शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा धमाधम पक्राउ पर्दै फरार प्रतिवादी

बुधबार, १८ माघ २०७९, १४ : २७
बुधबार, १८ माघ २०७९

सुर्खेत । कर्णाली प्रहरी फरार प्रतिवादीलाई पक्राउ गर्न अग्रसर देखिएको छ । प्रदेशमा नयाँ प्रहरी नायव महानिरीक्षक (डीआईजी) आएसँगै विभिन्न घटनामा कैद भुक्तान नगरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्नतर्फ प्रहरी अग्रसर बनेको हो । 

माघ ११ गते डीआईजीको रूपमा भीम प्रकाश ढकाल आएका थिए । प्रदेश प्रहरी कार्यालयका अनुसार त्यसयताका ५ दिनमा मात्रै २३ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

डीआईजी ढकालले फरार अपराधीलाई पक्राउमा विशेष सक्रियता बढाएका छन् । साथै उनले अझै बाँकी रहेका फरार अभियुक्तहरू पनि पक्राउ गर्न एउटा विशेष अभियान नै बनाएर अघि बढेको जनाए ।   

५ दिनमा २३ जना पक्राउ 

   प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतले मात्रै पाँच दिनको अवधिमा बहुविवाह मुद्दाका ४, चेक अनादर मुद्दाको १ जना र पुरानो पेण्डिङ कर्तव्य ज्यान मुद्दाका ४ गरी ९ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

यस्तै रुकुम पश्चिम प्रहरी कार्यालयले सम्बन्ध विच्छेद, लागु औषध, गाली बेइज्जती, जालसाजी र कुटपिट मुद्दाका ७  जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  

जुम्ला प्रहरीले गर्भपतन र बहुविबाह मुद्दाका २ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ भने बुधवार मात्रै थप एक जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

 बिहान १० बजे चन्दनाथ नगरपालिका —८ रोकायावाडा बस्ने ३८ वर्षीय धन बहादुर रोकायालाई पक्राउ गरेको हो । उनलाई गाँजा चरेस कसुरमा बाँके जिल्ला अदालतको ०७२ भदौ ६ गतेको आदेश फैसलाले १० महिना ६ दिन कैद सजाय तोकेको थियो । यद्यपि उनले कैद भुक्तान नगरी फरार थिए ।

रोकायाकै घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाइएको छ । यस्तै कालिकोट प्रहरीले एक जना जना सार्वजनिक अपराध र १ बैङ्किङ कसुर सम्बन्धी गरी २ जना फरार प्रतिवादी अभियुक्तलाई पक्राउ गरेको छ ।  

हिमाली जिल्ला डोल्पामा मूर्ति चोरी मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । यस्तै जाजरकोट प्रहरीले जबरजस्ती करणी मुद्रामा फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । 

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भने,‘ फरार अभियुक्तहरूलाई पक्राउ गर्नको लागि एउटा विशेष अभियान नै बनाइएको छ र मातहत जिल्लाहरूमा कडाइका साथ लागि गरेर प्रहरी सक्रिय भइरहेको छ ।’ 

प्रदेश प्रहरीका अनुसार पक्राउ परेका २३ जनाबाट १३ लाख ४८ हजार ७७५ रुपैयाँ जरिवाना र ८ लाख ५६ हजार २ सय बिगो असुल भएको छ । 

यस्तै पक्राउ गरिएका सबै जनाको गरी २१ वर्ष ६ महिना २३ दिन कैद सजाय भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप