बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पातारासीको उपल्लो क्षेत्र वषौँदेखि सञ्चारविहीन

आइतबार, २९ माघ २०७९, १२ : २६
आइतबार, २९ माघ २०७९

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाको उपल्लो क्षेत्र वषौँदेखि सञ्चारविहीन अवस्थामा छ । उपल्लो क्षेत्रमा पर्ने दुर्गम मानिने पातारासी गाउँपालिका-१,२ र ३ का दर्जन बस्तीका झन्डै ८ हजार बढी नागरिक सञ्चार विहीन छन् । 

सङ्घीयतापछि पनि सञ्चार सेवाको विकासमा स्थानीय तहदेखि नेपाल टेलिकमले ध्यान नदिएको भन्दै पातारासीवासीले गुनासो गरे। डिजिटल युगमा पनि खबर आदान प्रदान गर्न पातारासीवासी घण्टौँ हिँड्नु पर्ने बाध्यता छ । निर्माणाधीन टावर अलपत्रदेखि सञ्चालित इन्टरनेटले सेवाभन्दा कठिनाइ दिएको छ । 

पातारासीका दुर्गम १,२ र ३ नम्बर वडाहरूमा फोन समेत गर्न मुस्किल भएको पातारासीका स्थानीय अभियन्ता भक्त बहादुर बुढाले गुनासो गरे । पातारासीमा निर्माणाधीन टावर वर्षौँदेखि अलपत्र भएको र इन्टरनेट टेलिफोनले सेवाभन्दा सास्ती दिएपछि पातारासीका नागरिक दुखित छन् । तत्काल सञ्चार सेवा सुधारका लागि पालिका र टेलिकम कार्यालयको ध्यानाकर्षण समेत गराइएको स्थानीय अभियन्ता भक्त बहादुर बुढाको भनाइ छ ।  

सञ्चार सेवा सुविधा भरपर्दो र विश्वसनीय बनाउनुपर्ने उनको जोड छ । तत्काल सुधार नभए पालिकादेखि टेलिकम कार्यालयमा धर्ना दिने समेत बुढाको चेतावनी छ । जुम्लामा इन्टरनेट सेवाको क्षमता कम र प्रयोग कर्ता बढी भएपछि क्षमता वृद्धि गरे पनि अपेक्षित सुधार हुन सकेको छैन । यद्यपि, आगामी वैशाखभित्र पातारासी क्षेत्रसहित जुम्लाको इन्टरनेट र टेलिफोन सेवा सुधार हुने नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठको दाबी छ। 

टेलिफोनको फाइबर लाइन नभएसम्म समस्या समाधान हुने देखिँदैन। दुर्गममा रहेका टेलिफोन टावर सोलार प्रणालीको भरमा सञ्चालित छन् । घाम नलागेसम्म चल्दैनन् । सबै टावरमा विद्युतको लाइन पुराउन आवश्यक छ । टेलिकमै अप्टीकल फाइबर लाइन विस्तार नहुन्जेलसम्म वल्डलिंकको फाइबर लिजमा लिएर सञ्चालन गर्ने तयारी छ । जुम्लाको इन्टरनेट र टेलिफोन सेवालाई  गुणस्तरीय बनाउन टेलिकमदेखि स्थानीय तह गम्भीर हुन जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप