका रहरहरु काखमा फुल्न पाउनुपर्छ भनेर
अनि खुल्ला आकाशमुनि उड्ने ढुकुर र जुरेली उडेझै
छोराछोरीका खुशीहरु फुल्न पाउनुपर्छ भनेर ।

तर आमा आज तिम्रा खुशी र रहरहरुमाथि
कतैबाट आक्रमण भएको छ !
तिम्रा ती देश सजाउने सपनाहरुमा
आँसु नै आँसुको बज्रपात भएको छ !
हिजो मुस्कानै मुस्कानले भरिने  
हृदय अनि शान्तिपन
आज कता–कता हराएर गएका छन् ! 

अहँ अब सहनु हुन्न नेपाल आमा
तिम्रा खुसीहरु माथिको बज्रपात
तिम्रा देश सजाउने 
पवित्र भावनाहरु माथिको क्रुर हस्तक्षेप !
हरपल आफ्नो अस्तित्व भुलेर 
तिमीले केवल 
आफ्ना सन्तानका लागि बाँच्नुपर्ने
कस्तो विवशता हो यो ?
हरपल आफूलाई रुवाएर 
तिमी कति दिन परायाहरुले 
आफ्नो जमिनमा कुल्चेको हेर्न सक्छेऊ ?
यसरी कतिदिन अरुको 
हस्तक्षेप सहेर बाँच्न सक्छेऊ ?
त्यसैले, 
नेपाल आमा अब 
तिम्रा स्वाभिमानी 
छोराछोरीहरुलाई लिएर उठ,
देश बचाउने बेला आएको छ ।
नालापानी, किल्ला काँगडामा 
बहादुरी देखाएजस्तै
अब आफ्नो अस्तित्व 
बचाउने बेला आएको छ ।
अनि तिम्रा लागि फेरि यो 
जुझारुपूर्ण स्वतन्त्र संग्राममा 
भिमसेन, बलभद्र 
र, भक्ति थापाहरु जन्मिनेछन्
त्यसैले, 
नेपाल आमा अब
तिमी जाग्ने बेला आएको छ
तिम्रो पराक्रम देखाउने बेला आएको छ । 
                      हाल– अमेरिका 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप