शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको तुरिया खोला : बाह्रैमास हुन्छ ढुंगा बालुवाको चोरी निकासी

बिहीबार, १९ माघ २०७९, १२ : १६
बिहीबार, १९ माघ २०७९

रुपन्देही  । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पर्ने तुरिया खोलामा बाह्रैमास ढुंगा, गिट्टी, बालुवाको चोरी निकासी हुने गरेको छ । सुनवलको वडा नं.४ मा पर्ने सुवनल क्षेत्र, चारघरे, सोमैटोला, बेलारी लगायतका गाउँमा पर्ने तुरिया खोला क्षेत्रबाट नियमित ढुंगा बालुवा चोरी निकासी हुने गरेको हो । स्थानीय केही युवाहरु र स्थानीय प्रहरी समेत मिलेर ढुंगा बालुवा चोरी निकासी गर्ने गरेका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा बेलारीका एक स्थानीयले भने, ‘तुरिया खोलामा बाह्रैमास ढुंगा बालुवा चोरी हुन्छ, यहाँको रोजगार भनेकै यही खोला हो, तर अचेल प्रहरीलाई लाइन नमिलाई चोर्न सक्दैनन्, प्रहरीलाई पनि केटाहरुले मिलाएका छन् ।’ वर्षायामको दुई महिना असार र साउन महिनामा खोलामा पानी बढ्ने भएकाले चोरी कम हुने तर अन्य महिनामा निरन्तर ढुंगा बालुवा चोरी निकासी हुने गरेको उनले बताए । केही स्थानीय युवाहरुको अगुवाइमा चोरी निकासी हुने गरेको उनको भनाइ छ । 

तुरिया खोलामा चोरी निकासी हुने गरेको प्रहरीले पनि स्वीकार गर्छ । इलाका प्रहरी कार्यालय सुनवलका इन्चार्ज प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले भने, ‘हामीले ३/४ वटा ट्याक्टर अहिले पनि नियन्त्रणमा लिएका छौं । ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि नगरपालिकामा पठाउने गरेका छौं ।’ नगरपालिकाले प्रति ट्याक्टर ६० हजार रुपैयाँ जरिवाना तिराउने गरेको उनले बताए । प्रहरी निरीक्षक पौडेलले भने, ‘यी चोरी तस्करी गर्नेहरुको पनि सुराकी गर्ने मान्छे हुँदारहेछन्, हामी अन्य कामले बाहिर निस्केको बेला खोलाको काम गर्दा रहेछन्, विषेशगरी रातिमा उनीहरुले काम गर्ने गरेका छन् ।’ बाहिर हल्ला भएजस्तो ढुंगा बालुवा चोरी तस्करी भने नभएको दाबी पनि उनले गरे । भेटेजतिकालाई कारवाही गरिएको उनको भनाइ छ ।

तर स्रोतका अनुसार कारवाहीका लागि नगरपालिका पठाइएका कतिपय ट्याक्टरवालाबाट नगरपालिकाका कर्मचारीले समेत पैसा लिएर जरिवाना नतिराई छोड्ने गरेका छन् । जसका कारण प्रहरी र नगरपालिकाका कर्मचारीबीच पनि असमझदारी बढ्ने गरेको छ । नगरभित्रका खोलामा चोरी निकासी रोक्न नगरपालिकाले ५ जना हेरालु पनि राखेको छ । ती हेरालुले पनि चोरी तस्करीमा सेटिङ मिलाउने गरेका छन् । 

उता सुनवल नगरपालिकाका उपप्रमुख सुर्य दुबे तुरिया खोलामा ढुंगा बालुवा चोरी निकासी रोक्न जरिवाना रकम बढाइएको बताउँछन् । दुबेले भने, ‘पहिले प्रति ट्याक्टर ३० हजार रुपैयाँ जरिवाना थियो, अहिले ६० हजार जरिवाना गराएपछि चोरी निकासी पनि अलि कम भएको छ ।’ कतिपय मानिसले घर बनाउनका लागि ढुंगा बालुवा अन्य ठाउँबाट ल्याएको पुष्टि भएमा उनीहरुलाई बिना जरिवाना नगरले छोड्ने गरेको दुबेले बताए । दुबेका अनुसार नगरभित्रका तुरियाबाहेक भल्लुही, भुमही, पानभार लगायतका खोलाबाट ढुंगा बालुवा चोरी निकासी हुने गर्दछ । यसलाई रोक्न भनेर नगरपालिकाले ६ जना हेरालु राखेको हो । 

स्रोतका अनुसार यी ढुंगा बालुवा चोरी गर्ने गिरोहले प्रहरी र नगरका केही कर्मचारीलाई समेत सेटिङमा राखेर यस्तो धन्दा गर्ने गरेको छ । ट्याक्टर र ट्रकमा समेत ढुंगा बालुवा ढुवानी गर्ने यो गिरोहले एकै रातमा एक दर्जन समेत ट्याक्टरमा ढुंगा बालुवा लोड गरेर बजार पठाउने गर्दछन् । ढुंगा बालुवा लोड गराउँदा स्थानीय युवा युवती तथा कामदारलाई उनीहरुले काम दिने गरेकाले पनि स्थानीयले बाहिर मुख खोल्न चाहाँदैनन् ।

एक टाली ढुंगा लोड गराउँदा उनीहरुले तीन हजार रुपैयाँ कामदारलाई दिने गर्दछन् । यस खोलामा नगरपालिकाले बेला बेला टेण्डर आह्वान गरेर ढुंगा बालुवा बेच्ने गरेको छ । टेण्डर गर्दा पनि उक्त खोलामा स्काभेटर प्रयोग नगर्ने गरी टेण्डर गरिन्छ । तर ठेकेदार कम्पनीले मिलेमतोमा स्काभेटर प्रयोग गर्ने गर्दछन् । यो बर्ष भने टेण्डर भइनसकेको नगरपालिकाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप