शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघले बुझायो पेरिसस्थित दूतावासमा ज्ञापनपत्र

शनिबार, २१ माघ २०७९, २१ : ४८
शनिबार, २१ माघ २०७९

पेरिस । गैरआवासीय नेपाली संघ पोर्चुगलले पोर्चुगल निवासी नेपालीहरूले भोगिरहेका समस्याको उचित समाधानका लागि फ्रान्सको पेरिसमा रहेको नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । 

विशेष गरेर पोर्चुगल नेपाली राजदूतावासविहीन भएका कारणले त्यहाँका नेपालीहरूले भोगिराखेका राहदानी सम्बन्धी जटिल समस्याहरूको समाधानका लागि शुक्रबार एनआरएनए पार्चुगलका अध्यक्ष सोमफुरी शेर्पा नेतृत्वमा गएको टोलीले राजदूत दीपक अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

‘नेपाली राजदूतावास फ्रान्सको कार्यक्षेत्र भित्र पर्ने पोर्चुगलमा ई–पासपोर्ट लागु भएको सूचना प्रकाशित गरेको झन्डै ९ महिना हुन लाग्दा समेत एकपटक पनि राजदूतावासको टोली निरीक्षण वा अनुगमन गर्न समेत नआएको प्रति हामी अत्यन्तै दुखित भएका छौ’ संघका अध्यक्ष सोमफुरी शेर्पा र सचिव मिलन रेग्मीद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति भनिएको छ । ‘भिसा सकिएका वा रेसिडेन्स कार्ड नबनेका नेपालीहरू गैरकानुनी रूपमा फ्रान्स आउन दुई देशको सिमाना पार गरेर आउन अत्यन्तै जोखिमपूर्ण रहेको छ । रेसिडेन्स कार्ड हुनेहरूको हकमा पोर्चुगल जस्तो कम आम्दानी भएको देशमा नेपालीहरूलाई एउटा पासपोर्ट बनाउन समय र धेरै पैसा खर्च गरेर आउनुपर्ने बाध्यता रहेको ज्ञापन पत्र मार्फत राजदूत अधिकारीलाई जानकारी गराएका छन् ।

गत २३ जनवरी २०२३ का दिन गैह्र आवासीय नेपाली संघ पोर्चुगलले त्यहाँका नेपालीहरूको समस्याका बारे गुनासाहरू राख्न र समाधानका उपायहरूको सुझाव सङ्कलन गर्न एक कार्यक्रमको आयोजना समेत गरिएको थियो । सोही कार्यक्रममा आएका गुनासाहरू र सुझावहरूलाई नै लिएर टोली पेरिसको नेपाली राजदूतावासमा पुगेको अध्यक्ष सोमफुरी शेर्पाले बताए ।

ज्ञापन पत्र बुझ्दै राजदूत दीपक अधिकारीले पोर्चुगलमा नेपालीहरूले भोग्नु परेका समस्या आफैमा गम्भीर प्रकृतिको भएकाले त्यसको समाधानका लागि राजदूतावासले गम्भीर रूपमा सोच्ने बताए । अहिले इ–पासपोर्टको व्यवस्था लागु भएपछि सम्बन्धित व्यक्त स्वयम् उपस्थित हुनैपर्ने भएकाले कागजी समस्याका कारण पोर्चुगलबाट पेरिस दूतावाससम्म आउन समस्या हुनेहरूका लागि दूतावासको टोली पोर्चुगल नै गएर सेवा दिने प्रतिबद्धता राजदूत अधिकारीले व्यक्त गरेका छन् । जसका लागि एक टोली परराष्ट्र मन्त्रालयबाट एक महिनाका लागि आउने निर्णय भएको जानकारी गराउँदै कहिले उक्त टोली पोर्चुगल आउने भन्ने बारे राजदूतावासले सूचना जारी गर्ने बताए । साथै हामीसँग सम्बन्धित विषयहरू राजदूतावाससँग कुनै परामर्श र जानकारी बेगर केही दिन अगाडी पोर्चुगलकै एक समूहले सामाजिक सञ्जालमा अनावश्यक रूपले प्रचार गरेको प्रति पनि राजदूत अधिकारीले आपत्ति जनाएका छन् ।

गैह्र आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पाको नेतृत्वमा गएको उक्त टोलीमा संघका वरिष्ठ उपाध्यक्ष बिनु बस्नेत, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य धनराज शेर्पा, नेपाली समाज पोर्चुगलका अध्यक्ष कुमार योञ्जन, प्रवासी नेपाली मञ्च पोर्चुगलका उपाध्यक्ष धनीराम पौडेल र शेर्पा किदुग पोर्चुगलका सदस्य कुङगा शेर्पाको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप