सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गौर बजार बन्द हुँदा जनजीवन प्रभावित

व्यापारीको माग पूरा होस–मेयर साह
शुक्रबार, २७ माघ २०७९, १२ : २२
शुक्रबार, २७ माघ २०७९

रौतहट । स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले ज्यादती गरेको भन्दै उद्योग वाणिज्य सङ्घ रौतहटले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन  जिल्ला सदरमुकाम गौर बजारमा पूर्ण प्रभाव परेको छ। गौर बजारमा साना साना चिया, पान, किराना बाहेक सम्पूर्ण ठुला पसल तथा व्यावसायिक प्रतिष्ठानहरू  बिहानैदेखि बन्द छन् । 

गौर बजारको ८० प्रतिशत व्यापार व्यवसाय बन्द रहेको र यातायातसमेत पातलिँदा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। सदरमुकाम गौर स्थित व्यवसायीहरुलाइ चेक जाँच को नाममा छापा मारी गरी स्थानीय प्रहरी प्रशासन र राजस्व विभागले आतङ्कित बनाउने र अनावश्यक हैरान गर्ने गरेको भन्दै उद्योग वाणिज्य सङ्घ रौतहटले तीन दिन  बजार बन्दको आव्हान गरेको थियो । 

सङ्घका  अध्यक्ष पंडित जयसवाल र महासचिव रवीन्द्रनाथ गोपालेले शुक्रबार एक विज्ञप्ति निकालेर २९ गते आइतबारसम्म  बजार बन्द गर्न आव्हान गरेको थियो । उद्योग वाणिज्य सङ्घ गौरमा बिहीबार  बसेको व्यवसायीहरुको बैठकको निर्णय अनुसार बजार बन्द गरिएको हो । व्यवसायीहरू समस्या समाधान नभएमा थप आन्दोलन गर्ने चेतावनी सङ्घले दिएको छ। 

सरकारले ल्याएको आर्थिक नीतिले ब्याज वृद्धि ट पीडित व्यवसायिहरुको व्यावसायिक वातावरण समेत अवरुद्ध भएकोमा सङ्घको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला भन्सार कार्यालय गौरबाट खाद्यान्न सामग्री आयात गरी ल्याउने व्यवस्था समेत नभएकोले व्यवसायीहरू थप पीडित भएको सङ्घको ठहर छ। 

यसैबीच गौर नगरपालिकाका मेयर शम्भु साहले व्यापारीहरूको उचित माग प्रति ऐक्यबद्धता जनाएका छन् । जिल्ला सदरमुकाम गौरमा क्वारेनटाइन चेकपोस्टको व्यवस्थापन हुनु जरुरी रहेको बताउँदै उनले यस अघि क्वारेनटाइन कार्यालय नहुँदा पनि गौर भन्सारले जाँच पडताल गरी पठाएको कागजातको आधारमा वीरगन्ज भन्सारको निर्देशनमा गौर भन्सार बाट नै राजस्व तिरेर खाद्यान्न भित्रिने गरेको मेयर साहले बताए । तर सरकारको पछिल्लो निर्देशन अनुसार गौर भन्सारमा राजस्व तिरेर पनि खाद्यान्न ल्याउन नपाउने व्यवस्थाले रौतहटका व्यापारी ठुलो मारमा परेको उनको भनाइ छ।

shambhu shah

गौरमा क्वारेनटाइन कार्यालय स्थापनाको लागि मैले कृषि मन्त्रालय मार्फत पहल गरेको छु यसमा स्थानीय प्रशासन र व्यापारीले पनि सहयोग गर्नुपर्ने मेयर शम्भु साहले बताए । देश आर्थिक सङ्कटमा परिरहेको समयमा व्यापारीलाई मारमा पार्नु राम्रो होइन यहाँको समस्या तत्काल समाधान गर्न रौतहटका सिडिओ धर्मेन्द्र कुमार मिश्रसँग पनि सल्लाह तथा सहकार्य भइरहेको गौर नगर प्रमुख साहले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप