शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

शनिबार, ०७ माघ २०७९, १० : ४९
शनिबार, ०७ माघ २०७९

कैलाली  । कैलालीको  टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर  महोत्सव सञ्चालन भइरहेको छ । आन्तरिक आयस्रोत वृद्धिका लागि भन्दै टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा कला संस्कृतिसँगै विभिन्न स्थानीय उत्पादनको प्रदर्शनसमेत छ । स्थानीय कृषि उत्पादनदेखि बेत बासबाट बनेका विभिन्न सामग्रीका साथै कृषि औजारकोसमेत प्रदर्शन राम्रो छ ।
  
नगरपालिकाकै वडा नं ७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बासका लागि चर्चित छ । त्यहीँबाट सङ्कलन भएको बेत बासबाट विभिन्न सामग्री बनाएर महोत्सवमा बिक्रीका लागि राखिएको छ । बेत बासको सामानले राम्रो मूल्य पाएको व्यापार गर्दै आएका सुरेश विश्वकर्मा बताउँछन् । पूजा सामान राख्ने टोकरीदेखि बस्नको लागि आवश्यक सामानको प्रदर्शन उनले गर्दै आएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विज्ञान सङ्काय टीकापुर बहुमुखी क्याम्पसमा अध्यनरत रविना सुवेदी महोत्सवको प्रदर्शनीमा राखिएका उपकरणको जानकारी दिन व्यस्त थिइन् । महोत्सव अवलोकन गर्न आएका बृहत् कृषि प्रदर्शनीमा पुगेपछि कृषिमा आधुनिकीकरण र व्यावसायीकरण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी दिने गरेको उनले बताइन् । “हामीले सिकेको कुरालाई अवलोकनका लागि आएकालाई भन्ने गरेका छौँ । उत्पादन बढाउन अपनाउनुपर्ने सावधानीको बारेमा बुझाउँछौँ”, रविना भन्छिन्, “कृषिलाई व्यावसायीकरण र आधुनिकीकरणका लागि आवश्यक उपकरण त्यहीँ प्रदर्शनीमा राखिएको हुँदा त्यसलाई देखाएर बुझाउन सजिलो भएको छ ।”
  
सोही क्याम्पसमा तेस्रो वर्षमा अध्ययनरत रविना हुमागाईले दैनिक दुई सयभन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने गरेको बताउँछिन् । उनले आएका नागरिकलाई कृषि उपकरण, बालीमा लाग्ने रोगको बारेमा र कम्पोस्ट मलले माटो तथा उत्पादन वृद्धिमा पुर्याउने टेवाको बारेमा जानकारी दिने गरेको बताइन् ।

“हाम्रा लागि पनि महोत्सवको कृषि प्रदर्शनी सिकाइजस्तै बनेको छ । सिकेको सिकाउने काम गर्दै आएका छौँ भने नबुझेको कुरालाई साथीहरूको सहजीकरणबाट सिकाई पनि हुँदै आएको छ”, हुमागाईले भनिन्, “त्यसमा पनि तीन क्याम्पसले कृषि प्रदर्शनीमा सामग्रीको प्रदर्शन गर्दै आएका छन् । त्यसले सिकाइमा थप टेवा पुगेको छ ।”
  
त्यसैगरी प्रदर्शनीमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर, पोलिटिक इन्स्टिच्युट टीकापुरले पनि कृषि उपकरणसहितका सामग्री प्रदर्शनमा राखेका छन् ।   प्रदर्शनीमा अन्य कृषि उत्पादनका वस्तुसमेत प्रदर्शनका लागि राखिएका छन् । कृषि प्रदर्शनीमा उत्कृष्ट किसानलाई महोत्सवको समापनको दिन सम्मान गर्ने कार्यक्रमसमेत रहेको कृषि प्रदर्शनी उपसमितिका संयोजक टीका शाही बताउँछन् । “महोत्सवले कला मनोरञ्जनलाई मात्रै नभई स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको छ”, संयोजक शाहीले भने, “त्यसमा राम्रो उत्पादकलाई सम्मानको कार्यक्रम राखेका छौँ । जसले किसानलाई कृषि क्षेत्रमा थप उत्प्रेरित गर्न विश्वास छ ।”

महोत्सव दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्दै आएका छन् । माघ ४ गतेबाट सञ्चालनमा आएको महोत्सवमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मूल समारोह समिीतका अध्यक्ष चक्रपाीण सापकोटा बताउनुहुँन्छ । महोत्सव १५ गतेसम्म चल्नेछ । “महोत्सव अवधिभर एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा हामीले लिएका छौँ ”, अध्यक्ष सापकोटाले भने, “दुई वर्ष कोरोनाको कारण स्थगित भएको महोत्सवको अवलोकनका लागि स्थानीयको उत्साह राम्रो छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप