आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

न्यायाधीशको प्रश्न : नेपाली नागरिकता देखाएर लामिछानेले कसरी पासपोर्ट लिनुभयो ?

शुक्रबार, १३ माघ २०७९, १३ : ३०
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताका सम्बन्धमा न्यायाधीशले प्रश्न गरेका छन् । शुक्रबारको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले सन् २०१५ मा नेपाली नागरिकता देखाएर लामिछानेले पासपोर्ट लिएको सन्दर्भमा प्रश्न गरेका हुन् ।  ‘सन् २०१५ मा नेपाली नागरिकता देखाएर कसरी पासपोर्ट लिनुभयो ?’ लामिछानेको पक्षबाट बहस गर्ने वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई खतिवडाले प्रश्न गरे । 

लामिछानेले अमेरिकाको नागरिकता लिएको, त्यही बीचमा नेपाल आएको र नेपाली नागरिकताबाटै पासपोर्ट लिएको तथ्य के हो भनेर खतिवडाले प्रश्न गरेका हुन् । जवाफमा केसीले आफूले भन्न खोजेको विषय पासपोर्टको नभएको बताए । उनले झुटा विवरण देखाएको भए पासपोर्ट ऐनअनुसार कारबाही हुने बताए । यद्यपि कसीले लामिछानेले नेपालमा नागरिकता त्यागेर गएको रेकर्ड कहिँ नभएको जिकिर गरे ।  ‘त्यागेर गएको रेकर्ड नै नभएको अवस्थामा मैले फेरि पाउँ भनेर जाने भन्ने कुरा हुँदैन’, उनको जिकिर थियो । 

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रविले वंशजको नागरिकता लिएका लिएका थिए । अमेरिका गएपछि उनले उनले २०७० फागुन ९ मा अमेरिकी नागरिकता र फागुन २१ मा राहदानी प्राप्त गरेका थिए ।  यस्तै २०७१ जेठ २२ मा अमेरिकी राहदानी प्रयोग गरेर उनी पहिलो पटक गैरपर्यटक (नाता) भिसामा नेपाल आएका थिए  । तर, २०७२ जेठ १३ मा उनले कायम नरहेको आफ्नो पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको देखिन्छ ।  नेपाली राहदानी बनाएपछि पनि उनले अमेरिकी राहदानी नै प्रयोग गरेर विदेश आउजाउ गरेको अध्यागमनको रेकर्डमा देखिएसँगै न्यायाधीशले इजलासमा प्रश्न गरेका हुन् । 

लामिछानेले २०७५ जेठ ४ मा मात्रै नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिएका थिए । तर, यो प्रक्रिया पूरा नहुँदै आफूले अमेरिकी नागरिकता र राहदानी त्यागेको सूचना उनले २०७५ असार ६ मा अध्यागमन विभागलाई दिएका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा मुद्दाको बहस सकिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप