‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
काठमाडौँ। आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ हुने भएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा उक्त सम्मेलन हुन लागेको हो ।
समितिको आजको बैठकमा सो विषयबारे इसिमोडका प्रतिनिधिसँग छलफल गरी उक्त मिति तय गरेको हो । यसअघि सम्मेलन गत वैशाख अन्तिम साता गर्ने भनिए पनि सरकारले ‘सगरमाथा संवाद’ आयोजना गरेकाले सम्मेलनको मिति सार्नुपरेको थियो ।
समितिको बैठकमा इसिमोडका प्रतिनिधि आभास पाण्डेले सम्मेलनका बारेमा जानकारी गराए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा इसिमोड अन्तर्गतका आठ क्षेत्रीय सदस्य राष्ट्रहरू अफगानिस्तान, चीन, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान तथा म्यानमारबाट सम्बन्धित सांसद तथा विज्ञहरू सहभागी हुने जनाइएको छ ।
सम्मेलनमा जलवायु विपद् र प्रदूषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकुलनसम्बन्धी राम्रा सिकाइ आदानप्रदान गर्ने प्रस्ताव गरिएको छ ।
समिति सभापति कुसुमदेवी थापाले यस क्षेत्रका जलवायुका मुद्दामा सामूहिक सहकार्य बढाउने तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा सशक्त बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको बताए ।
समिति सदस्य वीरबहादुर बलायर, डा वीरेन्द्रप्रसाद महतो, रञ्जिता श्रेष्ठ, बिजुला रायमाझी, विनिता कठायत, रुपा सोशी चौधरीलगायतले सम्मेलनमा हुने सहभागिता, व्यवस्थापन, छलफलका विषयवस्तुलगायत बारेमा जिज्ञासा राख्नुका साथै सुझाव दिएका थिए ।
इसिमोड हिन्दकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत ज्ञान तथा सिकाइका लागि एक अन्तरसरकारी केन्द्र हो । यसको मुख्यालय काठमाडौँमा अवस्थित छ । इसिमोड हिन्दकुश हिमालयका स्थानीयको जीवन तथा जीविकोपार्जनमा सुधार ल्याउन र पर्वतीय वातावरण तथा संस्कृतिको जगेर्ना गर्न कार्यरत निकाय हो ।
पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १० प्रमुख नदीको पानीको स्रोत हो । यही पानीको स्रोतमा करिब दुई अर्ब जनता निर्भर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण