मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

मकवानपुर गोल्डकप माघ २९ गतेदेखि,विजेताले १५ लाख पाउने

सोमबार, ०९ माघ २०७९, १८ : ४१
सोमबार, ०९ माघ २०७९

मकवानपुर । आगामी माघ २९ गतेबाट स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ सुरु हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करणको सो प्रतियोगिता माघ २९ गतेबाट फागुन ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले बताए । देशका चर्चित क्लबहरूसहित १२ वटा फुटबल टिमले सो प्रतियोगितामा सहभागिता जनाउने उनले बताए ।

प्रतियोगितामा आयोजक मकवानपुर–११ सहित ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यूरोड टिम एनआरटी, हिमालयन शेर्पा क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र एभिनियर एफसी क्यामरुनको सहभागिता रहने अध्यक्ष लामाले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएकाले कम्तीमा २ वटा विदेशी क्लबहरूको सहभागिता गराउने गरी तयारी भइरहेको छ ।

‘प्रतियोगितामा सहभागिताको लागि नेपाली टिमहरू फिक्स भइसेका छन् । अन्तर्राष्ट्रिय गोल्डकप भएकाले हामी कम्तीमा २ वटा विदेशी क्लबको सहभागिताको तयारीमा छौं,’ उनले भने, ‘हामीले विदेशी टोली अर्को पनि समावेश गर्ने कोसिस गरिरहेका छौं । यस विषयमा क्लबहरुसँग कुराकानी भइरहेको छ ।’ प्रतियोगिताको तयारी फागुनको पहिलो साताबाट गर्नुपर्ने भएपनि प्राविधिक कारणले माघबाट नै गर्नुपरेको संघ अध्यक्ष लामाले बताए ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई करिब ७ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिनेछ । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि वाग्मती प्रदेशको खेलकुद विकास परिषद् तथा मकवानपुरका १० वटै स्थानीय तहबाट आर्थिक सहयोगमा हुँदै आएको छ । प्रतियोगिताकाका लागि हेटौंडा उपमहानगले मात्र २५ लाख रुपैयाँ उपलब्ध गराउँदै आइरहेको छ । प्रतियोगिताको लागि जिल्ला समन्वय समिति मकवानपुर, थाहा नगरपालिका, बागमती, बकैया, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाले ५÷५ लाख रुपैयाँ, इन्द्रसरोबर, मनहरी, राक्सिराङ गाउँपालिकाले ३/३ लाख रुपैयाँ, राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख रुपैयाँ, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले २० लाख रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताका लागि टिकट बिक्रीबाट २० लाख रुपैयाँ संकलन गर्ने तयारी गरिएको छ । खेल हेर्नका लागि आयोजकले तिन चरणमा फरक फरक टिकट दर निर्धारण गरेको छ । पहिलो चरणको रूपमा क्वाटर फाइनलका खेलहरू हेर्नका लागि १०० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने दोस्रो चरणमा सेमिफाइनलका खेल हेर्नका लागि २०० रुपैयाँ र तेस्रो चरणमा फाइनल खेलका लागि ३०० रुपैयाँको टिकट दर कायम गरिएको छ । आयोजकले तिन वटै चरणमा गरी ९ हजार ५०० थान टिकट वितरण गरी २० लाख रुपैयाँ संकलन गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप