शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

अरुण चौधरी आज कैलाली कारागारबाट रिहा हुँदै, पुनः संसद् छिर्न पाउलान् ?

आइतबार, ०७ फागुन २०७९, ०९ : १५
आइतबार, ०७ फागुन २०७९

धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी आज रिहा हुँदै छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट हुन लागेका हुन् । उनीसहित कैलालीबाट चार जना रिहा हुने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले १० बजेपछि कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने जानकारी दिए । आफूले रिहा सम्बन्धी पत्र प्राप्त गरिसकेको बताउँदै प्रजिअ कटेलले आज रिहा गरिने उल्लेख गरे ।

जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भए पनि चार जनाको मात्रै सजाय माफी भएको छ ।

थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच पक्राउ परे लगत्तै प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका चौधरीको पुनः प्रतिनिधि सभा सदस्यको पद ब्युँतिन्छ कि, ब्युँतिन्न भन्ने सवाल खडा भएको छ ।

चौधरीका कानुन व्यवसायी समेत रहेका अधिवक्ता गम्भीर सिंह ऐरले रिहा लगत्तै उनी निर्वाध रुपमा सो पदमा बहाल हुने बताए । उच्च अदालत दिपायलमा सुनुवाइको प्रक्रियामा रहेको उनको मुद्दा स्वतः खारेज भएको अधिवक्ता ऐरको भनाइ छ ।

उनले आफूमाथि लागेको मुद्दा नै त्रुटिपूर्ण रहेको भन्दै बदरको माग गर्दै उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । तर उनको सजाय माफीपछि उनले आफूमाथि लागेको कसुर स्वीकार गरेको ठहरिएको छ । उनले जिल्ला अदालत कैलालीले सजायसहित ८ लाख १८ हजार ४२३ रुपैयाँ बिगोको तीन भागको एक भाग तिरिसकेकोले स्वीकार गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप