आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा र नागरिक उन्मुक्तिले सङ्घीय मञ्चलाई पठाए पार्टी एकताको प्रस्ताव

मङ्गलबार, २४ माघ २०७९, ०६ : ५९
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ  । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्राचार गरेको छ ।  उपेन्द्र यादव नेतृत्वको जसपाले  कुमार लिङ्देन नेतृत्वको संलोरामलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो ।

जसपाले गठन गरेको एकता वार्ता समिति संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्राचार गर्दै औपचारिक आह्वान गरेका हुन् । नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने भन्दै जसपा राजनीतिक समितिको गत पुस १८ र १९ गतेको बैठकले निर्णय गरेको थियो ।

पार्टी एकताको सान्दर्भिकता बारे प्रकाश पार्दै पत्रमा भनिएको छ –'यस्तो एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोर्‍याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी-दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका अधिकारहरू सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ ।'

देशका परिवर्तनकारी राजनीतिक शक्तिहरूसामु आफ्ना माग र मुद्दाहरूलाई जनतासामु स्थापित गर्न चुनौतीहरू थपिएकाे जसपाले पत्रमार्फत आकलन गरेकाे छ । त्यस्ता चुनौतीहरूलाई सामना गर्न सही बाटो र सुदृढ सङ्गठनको आवश्यकता भएको उल्लेख गर्दै पार्टी एकताको वैचारिक आधार पहिचानसहितको सङ्घीयता र समाजवाद हुनुपर्ने भनेको छ ।

जसपाले श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

यसैगरी काराकारमा बन्दी जीवन बिताइ रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले समेत सङ्घीय मञ्चलाई कार्यगत एकता अथवा पार्टी एकीकरणको प्रस्ताव राख्दै औपचारिक पत्र पठाएकी छिन् ।

विचार र मुद्दा मिल्ने पार्टीहरूसँग कार्यगत एकता वा पार्टी एकीकरण गर्न इच्छा वा अवधारणा भए यथाशीघ्र वार्ता गर्न अनुरोध गर्दै पत्र पठाएको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताए ।

जसपा र उन्मुक्तिको प्रस्ताव बारे प्रतिक्रिया दिँदै संलोरामका महासचिव चेम्जोङले पहिचान पक्षधर शक्तिहरुबीच ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन् । उनले पार्टीभित्र विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरुबीच वृहत् एकता गर्नुपर्ने मत बढेर गएको जिकिर गरेका छन् ।

जसपाको पत्र नै आफ्नो फेसबुकमा सेयर गर्दै चेम्जोङले लेखेका छन् –‘हुन त जसपाबाट बारबार एकता प्रस्ताव आएकै हो । अध्यक्ष र म स्वयम् निर्वाचन अघि पनि राष्ट्रिय राजनीति र लिम्बुवान आन्दोलन कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषय र एकता बारे जसपा शीर्ष नेताहरूसँग छलफल गर्‍यौँ तर हाम्रो पक्षबाटै छलफल अघि बढ्न सकेन ।’

यसअघि पनि संलोरामलाई राष्ट्रिय जनमुक्ति पार्टीले एकताको निम्ति औपचारिक पत्राचार गरेको थियो । 

पार्टी एकीकरण सन्धर्भमा -_page-0001325153438_873832613935235_555675231164612042_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप