शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु

शुक्रबार, २६ असार २०८३, १८ : ३०
शुक्रबार, २६ असार २०८३

सारांश

  • लुइस दे ला फुएन्तेको नेतृत्वमा स्पेन विश्वकप उपाधि जित्ने इतिहास रच्ने नजिक छ, जसले उसलाई विश्वकप र युरोपियन च्याम्पियनसिप दुवै दुई पटक जित्ने टोली बनाउनेछ।
  • दे ला फुएन्तेले खेलाडीहरूबीचको सम्बन्ध र मानवीय पक्षलाई आधार बनाएर टोली निर्माण गरेका छन्, जसले लगातार ३५ खेलसम्म अपराजित रहँदै टोलीलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याएको छ।
  • दे ला फुएन्तेको सफलताको रहस्य 'असल मानिसहरूले बनाएको सामूहिक खेल' भन्ने दर्शन, खेलाडीहरूको छनोटमा फुटबल दर्शनलाई प्राथमिकता दिनु, र युवा खेलाडी लामिन यामालको प्रतिभालाई सही व्यवस्थापन गर्नु हो।

लुइस दे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेन महानताको निकै नजिक पुगेको छ। यदि स्पेनले यस विश्वकपको उपाधि जित्यो भने उसले एकै समयमा विश्वकप र युरोपियन च्याम्पियनसिप दुवै उपाधि दुई–दुई पटक आफ्नो नाममा राख्ने इतिहास रच्नेछ। यसअघि यस्तो उपलब्धि हासिल गर्ने टोलीहरूमा सन् १९७४ को पश्चिम जर्मनी, सन् २००० को फ्रान्स र सन् २०१० को स्पेन मात्र छन्।

दे ला फुएन्ते अहिले स्पेनको मुख्य प्रशिक्षक बनेको चौथो वर्षमा छन्। उनले दुई वर्षअघि टोलीलाई युरोपियन च्याम्पियनसिप जिताएका थिए भने अहिले स्पेनलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्‍याएका छन्, जहाँ शुक्रबार बेल्जियमसँग प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ।

सन् २०२३ को जनवरीमा स्पेनको जिम्मेवारी सम्हालेयता उनले केवल तीन खेल मात्र हारेका छन्। अहिले उनको टोली लगातार ३५ खेलसम्म अपराजित छ।

कतिपय प्रशिक्षकहरूले रणनीतिबाट टोली निर्माण गर्छन् भने कतिपयले खेलाडीहरूबीचको सम्बन्ध र मानवीय पक्षलाई आधार बनाएर टोली बनाउँछन्। दे ला फुएन्तेले भने यी दुवै काम सफलतापूर्वक गरेका छन्।

तर, उनलाई विशेष बनाउने कुरा केवल फुटबल दर्शन मात्र होइन, मानिसलाई बुझ्ने उनको शैली पनि हो। उनको खेलशैली बल आफ्नो नियन्त्रणमा राख्ने (पोजेसन फुटबल) भए पनि आवश्यक पर्दा अन्य विकल्पहरू अपनाउन सक्ने खालको छ। त्यससँगै उनले स्पेनी टोलीभित्र एउटा विशिष्ट संस्कृति पनि निर्माण गरेका छन्।

स्पेनसँगको उनको सफलता स्पेनिस फुटबल महासङ्घमा दशकौँदेखि भएको योजनाबद्ध कामको परिणाम हो। उनी स्वयं पनि सन् २०१३ देखि यही संरचनाभित्र प्रशिक्षकका रूपमा कार्यरत रहँदै खेलाडीहरूको विकास र मूल्य–मान्यता निर्माणमा सक्रिय छन्।

राष्ट्रिय टोलीमा स्पष्ट सामूहिक पहिचान निर्माण गर्न उनले खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण छ र राष्ट्रिय टोलीमा यस्तो उपलब्धि हासिल गर्नु सामान्य कुरा होइन।

  • ‘फुटबल असल मानिसहरूले बनाएको सामूहिक खेल हो’

दे ला फुएन्तेको सोचको केन्द्रमा एउटा सरल विश्वास छ– फुटबल असल मानिसहरूले खेल्ने सामूहिक खेल हो। यहाँ ‘असल’ भन्नाले केवल नैतिक वा धार्मिक दृष्टिकोणबाट राम्रो व्यक्ति मात्र होइन। यद्यपि उनी इसाई मूल्य र सामान्य नैतिकताबाट प्रेरित छन्। फुटबलको भाषामा असल खेलाडी भनेको उदार, सहयोगी, निःस्वार्थ, अनुशासित र टोलीका लागि त्याग गर्न तयार व्यक्ति हो।

बेल्जियमविरुद्धको खेलअघि बीबीसीसँगको विशेष अन्तर्वार्तामा उनले भने, ‘ड्रेसिङ रुमको अनुभव भएकाहरूलाई असल मानिस हुनुको अर्थ राम्ररी थाहा हुन्छ।’

De la funtee 222

उनले थपे, ‘प्रायः हरेक टोलीमा त्यस्तो एउटा खेलाडी हुन्छ, जसले टोलीको एकता बिगार्छ र सधैँ आफ्नै स्वार्थलाई प्राथमिकता दिन्छ।’ ६५ वर्षीय दे ला फुएन्तेले लामो फुटबल जीवनमा यस्ता धेरै ड्रेसिङ रुम देखेका छन्। त्यसैले उनी राम्रोसँग जान्दछन् कि उदारताबिना प्रतिभा धेरै परसम्म जाँदैन।

उनको स्पेनी टोली त्यस्ता खेलाडीहरूले बनेको छ, जसले पहिले टोलीलाई दिन्छन्, त्यसपछि मात्र आफ्नाबारे सोच्छन्। स्पेनको फुटबल शैली सधैँ सामूहिक रूपमा खेल बुझ्ने खेलाडीहरूमा आधारित रहँदै आएको छ। छोटो पास, बल नियन्त्रण र उचित स्थान चयनजस्ता गुण केवल प्राविधिक सीप होइनन्, ती सामाजिक गुण पनि हुन्।

  • विश्लेषण गर्न सबैभन्दा सजिलो, हराउन सबैभन्दा कठिन टोली

यस विश्वकपमा बाँकी रहेका सबै टोलीमा एउटा समानता छ। त्यो भनेको सबैसँग स्पष्ट खेल दर्शन छ। राष्ट्रिय टोलीसँग क्लबजस्तो जटिल रणनीति विकास गर्ने समय हुँदैन। त्यसैले सन्देश सरल, स्पष्ट र बारम्बार अपनाउन सकिने खालको हुनुपर्छ।

यही ठाउँमा स्पेनसँग विशेष लाभ छ। उसको फुटबल पहिचान दशकौँदेखि निर्माण हुँदै आएको हो। स्पेनमा खेलाडी र प्रशिक्षकहरू फुटबल दर्शनअनुसार छनोट गरिन्छन्। फुटबल दर्शनलाई खेलाडीअनुसार परिवर्तन गरिँदैन।

त्यसैले उनीहरूले आफ्नो शैलीलाई समयसँगै परिष्कृत गर्न सकेका छन्, किनभने त्यसको आधारभूत संरचना पहिले नै तयार थियो।

कतिपयले नयाँ प्रशिक्षकसँग नयाँ परियोजना सुरु गरेका अन्य राष्ट्रिय टोलीहरूको तुलनामा स्पेन यही कारणले अघि रहेको तर्क गर्छन्।

दे ला फुएन्तेले यो पहिचान नयाँ बनाएर होइन, अझ सुदृढ बनाएर अघि बढाएका छन्। पेप ग्वार्डिओलाले एकपटक योहान क्रुफबारे भनेका थिए, ‘क्रुफले क्याथेड्रल (विशाल गिर्जाघर) बनाए, मैले समय–समयमा त्यसलाई रङरोगन मात्र गरेँ।’

त्यसैगरी दे ला फुएन्तेले पनि नयाँ आधार निर्माण गरेका होइनन्। उनले त्यसमा थप गहिराइ, बहुआयामिकता, प्रतिआक्रमणमा सहजता, अन्तिम तेस्रो क्षेत्रमा (फाइनल थर्डमा) अप्रत्याशितपन र रक्षात्मक मजबुती थपेका छन्।

राउन्ड अफ १६ मा पराजित भएपछि पोर्चुगलका एक प्रशिक्षकले भनेका छन्, ‘स्पेन विश्लेषण गर्न सबैभन्दा सजिलो टोली हो, तर हराउन सबैभन्दा कठिन टोली पनि यही हो।’

  • अनुभवले सिकाएको पाठ

दे ला फुएन्तेले यी अधिकांश खेलाडीलाई दशकौँदेखि युवा टोलीहरूमा प्रशिक्षण दिइसकेका छन्। उनको प्रशिक्षक समूहले प्रत्येक खेलको विस्तृत विश्लेषण गर्छ र आवश्यक सुधारहरू पहिचान गर्छ।

केप भर्डेविरुद्ध स्पेनको पास खेलमा धार देखिएन। साउदी अरेबियाविरुद्ध भने टोली पुनः आफ्नो लयमा फर्कियो। उरुग्वेविरुद्ध उनले एउटा महत्त्वपूर्ण कुरा सम्झिए– इतिहासमा स्पेन उक्साहट, तनाव र अव्यवस्थित खेलमा फसेपछि धेरै पटक हारेको थियो।

त्यसैले उनले खेलाडीहरूलाई शान्त, अनुशासित र भावनात्मक रूपमा नियन्त्रणमा रहन निर्देशन दिए। उनी स्वीकार्छन् कि केही वर्षअघि आफू यस्ता अवस्थामा बढी भावुक प्रतिक्रिया दिने गर्थे।

उनले भने, ‘अनुभवले मलाई यस्ता परिस्थितिको सामना गर्न सिकाएको छ। म यस्ता खेलहरू धेरै पटक खेलिसकेको छु र धेरैजसो हारेको पनि छु। किन ? किनभने हामीलाई केही प्रकारका खेल कसरी खेल्ने भन्ने थाहा थिएन।’

Lamine-Yamal-De-la-fuente

उनले थप भने, ‘जब कसैले तपाईंलाई उक्साउँछ, तपाईंको लय बिगार्छ र ध्यान भङ्ग गराउँछ, त्यसपछि तपाईं आफ्नो खेलबाट टाढा जानुहुन्छ।’

यही अनुभवले उनलाई एउटा निष्कर्षमा पुर्‍याएको छ– स्पेन आफ्नो पहिचान छाड्नेबित्तिकै हार्न थाल्छ। उनका पत्रकार सम्मेलनहरूले पनि यही मूल्य–मान्यता झल्काउँछन्।

स्पेनी फुटबल महासङ्घका फुटबल निर्देशक आइटोर करांका, सञ्चार टोली र महासङ्घका मनोवैज्ञानिक तथा पूर्वगोलरक्षक हाभियर लोपेज भायेहोसँग मिलेर उनी पत्रकार सम्मेलनको तयारी गर्छन्। तर परिस्थितिअनुसार उनी सहज रूपमा आफ्नै शैलीमा बोल्छन्। उनी पत्रकारहरूलाई नामै लिएर सम्बोधन गर्छन्।

उनका अनुसार, ‘मेरो घरमा मलाई सिकाइएको थियो कि सम्मान भनेको तपाईंको अगाडि रहेको व्यक्तिलाई पहिचान गर्नबाट सुरु हुन्छ।’

उनी मानिसहरूको आँखामा आँखा जुधाएर कुरा गर्छन् र सबैलाई समान व्यवहार गर्छन्। उनका अनुसार यो कुनै सञ्चार रणनीति होइन, उनको स्वभाव हो।

  • ‘यो लामिन यामालको समय हो’

लामिन यामाल, जसको तस्बिर अहिले हरेक पोस्टरमा छ, जसको प्रतिभाले विश्वलाई मोहित बनाएको छ। यस्तो असाधारण प्रतिभालाई सही रूपमा व्यवस्थापन गर्नु दे ला फुएन्तेको सबैभन्दा संवेदनशील जिम्मेवारीमध्ये एक हो।

उनी भन्छन्, ‘मुख्य कुरा शान्त रहनु र उनलाई आत्मविश्वास दिनु हो। हामीलाई थाहा थियो, लामिन कहाँबाट आएका हुन्। स्पेनसँग आबद्ध हुनुअघि उनी दुई महिना घाइते थिए। उनी अझै पूर्ण रूपमा फिट छैनन्, तर हाम्रो सम्पूर्ण योजना यही चरणका लागि बनाइएको थियो।’

उनले थपे, ‘हामी उनलाई यही अवस्थामा देख्न चाहन्थ्यौँ। उनी स्वयं पनि यही चाहन्थे। अहिले उनको सम्पूर्ण ध्यान यो विश्वकपलाई आफ्नै विश्वकप बनाउनेतर्फ केन्द्रित छ।’

तर दे ला फुएन्तेलाई थाहा छ, महानता एउटै खेलबाट बन्दैन। त्यो परिपक्वताबाट निर्माण हुन्छ।

De Yamall 333

यसैले पोर्चुगलविरुद्धको खेललाई उनी लामिनको करियरकै सबैभन्दा महत्त्वपूर्ण खेल मान्छन्। बलसहितको जादुमय प्रदर्शनका कारण होइन, बलबिनाको अथक मेहनतका कारण।

उनी भन्छन्, ‘यो लामिनको समय हो। अहिले १० गोल गर्ने समय होइन। अहिले निर्णायक खेलमा निर्णायक बन्ने समय हो।’

‘मेरो बुझाइमा सफलता राम्रो टोलीबाट आउँछ। त्यसमा केही असाधारण व्यक्तिगत प्रतिभा थपिए भने लगभग पूर्णताको अवस्था सिर्जना हुन्छ। तर सफलता हासिल गर्ने एउटै बाटो यही हो।’

  • निरन्तरतामा विश्वास

दे ला फुएन्ते मिकेल ओयारजाबालका ठुला प्रशंसक हुन्। उनका अनुसार, ‘ओयारजाबाल विश्वका पाँच उत्कृष्ट सेन्टर–फरवार्डमध्ये एक हुन्। फरक परिस्थितिमा उनी विश्वभरका शीर्ष खेलाडीका रूपमा धेरै पहिल्यै चिनिनुपर्ने थियो। अहिले बल्ल मानिसहरूले उनलाई त्यही रूपमा चिन्न थालेका छन्।’

दे ला फुएन्तेको सम्पूर्ण जीवन निरन्तरताको उदाहरण हो। उनी आज पनि आफूलाई फिट राख्न दैनिक व्यायाम गर्छन्।

उनी भन्छन्, ‘यो मेरो जीवनशैली हो। सबैभन्दा महत्त्वपूर्ण कुरा निरन्तरता हो। मलाई सधैँ अनुशासित र निरन्तर हुन सिकाइएको छ।’

‘मेरा साथीहरू त मलाई ‘नथाक्ने मान्छे’ भन्थे। किनभने एकपटक मैले कुनै लक्ष्य तय गरिहालेँ भने त्यसलाई पूरा नगरेसम्म म रोकिन्नँ।’

र, अहिले उनको मनमा एउटा मात्र लक्ष्य छ। त्यो हो, स्पेनलाई विश्वकपको शिखरसम्म पुर्‍याउने।

(बीबीसीबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिलेम बालागे
गिलेम बालागे
लेखकबाट थप