शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने संकेत, माओवादी सकारात्मक

बिहीबार, २६ माघ २०७९, १८ : ३७
बिहीबार, २६ माघ २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि चुनावअघिको गठबन्धन ब्युँतिने संकेत देखिएको छ । 

कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा नयाँ सरकार बनाउने तयारी भइरहेको छ । 

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आफू कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताए ।

उनले भने, ‘हामी कांग्रेस सरकारमा सामेल भैहाल्छौं । सँगै चुनाव लडेर आयौं । हाम्रा भोटले कांग्रेस जित्यो, कांग्रेसका भोटले हामी जित्यौं ।’

कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन माओवादी केन्द्र पनि सकारात्मक रहेको उनले बताए । उनले भने, ‘हामी माओवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । केन्द्रमा पनि नेताहरुबीच छलफल हो ।’

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दै छन् । प्रदेशसभाबाट पत्र गएपछि प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि संसद्को सबैभन्दा ठूलो दललाई आह्वान गर्ने छन् । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठुलो दल छ । 

कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ । नाउपाले साथ नदिए माओवादी केन्द्रको साथ शाहलाई अनिवार्य छ । 

सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने सम्भावना पनि देखिन्छ । माओवादी केन्द्रका नेता खगराज भट्टले अब केन्द्रका निर्देशन अनुसार अगाडि बढ्ने बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको छ । केन्द्रमा पनि पुराना सत्ता गठबन्धन ब्युँताउने प्रयास भइरहेका छ ।

कांग्रेसका नेताहरू सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँताउने अभियान सुरु हुने बताउँछन् । सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिमबाट काँग्रेसको सत्ता रोहण गराउन नेताहरू सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप