बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा

सोमबार, १९ जेठ २०८२, २२ : ४७
सोमबार, १९ जेठ २०८२

काठमाडौँ। आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ हुने भएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा उक्त सम्मेलन हुन लागेको हो ।

समितिको आजको बैठकमा सो विषयबारे इसिमोडका प्रतिनिधिसँग छलफल गरी उक्त मिति तय गरेको हो । यसअघि सम्मेलन गत वैशाख अन्तिम साता गर्ने भनिए पनि सरकारले ‘सगरमाथा संवाद’ आयोजना गरेकाले सम्मेलनको मिति सार्नुपरेको थियो ।

समितिको बैठकमा इसिमोडका प्रतिनिधि आभास पाण्डेले सम्मेलनका बारेमा जानकारी गराए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा इसिमोड अन्तर्गतका आठ क्षेत्रीय सदस्य राष्ट्रहरू अफगानिस्तान, चीन, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान तथा म्यानमारबाट सम्बन्धित सांसद तथा विज्ञहरू सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा जलवायु विपद् र प्रदूषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकुलनसम्बन्धी राम्रा सिकाइ आदानप्रदान गर्ने प्रस्ताव गरिएको छ ।

समिति सभापति कुसुमदेवी थापाले यस क्षेत्रका जलवायुका मुद्दामा सामूहिक सहकार्य बढाउने तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा सशक्त बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको बताए । 

समिति सदस्य वीरबहादुर बलायर, डा वीरेन्द्रप्रसाद महतो, रञ्जिता श्रेष्ठ, बिजुला रायमाझी, विनिता कठायत, रुपा सोशी चौधरीलगायतले सम्मेलनमा हुने सहभागिता, व्यवस्थापन, छलफलका विषयवस्तुलगायत बारेमा जिज्ञासा राख्नुका साथै सुझाव दिएका थिए ।

इसिमोड हिन्दकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत ज्ञान तथा सिकाइका लागि एक अन्तरसरकारी केन्द्र हो । यसको मुख्यालय काठमाडौँमा अवस्थित छ । इसिमोड हिन्दकुश हिमालयका स्थानीयको जीवन तथा जीविकोपार्जनमा सुधार ल्याउन र पर्वतीय वातावरण तथा संस्कृतिको जगेर्ना गर्न कार्यरत निकाय हो ।

पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म फैलिएको तीन हजार ५०० किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँ यो क्षेत्रका १० प्रमुख नदीको पानीको स्रोत हो । यही पानीको स्रोतमा करिब दुई अर्ब जनता निर्भर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप