मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भः भ्यालेन्टाइन्स–डे

फिल्म क्षेत्रका १२ जोडी : जसले प्रेमलाई पूर्णता दिए

मङ्गलबार, ०२ फागुन २०७९, १४ : २९
मङ्गलबार, ०२ फागुन २०७९

आज १४ फेब्रुअरी, प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स–डे । संसार भरिका प्रेमिल जोडीले आजको दिनलाई उत्सवको रुपमा मनाउने गर्छन् । 

नेपाली कलाकारिता क्षेत्रमा पनि थुप्रै प्रेमिल जोडी छन्, जसले प्रेम र विवाहका लागि एउटै फिल्डका सहकर्मी रोजेका छन् । प्रेम दिवसको अवसर पारेर आज हामी नेपाली कलाक्षेत्रका १२ जोडीको चर्चा गर्दैछौ । जसले प्रेमलाई विवाहमा परिणत गरे ।

निखिल उप्रेती–सञ्चिता लुइँटेल

अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलले प्रेम विवाह गरेका हुन् । चलचित्र ‘माया त माया हो’मा सँगै काम गर्दा सुरु भएको यो जोडीले केही समयपछि भागेर विवाह गरेका थिए । त्यसो त दुबैको प्रेम विवाह दोस्रो विवाह थियो । 

निखिलले सञ्चिता भन्दा पहिले कोपिलासँग विवाह गरेका थिए भने सञ्चिताको पनि आकाश शाहसँग विवाह भएको थियो । 

निखिल र सञ्चिताको अहिले एक छोरा र एक छोरी छन् ।

प्रियंका कार्की–आयुष्मान देशराज जोशी

फिल्म क्षेत्रका प्रेमी जोडीको नाम लिनुपर्दा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको नाम छुटाउन मिल्दैन । 

अभिनयको सिलसिलामा प्रेममा परेको यो जोडीले पनि प्रेम विवाह गरेका थिए । केही फिल्ममा समेत जोडीकै रुपमा अभिनय गरेका उनीहरुको अहिले एउटी छोरी आयंका छिन् । 

पछिल्लो समय उनीहरु युट्युवमा सक्रिय छन् । दुबैको अभिनय रहेको पछिल्लो फिल्म ‘चि मुसी चि’ केही अगाडि प्रदर्शनमा आएको थियो । फिल्मले ब्यवसायिक सफलता भने हात पार्न सकेन ।

मेलिना मानन्धर–मुकेश ढकाल

अभिनेत्री मेलिना मानन्धर र अभिनेता मुकेश ढकालले पनि प्रेम विवाह गरेका हुन् । नेवार समुदायकी मेलिना र बाहुन समुदायका मुकेशबीच अभिनय सिलासिलामा प्रेम बसेको थियो । एक दशक बढी समयको प्रेम उनीहरुले विवाहमा परिणत गरेका थिए । उनीहरुको अहिले एक सन्तान छ । 

वर्षा राउत–संजोग कोइराला

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले लामो समय प्रेममा रहेर विवाह गरेका हुन् । प्रेमका कारण सधैँ चर्चामा रहने यो जोडीले एकसाथ फिल्ममा समेत अभिनय गरेका छन् । 

पछिल्लो समय यो जोडीबीच ब्रेकअप हुन लागेको गसिप खुबै आउने गरेको छ । उनीहरुले भने यसलाई फगत हल्ला बताउँदै आएका छन् । 

नीता ढुंगाना–हरिहर अधिकारी

अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतिष हरिहर अधिकारीले केही अगाडि मात्र प्रेम विवाह गरेका छन् । केही वर्षको डेटपछि प्रेमलाई विवाहमा परिणत गरेका उनीहरु अहिले मिलेर फिल्म निर्माण गरिरहेका छन् । 

नीता यसअघि आमेश भण्डारीसँग प्रेममा थिइन् । आमेशसँग छुट्टिएपछि उनी हरिहरसँग नजिकिएकी हुन् ।

दिवाकर भट्टराई–दीपिका प्रसाई

निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईको ‘ऐश्वर्या’ फिल्मको छायांकन सेटमा प्रेम टुसाएको थियो । 

केही वर्षको प्रेमपछि विवाहमा परिणत गरेका दुबैको सन्तान भने भएको छैन । पछिल्लो समय फिल्मी गतिविधि भन्दा पनि यो जोडी घुमघाम गरेर वैवाहिक जीवन इन्जोय गरिरहेका छन् ।

लक्ष्मी बर्देेवा र जीवन भट्टराई

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराई पनि कलाक्षेत्रका सफल प्रेमी जोडीको रुपमा चिनिन्छन् । केही समयको प्रेमपछि विवाह गरेका यो जोडी फिल्म, म्युजिक भिडियो, नाटक लगायत अभिनयमा सक्रिय छ । एक नाटक अभिनयको सिलसिलामा उनीहरुबीच प्रेम टुसाएको थियो ।

सुदर्शन थापा र सुप्रिया कटुवाल

निर्देशक सुदर्शन थापा र अभिनेत्री सुप्रिया कटुवालले पनि एक वर्षको प्रेम विवाहमा परिणत गरेका थिए । प्रेमको खबर सार्वजनिक भएको केही समयमै यी दुईले विवाह गरे । यी दुबै छिट्टै आमाबुवा बन्दैछन् । 

सुदर्शन नेपाली फिल्मका सफल निर्देशक हुन् भने सुप्रियाको मोडल, अभिनेत्री र समाचार वाचकको परिचय छ ।

सीताराम कट्टेल र कुञ्जना घिमिरे

अभिनेता सीताराम कट्टेल र अभिनेत्री कुञ्जना घिमिरे एक समय कलाक्षेत्रका चर्चित जोडी थिए । टेलिसिरियल ‘मेरी बास्सै’ बाट अभिनयमा देखिएका यो जोडीले फिचर फिल्ममा समेत अभिनय गरिसकेका छन् । 

यी दुबैको प्रेम ‘मेरी बास्सै’ सिरियलमा अभिनयको सिलसिलामा बसेको थियो । २०६५ सालमा बिहे गरेका यो जोडी पछिल्लो समय समाजसेवामा सक्रिय छ । यी दुबैको अहिले एक छोरी छिन् ।

अनुप बराल–दीया मास्के 

अभिनेता अनुप बराल र अभिनेत्री दीया मास्केले पनि प्रेम विवाह गरेका हुन् । एकै क्षेत्रमा कार्यरत यो जोडीले फिल्म तथा नाटकसमेत सँगसँगै अभिनय गरेका छन् । दीया अनुपकी विद्यार्थी समेत हुन् । कलाकारिताको सिलसिलामा दुबैको एक अर्काेसँग प्रेम बसेको थियो ।

शर्मिला मल्ल–कृष्ण मल्ल

प्रेम जोडीको नाम लिदा अभिनेता कृष्ण मल्ल र अभिनेत्री शर्मिला मल्लको नाम छुटाउन मिल्दैन । शर्मिला र कृष्णले २०४१ सालमा प्रेम विवाह गरेका थिए । 

नाटक र अभिनयको सिलसिलामा एक–अर्कासँग नजिकिएका उनीहरु बीचको प्रेम स्टेजमै मौलाएको थियो । स्टेजमा दुबैको भूमिका रहेको नाटक जति जति प्रदर्शन हुँदै गए, प्रेम पनि झाँगिदै गयो । 

फिल्म ‘कान्छी’मा अभिनयपछि भने दुबैले विवाह गरे । संयोग पनि कस्तो रह्यो भने ‘भ्यालेन्टाइन्स सप्ताह’ भित्र अर्थात् १३ फेब्रुअरीमा उनीहरुको विवाह भएको थियो । ‘अरुका लागि भ्यालेन्टाइन्स दिवस  फेब्रुअरी १४ मा होला । हामीले भने सधैँ १३ फेब्रुअरीमै प्रणय दिवस मनाउने गरेका छौँ,’ दुबैले भन्ने शब्द हुन् यी ।

सरिता लामिछाने–ऋषि लामिछाने

अभिनेत्री सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेले पनि प्रेम विवाह गरेका हुन् । अध्ययन र कलाकारिताको सिलसिलामा नजिकिएका उनीहरुले परिवारिक असहजताका कारण भागेर विवाह गरेका थिए । 

विवाहपछि पनि दुबै अभिनयमा सक्रिय छन् । ऋषि फिल्म तथा सिरियल निर्देशनमा छन् भने सरिता फिल्म तथा सिरियल अभिनय गर्दै आएकी छन् । दुबैको एक छोरी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप