शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वित्तीय क्षेत्रका अभिभावक गुमायौँ : पूर्वगभर्नरहरु

आइतबार, २२ माघ २०७९, १५ : २४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रको जग बसाल्ने अभिभावकका रुपमा रहेका जबराले केन्द्रीय बैंकको नेतृत्व गरेपछि नेपालबाट भारतीय मुद्रा हटाएर नेपाली मुद्रा प्रचलनमा ल्याउन मुख्य भूमिका खेलेका थिए । नेपालको वित्तीय र मौद्रिक क्षेत्रको उन्नयनमा नेतृत्वदायी भूमिका खेल्नुभएका दिवङ्गत जबराको योगदानबारे नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुसँग राससकर्मी हेमन्त जोशीले लिएको प्रतिक्रिया ः 

‘प्रतिकूल अवस्थामा अनुकरणीय काम गर्नुहुने व्यक्ति’
–डा तिलक रावल, पूर्व गभर्नर
जुनबेला उहाँ राष्ट्र बैंकको गभर्नर हुनुभयो, त्यो बेला नेपालको वित्तीय क्षेत्र नाजुक थियो । नेपालको आफ्नो मुद्रा धेरै चलनचल्तीमा थिएन । भारतीय मुद्रा नै बढी प्रचलनमा थियो । निकै कठिन स्थिति थियो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उहाँले निकै अनुकरणीय काम गर्नुभयो र त्यसलाई सफलरुपमा अघि बढाउन सक्नुभयो । 
वित्तीय क्षेत्रमा उहाँले राष्ट्र बैंकको प्रथम गभर्नरका रुपमा काम गर्नुभयो । उहाँ हामीलाई सधैँ प्रोत्साहन गर्ने र राम्रो सल्लाह दिने व्यक्ति हुनुहुन्थ्यो । वित्तीय क्षेत्रमा पनि उहाँ निकै सक्रिय रहनुभयो । निजी क्षेत्रका बैंक अहिले हामीले जुन अवस्थामा देखिरहेका छौँ, ती संस्था ल्याउनमा पनि उहाँको ठूलो योगदान छ । नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा काम गरिसकेपछि उहाँ संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा पनि जानुभयो । लामो समयसम्म बाहिरै बस्नुभयो । त्यहाँ पनि उहाँले आफ्नो राम्रो कामबाट इज्जत, प्रतिष्ठा कायम गर्नुभयो । 

उहाँबाट हामीले धेरै कुरा सिक्ने अवसर पायौँ । उहाँलाई कुनै ठूलो रोग लागेर लामो समय थलिएको सुन्नु परेन । उहाँ खेलकुदमा पनि सौखिन हुनुहुन्थ्यो । गल्फ खेल्नुहुन्थ्यो । आफूलाई सधैँ स्वस्थ राख्नुभयो उहाँले । उहाँले आफ्नो जीवनकाल निकै सक्रियरुपमा बिताउनुभयो ।  व्यक्तिगतरुपमा उहाँसँग मेरो भेटघाट भइरहन्थ्यो । सधैँ राम्रो व्यवहार गर्नुभयो । गभर्नरका रुपमा मैले काम थालेको नौ महिनामै हटाइएपछि म अदालत गएँ । त्यो बेलामा धेरै मानिसले सरकारको उक्त कदमको आलोचना गरेका थिए । त्यसमध्ये राणा पनि एक हुनुहुन्थ्यो । त्यो बेला म माथि आइपरेको आपत्का बेला ठूलो ढाडस दिनुभएको थियो । मेरो कामको प्रशंसा गर्नुहुन्थ्यो र सल्लाह पनि दिनुहुन्थ्यो । उहाँबाट धेरै अनुकरणीय कुरा हामीले पायौँ ।

‘व्यावहारिक र दूरदर्शी नीति निर्माता’
–दीपेन्द्रबहादुर क्षेत्री, पूर्वगभर्नर 

यो दुःखद् घटनाबारे बिहान थाहा पाए । उहाँ समग्र राष्ट्र बैंक परिवारको अविभावकका रुपमा रहनुभएको थियो । उहाँको उमेरका कारणले मात्र होइन धेरेका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । राष्ट्र बैंक स्थापनाका लागि उहाँले जुन तत्परता देखाउनुभयो र परिश्रम गर्नुभयो त्यसबाट आएको प्रतिफल हेर्ने हो भने समग्र देशले नै लाभ लिएको छ । 

विसं २०१२र१३ सालअघि नेपालमा भारतीय रुपैयाँको चलनचल्ती बढी थियो । उहाँले गैरमुद्रा प्रणालीलाई नियमित गर्नु आवश्यक रहेको भन्दै भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर कायम गर्नका लागि अध्ययन गर्न लगाउनुभयो । त्यतिबेला भारतीय र  नेपाली मुद्राको जुन विनिमय दर कायम भएको थियो त्यो अहिले पनि कायमै छ । यद्यपि, बीचमा केही तलमाथि पनि भयो । विसं २०१३ मा कायम गरिएको विनिमयदर अहिले २०७९ सालसम्म पनि कायम भइरहेको छ भने कति दूरदर्शी र व्यावहारिक भएर त्यो निर्णय गरिएको थियो भन्ने बुझ्न सकिन्छ । राष्ट्र बैंकले अध्ययन समिति बनाएर विभिन्न ठाउँमा अध्ययन गरेपछि एक सय भारतीय रुपैयाँ बराबर एक सय ६० नेपाली रुपैयाँ कायम गर्ने भनेर उहाँले नै निर्णय गर्नुभएको थियो । 

अर्को महत्वपूर्ण कुरा, नेपाल विश्वव्यापार सङ्गठन (डब्ल्युटीओ) को सदस्यता लिने विषयमा अध्ययन गर्नका लागि एउटा समिति गठन भएको थियो । त्यो समिति राणाकै अध्यक्षतामा थियो । म सदस्यका रुपमा थिए । उहाँसँग काम गर्दा मैले उहाँको नेतृत्व गर्नसक्ने क्षमता र उहाँमा विषयवस्तुको गहनता कति छ भन्ने अनुभूति गर्न पाएँ । उहाँको दृष्टिकोण अनुकरणीय थिए । 
पछिल्लो समय उहाँ शारीरिकरुपले कमजोर हुनुभएको थियो । तर राष्ट्र बैंकको कार्यक्रम भनेपछि पूर्वकर्मचारीको कार्यक्रम होस् वा अरु कुनै सम्बन्धित कार्यक्रम हुन त्यसमा उहाँले संरक्षक र उत्प्रेरकको भूमिका खेल्नुभयो । अरुलाई सम्मान गर्ने, अरुको कुरा धैर्यतापूर्वक सुन्ने र आफू थोरै बोल्ने गुण उहाँमा थियो । राष्ट्र बैंकले कहिलेकाहीँ पूर्वगभर्नरलाई बोलाएर छलफल गर्ने हुँदा सबैले विश्वासिलो अविभावकका रुपमा हेथ्र्यौं । 

‘असल प्रशासक, सफल गभर्नर र प्रजातन्त्रको वकालत गर्ने नागरिक अगुवा’
–डा.युवराज खतिवडा, पूर्वगभर्नर एवं पूर्वअर्थमन्त्री 

हिमालय शमशेर जबरा नेपालको मौद्रिक इतिहासको एक महान व्यक्ति (लेजेन्ड्री) हुनुहुन्छ । त्यसका केही महत्वपूर्ण कारणहरु छन् । विश्वमा केही सङ्ख्यामा मात्र मुलुक होलान्, जहाँ केन्द्रीय बैंकको पहिलो गभर्नर र सत्रौँ गभर्नर सँगै बसेर छलफल गर्नसक्ने अवसर मिलोस् । 
म राष्ट्र बैंकको १५औँ गभर्नरका रुपमा काम गर्दा त्यो अवसर पाएँ । संयोग कस्तो भने मेरो जन्म, नेपाल राष्ट्र बैंकको जन्म र हिमालय शमशेर जबरा गभर्नर भएको एउटै वर्ष हो । म जन्मँदा गभर्नर रहनुभएको व्यक्तिलाई म गभर्नर हुँदा समयसमयमा सुझाव सल्लाह लिन्थे । उहाँले गर्नुभएका कतिपय कामलाई स्मरण गर्न पाउने हामी भाग्यमानी हौँ । 
राष्ट्र बैंक स्थापना भएको बेलाको गभर्नर भएका कारणले केन्द्रीय बैंकमा उहाँले पहिलो काम भारतीय रुपैयाँलाई क्रमशः विस्थापित गर्ने र नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउने गर्नुभयो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनिमयदरमा स्थिरता ल्याउन उहाँले पहल गर्नुभयो । नेपाल राष्ट्र बैंकका शाखा देशका विभिन्न स्थानमा खोल्न लगाएर भारतीय रुपैयाँको सट्टा नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउने कामको थालनी पनि उहाँबाटै भएको हो । भारतीय मुद्राको समानान्तररुपमा नेपाली मुद्रा चलिरहेको अवस्थामा त्यसलाई कानुनी मुद्राका स्थापित गर्नु त्यो बेला सामान्य विषय थिएन । 

केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघि नेपालको विदेशी मुद्रा सञ्चिति भारतीय रिजर्भ बैंकमा हुन्थ्यो । हाम्रो विदेशी मुद्रा हाम्रै केन्द्रीय बैंकको प्रणालीमा लिएर आउने काम पनि उहाँको पालामा भयो । नेपालको पहिलो आवधिक योजना पनि २०१३ सालमा सुरु भएको हो । योजनाबद्ध विकास सुरु गर्ने सन्दर्भमा राष्ट्र बैंकले नेतृत्वदायी भूमिका खेल्नुपथ्र्यो । त्यो काम उहाँको पालाबाट सुरु भयो । उहाँ आफैँ पनि नेपाल सरकारको सचिवबाट आउनुभएको हुनाले वित्तीय योजना निर्माणमा सिद्धहस्त नै हुनुहुन्थ्यो । केन्द्रीय बैंक स्थापना भएदेखि नै उहाँले त्यसलाई स्वायत्त निकाय हो भनेर कतिपय ठाउँमा अडान लिनुभएको देखिन्छ । 

संयुक्त राष्ट्रसङ्घमा काम गर्दा होस् अथवा देशका विभिन्न राजनीतिक परिवर्तनसँगै प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारका पक्षमा नागरिक समाजको अगुवा भएर बोल्नुहुन्थ्यो । नागरिक अगुवाका रुपमा क्रियाशील र लोकतन्त्रका पक्षमा काम गरिरहने व्यक्तिका रुपमा उहाँ रहनुभयो । राणा परिवारमा जन्मिएर पनि लोकतन्त्रका पक्षमा त्यति बलियोसँग उभिने व्यक्ति उहाँ हुनुहुन्छ । असल प्रशासक, केन्द्रीय बैंकको सफल नेतृत्व गर्ने व्यक्ति, संयुक्त राष्ट्रसङ्घमा सफल ढङ्गले काम गर्नुभएको ‘इन्टरनेसनल ब्युरोक्य्राट’ र नागरिक समाजमा स्थापित व्यक्तित्वका रुपमा हामीले उहाँलाई चिन्छौँ ।

‘नेपालमा वित्तीय क्षेत्रको जग बसाल्ने व्यक्ति’
–डा चिरञ्जीवी नेपाल, निवर्तमान गभर्नर 

उहाँ नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा हामीले अविभावक भनेर सम्झिन्छौँ । नेपालको वित्तीय क्षेत्रको आधारशिला निर्माण गरेको, जग बसालेको व्यक्ति हो उहाँ । नेपाली मुद्रालाई नेपालभित्र चलनचल्तीमा ल्याउन सुरु गरेको व्यक्तिका रुपमा चिनिनुहुन्छ । त्यो भन्दाअघि नेपाली मुद्रा बजारमा थिएनन् । तर उहाँले नेपाली बजारमा नेपाली मुद्राको कारोबार गर्ने व्यवस्था ल्याउनुभयो । केन्द्रीय बैंकको प्रथम गभर्नरका नाताले वित्तीय क्षेत्रको आधारशिला नै उहाँले निर्माण गर्नुभएको हो । 

व्यक्तिगतरुपमा उहाँ निकै सरल, धेरै कुरामा समन्वय गर्ने, उपयुक्त सुझाव दिने, कुनै कार्यक्रममा बोलाउँदा सजिलै आइदिने सहज व्यक्ति हुनुहुन्थ्यो । यो उमेरसम्म पनि अत्यन्तै सक्रिय रहनुभयो । केन्द्रीय बैंकको गभर्नरका रुपमा मैले केही कुरा सोध्दा उहाँ आफ्ना कुरा स्पष्ट ढङ्गले राख्नुहुन्थ्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप