मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
अपराध

पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद

शनिबार, २१ माघ २०७९, २० : ४५
शनिबार, २१ माघ २०७९

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा डेरा गरी बस्दै आएका रामेछापका ४२ वर्षीय किशोर भण्डारी परिवारमा बारम्बार ग्लानीयुक्त अभिव्यक्ति दिन्थे । सात वर्षीया छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो उनमा रहने गर्थ्यो ।

भण्डारी पछिल्लो समय मानसिक रुपमा पनि केही ‘डिस्टर्ब’ जस्तो देखिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनै भण्डारीले शनिबार शारिरीक रुपमा अशक्त सात वर्षीया छोरीको छुरा प्रहारबाट हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार भण्डारीको श्रीमती र छ महिने छोरा पनि रहेका छन् । उनीहरुलाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । ‘उनले घटनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ पठाएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किँदा भित्रबाट कोठाको ढोका लगाइएको थियो । लामो समयसम्म ढोका ढकढक गर्दा पनि नखुलेपछि छिमेकीसहितको सहयोगमा खोलेर हेर्दा भित्र हृदयविदारक दृश्य फेला परेको थियो । लगत्तै प्रहरीकहाँ खबर पुगेपछि बृत्त बानेश्वरबाट टोली पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेको देखिएको बताए ।

उनले गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए भने साथसाथै कस्मेटिकको व्यवसायमा पनि संलग्न थिए । घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलबाट भण्डारीको १ पन्ने सुसाइड नोट पनि फेला परेको छ । उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋणलगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप