सङ्खुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रूख कटान गरियो
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो । विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि सङ्खुवासभाका १८ सामुदायिक वनका १४ हजार छ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख डा.इन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका छ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका मात्रै पाँच हजार चार सय रूख काटिएका डिभिजन वन कार्यालयले जनाएको छ । अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधक्षेत्र र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा एक सय २३ दशमलव २२ हेक्टरका रूख काटिसकिएका निर्माण कम्पनी सतलजले जनाएको छ । अरुण तेस्रो परियोजनाले सङ्खुवासभामा रहेको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ हेक्टर वन प्रयोग गरेको छ ।
कटान भएका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताले प्रयोग गर्न पाउने व्यवस्था छ । अरुण तेस्रो आयोजनास्थल बाँध क्षेत्र र विद्युत् गृह स्थल लगिने ३३ केभी प्रसारण लाइनका लागि थप नौ सय ९४ रुख कटान गरिएको छ । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था छ ।
प्रसारण लाइन विस्तारका लागि करिब दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रुख काट्ने सम्झौता भएको थियो । जलविद्युत् परियोजनाले रुख कटान गर्ने वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक