सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर देशकै नमुना महानगर बन्छ : मेयर रेनु दाहाल

शुक्रबार, २७ माघ २०७९, १८ : ०८
शुक्रबार, २७ माघ २०७९

भरतपुर । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताएकी छन् ।  १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एव्म बजेट कार्यान्वयनको समीक्षा गर्दै उनले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताइन् । 

उनकाअनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको छ । ६ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ ।  ४ सय ३२ किमि सडक स्तरोन्नती अर्थात ग्राबेलिङ गरिएको छ ।

मेयर दाहालले पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको बताइन् । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको जानकारी दिइन् ।  नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भैरहेको बताइन् । 

मेयर दाहालले नारायणी नदी आसापासका वस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भैरहेको बताइन् ।  नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको जानकारी दिइन् ।  पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भैरहेको बताइन् ।  यस्तै वाइपास सडक ४ लेनमा विस्तार कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिन् ।  हुलाकी सडकको १९ किमि विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधिन रहेको जानकारी दिनुभयो । यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताइन् ।  महानगरको रिंगरोडको ८८ किमि मध्ये ४२ किमि सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको पनि उनले बताइन् । 

मेयर दाहालले आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने बताइन् ।  महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताइन् । 
यसैबीच भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो । उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै उनले पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताए ।  अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।

थप २४ वटा नयाँ कार्यक्रम तथा शीर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा १ करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि १ करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख,  भरतपुर आँखा अस्पताललाई १ करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ । 

यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि १ करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा ३ करोड, मागमा आधरित ग्राबेलिङका लागि १ करोड,  ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब  ८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ ।
पूँजिगत तर्फ ३५ र चालु तर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले १ अर्ब ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात २२ प्रतिशत मात्रै संकलन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप