सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता कोइरालाले भने– प्रतिपक्षले जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता राख्छ

बुधबार, ११ माघ २०७९, १७ : ५९
बुधबार, ११ माघ २०७९

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा‍ शेखर कोइरालाले पत्रकार तथा मिडियाले नभएको कुरा लेखेर बिगार्न खोजेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  संस्थापन इतर पक्षको बैठकमा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने विषयमा छलफल भएको हो भन्ने प्रश्नसँगै उनी पत्रकारसँग रिसाएका थिए ।

‘जसरी अखबारहरुमा आयो त्यसरी कुरा उठेको होइन । मैले बोलेकै थिएन त्यो दिन अर्को दिन बोल्ने भनेर बैठक स्थगित भएको । अरु साथीहरुले पनि बोल्नु भएन गगनजीले पनि बोल्नु भएको थिएन,’ कोइरालाले भने, ‘तपाईहरु मिर्च मसला बनाउन नखोज्नुहोस् । एउटा कुरा के बुझ्नुहोस् भने तपाईहरु मिर्च मसला बनाएर बिगार्दै हुनुहुन्छ । मैले बुझेको त्यही हो । बैठकमा साथीहरुले आफ्ना कुरा र विचार राख्नु भयो । त्यहाँ शेखरले भन्यो भनेको छ । गगनले भने भनेर मिडियामा लेखेको छ । त्यो गलत हो नि ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको विषय अब ‘क्लोज’ भइसकेको बताए । ‘विश्वासको मत दिने कुरा च्याप्टर इज क्लोज । तपाईंको लागि क्लोज भएको छैन होला हाम्रो लागि क्लोज भयो । गरिसक्यौं, सकियो अब,’ कोइरालाले भने ।  कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताए । ‘राष्ट्रपतिको चुनाव हामीहरु सहमतिबाट जाने सम्भावना त बहुतै कम देख्छु । नेपाली काँग्रेसले उम्मेद्वार ठ्याक्कै यहि त भनेको छैन । तर, बाहिर चर्चामा दुई जना साथीहरुको आएको छ । अब हेरौं । तर, अब यसमा अरु दलहरुसँग पनि हामी छलफल गर्दैछौं,’ कोइरालाले भने । 

बाहिर चर्चामा आएजस्तो डा.बाबुराम भट्टराईलाई राष्ट्रपतिमा कांग्रेसले सहयोग नगर्ने पनि बताए । ‘बाबुराम भट्टराईजीलाई किन मानिसहरुले सोचिरहनुभएको छ । नहुने त होइन । तर, नेपाली कांग्रेसले आफ्नो उम्मेद्वार दिन्छ नि बाबुरामलाई किन सपोर्ट गर्ने हामीले । त्यो मैले बुझेको छैन,’ कोइरालाले भने । वाम गठबन्धन तोड्नलाई बाबुरामलाई समर्थन गर्ने भनेको होला नि काँग्रेसले भन्ने प्रश्नमा उनले भने, ‘उहाँ (बाबुराम) पनि बामै त हो नि उहाँ त लेफ्ट नै हो । लेफ्टको प्रधानमन्त्री, लेफ्टको उच्चस्तरीय संयन्त्रको अध्यक्ष अनि लेफ्टै राष्ट्रपति दिने हो र हामीले स्वीकार गर्ने हो भने देशलाई कस्तो बनाउन खोजेको ? मेरो कुरा भनेको नेपाली काँग्रेसले उम्मेद्वार दिन्छ । त्यसलाई सर्वस्वीकार्य बनाउने प्रयास गर्छौं । नत्र चुनाव लड्छौं ।’ यद्यपि पार्टी बाहिरको स्वतन्त्र व्यक्तिलाई पनि राष्ट्रपति बनाउने विषय चर्चामा रहेको भएपनि त्यो को भन्ने कुरा त अहिले नआएको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न कांग्रेस लागेको बताएकै बेला कोइरालाले भने जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामथ्र्य प्रतिपक्षले राख्नुपर्ने बताए । ‘हामी प्रतिपक्षमा छौं । प्रतिपक्षकै भूमिका हामी खेल्छौं र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो । केपी ओलीले बोलेको कुरा मलाई किन सोध्नु हुन्छ ? हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनुपर्छ त्यही हो नि ! विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको,’ कोइरालाले भने । 

व्यवसायी प्रेमप्रसाद आचार्यले असन्तुष्टि व्यक्त गर्दै गरेको आत्मदाहको विषयमा भने सबै गम्भीर हुनुपर्ने कोइरालाले बताए । ‘यो व्यक्तिगत घटनाजस्तो लिएर अगाडि बढ्यौं भने यो खतरनाक संकेत मैले देखिरहेको छु,’ कोइरालाले भने, ‘राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्था कुनै पनि विषयमा हामी ठिक ठाउँबाट हिँडिरहेका छैनौं । त्यसकारण यो जुन घटना भयो अत्यन्त दुःखदायी घटना हो । देख्दा व्यक्तिगत जस्तो लाग्ला । तर, यसले देश कता जाँदैछ भन्ने कुरा देखाउँछ । यो अत्यन्त गम्भीर भएर राज्यले सोच्नुपर्ने हुन्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप