सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रसुवा भन्सारका तत्कालीन अधिकृत केसीविरुद्ध मुद्दा दायर

बिहीबार, ०४ फागुन २०७९, २० : ५१
बिहीबार, ०४ फागुन २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले पदीय दुरुपयोग गरी २ करोड १० लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा बिगो बमोजिमको जरिवाना, र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना र कैद तथा अवैध सम्पत्तिबाट बढे÷बढाइएको सम्पत्ति जफत गर्न समेत मागदाबी लिएको छ ।

अयोगेले केसीकी पत्नी सुशीला पण्डितका नाममा घरजग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चको स्रोत पुष्टि हुन नसकेको जनाएको छ । लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्तिलाई बिगो र त्यसबाट बढेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पण्डितलाई प्रतिवादी बनाएको हो । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको बताए । आयोगले केसीले २०४३ साउन १ बाट सरकारी सेवा प्रवेश गरेका केसीमाथि २०७८ असार ३० सम्मको ३५ वर्षमा आयआर्जन गरेको सम्पत्ति तथा खर्च विवरणमाथि अनुसन्धान गरेको थियो ।

‘सरकारी सेवा प्रवेश गरेयताको ३५ वर्षमा निजको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैतृक घर बहाल आय, कृषि आय, अंशबन्डाबाट प्राप्त नगद, बीमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकम समेत गरी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा देखिन्छ, त्यो अश्वभाविक हो। त्यसैलै छानबिनको दायरामा ल्याइएको हो,’ प्रवक्ता भण्डारीले भने । तर, सोही अवधिमा उनले गरेको खर्च तथा लगानी आयभन्दा २ करोड १० लाख रुपैयाँभन्दा बढी देखिएको दाबी भण्डारीको छ ।

केसीको सम्पूर्ण व्यय (खर्च तथा लगानी)मा घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, संगोलमा रहँदा नै जग्गा खरिद गर्दा भएको निजको भागमा पर्न आउने खर्च, छोरा/छोरीहरुको अध्ययन खर्च, सञ्चयकोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैत्रिक घर बहाल कर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, छोरीहरूलाई दिएको रकम, शेयर खरिदमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च, निजी भ्रमणमा भएको खर्च, औषधि उपचार खर्च, सुन खरिदसमेत गर्दा भएको खर्च र बैंक मौज्दातसमेत गरी ५ करोड ६१ लाख २६ हजार ५ सय २ रुपैयाँ ७३ पैसा देखिएको आयोगको अनुसन्धानमा छ ।

स्रोत नखुलेको सम्पत्ति केसीले सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । आयोगका प्रवक्ता भण्डारीले भने,‘निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँ ५१ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।’

आयोगले केसीविरुद्ध अकूत सम्पत्तिबाट बढे बढाइएको सबै चलअचल सम्पत्ति जफतको मागदाबी समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप