शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रादेशिक अस्पतालको हरिबिजोग

आफैँ बिरामी छ धौलागिरि प्रादेशिक अस्पताल

दैनिक ओपिडीमा ३ सय बिरामी, डाक्टर जम्मा २ जना मात्रै
बिहीबार, ०४ फागुन २०७९, १४ : ४९
बिहीबार, ०४ फागुन २०७९

पोखरा । बागलुङको धौलागिरि प्रादेशिक अस्पताल आफै विरामी छ । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा घन्टौंको यात्रा गरेर पोखरा आएर उपचार गर्नुपर्ने अवस्था छ । जनशक्ति अभाव, भौतिक संरचनाको कमी, कमजोर प्रशासन जस्ता रोगहरूले अस्पताल आफैं थलिएको हो । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पताललाई ५० बेडको रुपमा स्वीकृत गरे पनि आवश्यकता अनुसारको दरबन्दी पु¥याउन नसक्दा सेवा लथालिंग छ ।

संघीय सरकारले अधिकार नदिँदा आफूहरूले अस्पताललाई जनशक्ति नदिन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी बताउँछन् । मुख्यमन्त्री अधिकारीले भने, ‘म मुख्यमन्त्री भएपछि बागलुङ पुगे । तर, त्यहाँ बालरोग विशेषज्ञ र गाइनाकोलोजिस्ट जस्ता डाक्टर नै रहेनछन् । ’

मुख्यमन्त्री अधिकारीले भनेजस्तो धौलागिरि अस्पतालमा चिकित्सक नहुँदा जिल्ला छाडेर पोखरा जानुपर्ने अवस्था छ । यसले विरामीको खर्च बढाएको छ । अस्पतालमा प्रसूतिदेखि सामान्य जनरल फिजिसियन अभावले पनि धेरै सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा अमित ढुंगानाले बताए । उनका अनुसार अस्पतालमा मेसुबाहेक १६ विशेषज्ञ डाक्टर हुनुपर्नेमा २ जना मात्र छन् । 

‘दरबन्दीअनुसार विशेषज्ञ डाक्टरको संख्या १६ हुनुपर्ने हो । तर अहिले २ जना मात्र छौैं,’ मेसु डा ढुंगानाले भने, ‘भएका दुई जना पनि प्रशासनिक कामसमेत हेर्नुपर्ने भएकाले कामको लोड अधिक छ ।’ 
अस्पतालमा मेडिकल अधिकृतको दरबन्दी ६ जना रहेकोमा हाल १ जना मात्र डाक्टर छन् । तीन जना डाक्टर अध्ययन बिदा र दुई जना रिक्त रहेको मेसु ढुंगानाले बताए । 

दरबन्दीमा आएका दुई डाक्टर पनि गण्डकी प्रदेश सरकारको कोटाबाट पुगेका हुन् । अस्पतालमा स्त्रीरोग विशेषज्ञ मात्र नभई कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक, बालरोग विशेषज्ञ, रेडियोलोजिस्ट र नाक–कान–घाँटी विशेषज्ञ पनि छैनन् । 
‘डेन्टल सर्जरीतर्फ एकजनाको दरबन्दी भए पनि अध्ययन बिदामा हुनुहुन्छ । प्रशासन अधिकृततर्फ दुई जनाको दरबन्दीमा दुवै खाली छ,’ डा ढुंगानाले भने ।

डाक्टर मात्र हैन, अस्पतालमा स्टाफ नर्सको पनि दरबन्दीअनुसार भर्ना हुन सकेको छैन । स्टाफ नर्सको १८ जना दरबन्दी रहेकोमा १३ जना मात्र छन् । ५० बेड क्षमताको स्वीकृत पाएको अस्पतालमा हाल १ सय २० बेड राखेर बिरामीको उपचार भइरहेको छ । तर, जनशक्ति छैनन् । 

प्रदेश सरकारले २ सय बेडको अस्पताल प्रस्ताव गरेको थियो । अस्पतालमा जनशक्ति पु¥याउन नसक्दा ५० बेडको अस्पतालले पनि जनताले चाहे अनुसारको दिन नसकेको मेसु ढुंगाना बताउँछन् । अस्पतालको खास दरबन्दी ७८ जनाको हो । तर, अस्पतालमा चिकित्सक र कर्मचारी छैनन् । ‘अस्पतालमा दैनिक ओपिडीमा ३ सय बिरामी र इमर्जेन्सी ५० देखि १० जना बिरामी हुन्छन्,’ अस्पताल व्यवस्थापन समितिका सदस्य गगनबहादुर पुन मगर भन्छन्, ‘अत्यावश्यक सेवा दिन नसक्दा सर्वसाधारणको अस्पताललाई हेर्ने दृष्टिकोण नै बद्लिएको छ ।’ 

छात्रवृत्तिमा भए पनि डाक्टर खटाइदिए सहज हुने बताउँदै मेसु ढुंगाना भन्छन्, ‘अहिलेको समस्या इमर्जेन्सी सेवा पनि दिन नसकेको अवस्था हो । सेवा दिन नसक्दा बिरामीहरू यहाँ भन्दा सोझै पोखरा जान थालेका छन् ।’ 
dh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप