सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्ध महिला मृत्यु प्रकरणले वीरेन्द्रनगर दिनभर अशान्त

मृतकका छोरा आएपछि मात्रै थप छलफल हुने
सोमबार, ०१ फागुन २०७९, १९ : ४५
सोमबार, ०१ फागुन २०७९

सुर्खेत । सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अशान्त बन्यो । 

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोट छेडागाड नगरपालिका–६ की नदी रावतका आफन्तद्वारा विभिन्न माग राख्दै बिहानैदेखि आन्दोलन चर्किएपछि वीरेन्द्रनगर अशान्तमय बनेको हो । 

अन्दाजी ६६ वर्षीया नदीलाई आइतबार दिउँसो साढे २ बजेतिर वीरेन्द्रनगरको सिटी बसपार्कमा कर्णाली प्रदेश पंचकोशी प्रा.लि.को बा.४ ख. ८०६१ नम्बरको बसले ठक्कर दिएको थियो ।

जेब्रा क्रसिङ् गर्दै गरेकी नदीलाई बसले ठक्कर दिएपछि घाइते भएकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइएपनि उनको मृत्यु भइसकेको थियो । नदी वीरेन्द्रनगर नगरपालिका–११ बामे खोलामा बस्दै आएकी थिइन् । 

प्रहरीले बसलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेका थिए । फरार बस चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ । चालक दैलेख भैरवी गाउँपालिका वडा नं। ५ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने ३३ वर्षीय खगेन्द्र प्रसाद रिजाल रहेका छन् । 

मृतक नदीको बेलुका चार बजे पहिचान खुलेपछि  आफन्तहरू अस्पताल पुगेका थिए  । उनका आफन्तले आइतबार साँझ नै आन्दोलन गर्ने योजना बनाएका थिए । तर अबेर भइसकेकाले सोमबार बिहानै राजधानी वीरेन्द्रनगरमा प्रमुख चोक मंगलगढी, बसपार्क, बुलबुले लगायतका ठाउँमा आन्दोलन सुरु गरेका थिए । ठाउँ–ठाउँमा टायर बालेर सडक अवरुद्ध गरेपछि यातायातका साधनहरु समेत ठप्प भए ।

आन्दोलनमा एक पत्रकार र एक प्रहरी घाइते 

आन्दोलन त्रिपक्षीय भएको थियो । एकातिर मृतक नदीका आफन्तले ‘थाह नै नदिएर लास किन उठाइयो ?’ भन्दै क्षतिपूर्तिको माग गरेर आन्दोलन गरिरहेका थिए भने अर्कोतिर बसपार्क समिति भित्रका केही युवाहरू अराजक शैलीमा उत्रिएका थिए । त्यसपछि प्रहरीलाई आन्दोलन साम्य पार्न समेत हम्मे–हम्मे परेको थियो ।

आन्दोलनका क्रममा बिहान १० बजेतिर स्थानीय पत्रकार बलबहादुर थापा घाइते भए । उनलाई बसपार्क समितिका युवाहरूले काँचको बोतलले टाउकोमा हानेका थिए । पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दालनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए । तर उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि युवाहरूले उनीमाथि आक्रमण गरेका हुन् । 

आन्दोलन झन्–झन् उग्र बन्दै गएपछि १३० जना प्रहरी तैनाथ गराइएको थियो । अझै आन्दोलन कम नभएपछि  सशस्त्र प्रहरीलाई पनि खटाइएको थियो ।  

दिउसो १ बजेतिर आन्दोलनकारीको ढुङ्गा प्रहारबाट एक जना प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले रातोपाटीलाई जानकारी दिए । 

मंगलगढी चोकमा दोहोरो भिडन्त भएपछि आन्दोलनकारीले ढुङ्गा प्रहार गरेका थिए ।  आन्दोलन थप उग्र बनेपछि प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

आन्दोलन स्थगित, छोरा आएपछि मात्रै छलफल 

प्रहरीका अनुसार मृतक नदीका एक मात्र छोरा रोजगारीको शिलसिलामा भारतमा छन् । उनका श्रीमानको मृत्यु भइसकेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले मृतक नदीका छोरा आएपछि मात्रै छलफल गर्नेगरी आन्दोलन स्थगित भएको छ । 

‘छोरा भारत गएको बुझियो, आधिकारी छोरा मंगलबार बिहान मात्रै वीरेन्द्रनगर पुग्ने भएकाले आन्दोलन रोकिएको छ,’ डीएसपी शाहीले रातोपाटीसँग भने,‘ अहिले आन्दोलन, चक्का जाम केही पनि नगर्ने सहमति भएको छ । भोलि बिहान ८ बजे बसेर शव बुझ्ने गरी छलफल हुने छ । लगभग यो निर्णय सरह नै हो ।’

मृतक नदीको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप