बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

दृष्टि गुमाएकाहरूले तिलगंगा अस्पतालमा यसरी राख्न सक्छन् कृत्रिम आँखा (भिडियोसहित)

शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । गोरखाका एक जना आँखाका बिरामी जसलाई २०५८ सालतिर जलबिन्दु भएको थियो । विस्तारै उनको एउटा आँखाले दृष्टि गुमायो । २ साताअघि दृष्टि गुमेको देब्रे आँखा निकाल्नुपरेपछि उनले ठाउँमा कृत्रिम आँखा राख्ने विचार गरे । हालै तिलगंगा आँखा अस्पतालमा उनले बिग्रिएको एउटा आँखाको ठाउँमा अर्को कृत्रिम आँखा हाल्ने तयारी गरेका छन् । उनको लागि अस्पतालले उनको आँखाको नाप लिएर कृत्रिम आँखा बनाइरहेको छ । कृत्रिम आँखाले दृष्टि नदिने भए पनि यसले अनुहारमा पहिलेको आँखा भएजस्तै शोभा भने दिने गर्छ । 

उनले भने, ‘मेरो आँखामा जलबिन्दु भएर आँखा खराब भएको अन्तिम समयमा मात्र थाहा भयो । अस्पतालमा आउँदा देब्रे आँखाले दृष्टि गुमाएको थाहा भयो । डाक्टरको सल्लाहमा आँखा निकालेको ६ हप्ता भयो । अहिले म नक्कली आँखा राख्ने प्रक्रियामा छु ।’

आँखा निकालेपछि चिन्ता एकातिर भए पनि त्यो स्थानमा आँखा जस्तै देखिने अर्को कृत्रिम आँखा राख्न पाएकोमा उनले खुसी व्यक्त गरे ।  उनले भने, ‘मलाई खुसी लागेको छ किनभने प्रकृतिलाई पनि मान्छेले जित्न सक्दो रहेछ भन्ने लागेको छ । मेरो एउटा आँखामा दृष्टि नभए पनि अर्कोले काम गरेको छ । समग्रमा दुवै आँखा छ भन्ने अनुभूति भइरहेको छ ।’  

आँखा गुमाएकाहरूका लागि पहिलेको आँखा जस्तै कृत्रिम आँखा राख्ने पद्धति नेपाल आँखा प्रतिष्ठान तिलगंगामा झन्डै ११ वर्षदेखि सुरु भएको हो । सो अस्पतालमा रहेको अकुलर युनिटकी अकुलरिष्ट विजया गौतमले यो सेवा सुरु भएको समयदेखि हालसम्म २ हजार जनाले कृत्रिम आँखा राखेको जानकारी दिइन् । 

fake-eye

अस्पतालको यो शाखाले दृष्टि गुमेसँगै जसको आँखा निकालिएको हुन्छ, ती व्यक्तिहरूलाई कृत्रिम वा नक्कली आँखा राख्ने काम गर्दै आएको छ । कतिपय सन्दर्भमा आँखा सुकेको अवस्थामा पनि कृत्रिम आँखा राख्ने काम हुने गरेको छ । 

तिलगंगा आँखा प्रतिष्ठानकी अकुलरिष्ट गौतमले भनिन्, ‘आँखा निकालिएको व्यक्तिको सौन्दर्य कायम राख्न कृत्रिम आँखा राख्ने गरिएको छ । कतिपय अवस्थामा आँखा सुक्दै गएर दृष्टि गुमेसँगै वा आँखाको नानीमा छुँदा दुखाई महसुस हुँदैन भने त्यस्तो अवस्थामा कृत्रिम आँखा दिन सकिन्छ । आँखामा क्षति पुगेर वा कुनै कारणले देख्न नसक्ने अवस्थामा अप्रेसन गरेको ६ हप्तामा घाउ राम्रोसँग ठिक भइसकेपछि कृत्रिम आँखा राख्न सकिन्छ । आँखा सुकेको व्यक्तिको नानीमा छुँदाखेरी उनीहरूलाई दुखाई महसुस हुँदैन भने त्यस्तो व्यक्तिलाई पनि कृत्रिम आँखा दिन सकिन्छ ।’ 

gautm

कृत्रिम आँखा एक्रोलिक भन्ने कच्चा पदार्थबाट बनेको हुन्छ । यो पाउडर अवस्थामा आउँछ । हामीले बनाएको कृत्रिम आँखा ८ देखि १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । कृत्रिम आँखा बनाएर लगाएपछि बेला बेलामा बिरामीले अकुलरिष्टलाई भेट्नुपर्ने हुन्छ भने उनीहरुले कृत्रिम आँखालाई पोलिसिङ गर्ने काम गर्छन् ।’  

तिलगंगा आँखा प्रतिष्ठानबाट दिइने आँखा २ प्रकारका छन् । एउटा तयारी अवस्थामा विदेशबाट ल्याइएका कृत्रिम आँखा हुन्छ जसको मूल्य अलि सस्तो पर्छ । विभिन्न साइजमा आउने तयारी अवस्थाका आँखा कुन बिरामीका लागि ठिक हुन्छ, साइज अनुसार जाँच गरेर लगाएर पठाइन्छ । तयारी रूपमा आउने कृत्रिम आँखाको १२ सय रुपैयाँ पर्ने गौतमले बताइन् । 

यस्तै अर्को कस्टोमेड प्रक्रियाबाट तिलगंगा आँखा प्रतिष्ठानले नै बिरामीको आँखाको भाग नापेर कृत्रिम आँखा तयार गर्छन् । यसको मूल्य भने १५ हजार रुपैयाँ पर्ने हुन्छ । 

अकुलरिष्ट गौतम भन्छिन्, ‘बिरामीको आँखा निकालिसकेपछि जुन खाल्डो पर्ने हुन्छ, त्यसको नाप लिएर आँखा बनाइन्छ । बिरामीको अर्को आँखा हेरेर त्यसको रङ्गहरु मिलाउने काम गरिन्छ । आँखाको सकेट अनुसार नापेर बनाइने हुँदा यहीँ बनाएको कृत्रिम आँखा राम्रोसँग फिट हुने हुन्छ ।’ 

तयारी आँखाहरु विदेशबाट ल्याइने गरिन्छ भने कस्टोमेड प्रक्रियाबाट आँखा अस्पतालमै कृत्रिम आँखा तयार गर्ने गरिएको छ । एउटा कृत्रिम आँखा तयार गर्न झन्डै २ दिन समय लाग्ने गर्छ । आँखामा हुने रङ्ग मिलाएर तयार गर्नुपर्ने हुन्छ ।  

तिलगंगामा हरेक दिन ७ देखि १० जना मानिसहरू कृत्रिम आँखा राख्नका लागि आउने गरेका छन् । यस्तै बिरामीको आँखामा नापेर दैनिक एउटा कृत्रिम आँखा तयार गर्ने गरिएको छ । कृत्रिम आँखा हाल्न आउनेहरूमा धेरैजसो चोटका कारण आँखा गुमाउनेहरू रहेको गौतमले बताइन् । 

eye-nakkali

यस्तो कृत्रिम आँखा राख्दा प्रतिकूल असरहरू देखा नपर्ने उनले बताइन् । तर बेलाबेलामा स्वास्थ्य जाँच भने गर्नुपर्ने हुन्छ । कृत्रिम आँखा फिट गरेर पठाइसकेपछि त्यसको सफाइ र प्रयोग कसरी गर्ने भन्नेबारेमा उनीहरूलाई जानकारी दिएर पठाउने गरिएको छ । प्रत्येक महिना कृत्रिम आँखा निकालेर सफा गर्नुपर्ने हुन्छ भने छ–छ महिनामा अकुलरिष्टलाई भेट्नुपर्ने हुन्छ । 

११ वर्षअघिदेखि तिलगंगा आँखा अस्पतालले यो सेवा दिन सुरु गरेको हो । त्यसअघि भने डेन्टिष्टले कृत्रिम आँखा राख्ने गरेका थिए । तर ११ वर्षदेखि भने तिलगंगा आँखा अस्पतालले कृत्रिम आँखा बनाउने र आँखा राख्ने काम गर्दै आएको छ । 

यो सेवा सुरु भएदेखि हालसम्म झन्डै २ हजार जनाले कृत्रिम आँखा राखेका छन् । सुरुवातको बेलामा कृत्रिम आँखा राख्नेबारे सर्वसाधारणमा जानकारी नभएका कारण अस्पतालमा बिरामी कम आउने गरे पनि अहिले भने सङ्ख्या बढिरहेको छ । 

आँखा गुमाएका व्यक्तिले कृत्रिम आँखा राखेपछि आफ्नो पहिलेको सौन्दर्य पाउने र अर्कोतिर आत्मसम्मान पनि पाउने अकुलरिष्ट गौतम बताउँछिन् । 

उनी भन्छिन्, ‘सौन्दर्यको हिसाबले कृत्रिम आँखा राख्ने पद्धति महत्त्वपूर्ण छ भने अर्कोतिर व्यक्तिले आँखासँगै गुमाएको आत्मसम्मान फेरी प्राप्त गरेको अनुभव गर्न सक्छन् । कृत्रिम आँखा लगाउनुभन्दा अघिको अनुभव र लगाइसकेपछि समाजबाट आफूले पाएको सम्मानमा परिवर्तन भएको उहाँहरुले भन्ने गर्नुभएको छ । यो कृत्रिम आँखा मात्र नभएर व्यक्तिको आत्मसम्मानका लागि पनि राम्रो माध्यम भएको मैले पाएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया