आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
चलचित्र

नेपाली फिल्मका ५ वर्ष : १७७  फिल्म फ्लप, २ अर्ब बढी स्वाहा

आइतबार, ०७ फागुन २०७९, १० : ३१
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । विसं २००८ सालमा नेपाली भाषाको पहिलो फिल्म ‘सत्य हरिश्चन्द्र’ बनेको थियो ।  तर नेपालको पहिलो फिल्म २०२१ असोज २२ मा प्रदर्शनमा आएको ‘आमा’ लाई मानिन्छ ।

‘आमा’लाई नै पहिलो फिल्म मान्ने हो भने करिब ६० वर्ष पुगेको नेपाली फिल्मले निर्माणको गतिले फड्को मारे पनि पछिल्लो समय व्यावसायिक घाटा भने अत्यासलाग्दो छ । दुई दशक यताका तथ्याङ्क केलाउँदा असफल फिल्मको सूची लामो छ ।  

फिल्म निर्माणमा भित्रिएको डिजिटल प्रविधिले फिल्म निर्माणमा राम्रो फड्को मारेको छ । कलाकारको पनि पाश्रिमिक राम्रो बृद्धी भएको छ । बढ्न नसकेको भनेको फिल्मको व्यवसाय मात्र हो । विगत ५ वर्षको फिल्म रिलिजको तथ्याङ्क हेर्दा त अवस्था थप भयावह देखिन्छ । ५ वर्षको अवधिमा रिलिज भएका फिल्म हेर्दा २० वटा हाराहारीका फिल्मले लगानी सुरक्षित गर्दा १७७ बढी फिल्म फ्लप भएको विभिन्न स्रोतबाट प्राप्त भएको तथ्याङ्कले देखाउँछ । २० मध्ये केही फिल्मले त राम्रो व्यवसाय गरेको पनि छ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले एक सय ७७ फिल्म फ्लप हुँदा सरदरमा करिब २ अर्ब बढी लगानी डुबेको बताए ।

२०७५ फिल्म ९० फ्लप

नेपाली फिल्मका लागि कालो वर्ष मानिन्छ २०७५ । ‘स्वर्ग मेरो गाउँ’देखि फिल्म रिलिज सुरु भएको यो वर्ष ‘यात्रा: द म्युजिकल भ्लग’ र ‘ए मेरो हजुर ३’ मा सकिएको छ । यो अवधिमा करिब ९६ फिल्म रिलिज भएको देखिन्छ ।

९६ फिल्म रिलिज भए पनि यो वर्ष लगानी सुरक्षित गर्ने फिल्म ६ छन् । जसमा ‘छक्का पन्जा ३’, ‘नाइँ नभन्नु ल ५’, ‘जय भोले’, ‘रामकहानी’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘प्रसाद’हुन् । यी मध्य ‘छक्का पन्जा ३’ ले १६ करोड भन्दा बढी कमाएको थियो, भने अन्य ५ फिल्मले जिनतिन लगानी सुरक्षित गर्न सफल भएको मानिन्छ । ९० फिल्मको लगानी भने बालुवामा पानी भयो ।

यो वर्ष वैशाख ‘स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, ह्याप्पी डेज, डमरुको डन्डिबियो, भोर, लम्फू, हिरोज’, जेठमा ‘हैरान, सुनकेशरी, अफिसर, कोशेली, अमेरिकन ब्वाइज, बेबी आई लभ यू, चङ्गा, मट्टीमाला, असारमा तिमी हुन्छौ जहाँ जहाँ, ए सोल्टिनी, चोखो माया, बोबी, बाबु कान्छा, विरंगना, यो पागल मन’, साउनमा भैरे, पण्डित बाजेको लौरी, चक्कर, सुकुल गुण्डा, रोमियो एन्ड मुना, ची मुसी चु, कायरा, झमक बहादुर, कहीँ कतै, टीनएज, पिरिम पर्‍या छन्, भदौमा जय शम्भु, ब्ल्याक, मिस्टर भर्जिन, नाइँ नभन्नु ल ५, मेरी मामु, रामकहानी, रोज, साली कसको भेनाको रिलिज भए ।

त्यस्तै असोजमा इन्टु मिन्टु लण्डनमा, बाँध मायाले, धूम ३, कथा काठमाडौँ, अनुराग, निर्जला, छक्का पन्जा ३, जय भोले, कात्तिकमा चंगाचेट, मालिका, गुनगुन, दैलो, मंसिरमा ड्रीम गर्ल, कोइला, शान्ती, प्रसाद, सुश्री सम्पत्ति, डोली, कथा ७२, पुस गोल, जय श्री दाम, जे सुकै होस्, चौका दाउ, भिलेन, माघमा ‘गरुड पुराण, आरोप, बैना, गोपी, रणवीर, सय कडा दश, समर लभ, फागुनमा बुलबुल, ‘जादुगर २, जोकर, रुमालै छ चिनो, फिंगर प्रिन्ट, क्याप्टेन, दि ब्रेकअप, खाग, अदालत’ र चैत्रमा जानी नजानी, दि म्यान फ्रम काठमाडौँ, पुरानो बुलेट, कागजपत्र, प्रेमलिला, साइँली, शुभ लभ, लभ स्टेशन रिलिज भए ।

करिब एक अर्ब ५० करोड भन्दा बढी लगानी भएको यो वर्ष ‘छक्का पन्जा ३’ लगायतका ६ नाफामा रहेका फिल्मले करिब २५ करोड मात्र लगानी फिर्ता गरेको देखिन्छ ।

त्यो हिसाबले भन्दा यो वर्ष करिब एक अर्ब २५ करोड डुबेको अनुमान गर्न सकिने निर्माता, प्रदर्शन अशोक शर्माले बताउँछन् ।

२०७६ मा ५४ फिल्ममा

फिल्म रिलिजको हिसाबले २०७५ भन्दा ०७६ निकै कम देखियो । यो वर्ष ५४ वटा फिल्म रिलिज भए । दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’, प्रदीप भट्टराई निर्देशित ‘जात्रैजात्रा’ र रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ ले राम्रो व्यवसाय गर्‍यो ।

त्यस्तै हजार जुनीसम्म, दाल भात तरकारी, पोइ पर्‍यो काले, साङ्ला र रातो टीका निधारमाले लगानी उठाएको बताइन्छ । ५४ फिल्म रिलिज भएको यो वर्ष ८ फिल्मले लगानी उठाउँदा ४६ फिल्मको लगानी डुब्यो ।

यो वर्ष फ्लप भएको ५४ फिल्ममा आमा, सेन्टी भाइरस, कालो वर्ष, दाल भात तरकारी, जात्रै जात्रा, वीरविक्रम, कप्स, कुम्भकर्ण, काउसो, रोज, प्रेम दिवस र झट्का, आप्पा, कीर्तिपुर र सानो मन, घर, बदला, एकलब्य, सुपर गोर्खे, न यता न उता, रातो गलबन्दी, साइनो, रे, काँचुली, हजार जुनी, जाइरा, मारुनी, सोच, पासवर्ड, हिरो नम्बर १ कबड्डी कबड्डी कबड्डी, रातो टीका निधारमा, काले दाइ, शिवम् र छ माया छपक्कै, रानी लक्ष्मी, पोइ पर्‍यो काले, बादशाह जुट, जीवन काँडा कि फूल, घामड शेरे, मि. नेपाली, सम्झिराख है, चि मुसी चि, सरौंतो, लभ यु हमेशा, मखमली मखमली, माछा माछा, माया पिरिम, १२ सत्ताइस, दी कर्मा, सेल्फी किङ, साङ्लो, माछा माछा लगायत रहेका छन् ।

५४ फिल्ममा करिब ७० करोड बढी लगानी भएको देखिन्छ । ती मध्य २० सुरक्षित भएको भए पनि ५० करोड डुबेको निर्माता वितरक सुनिल मानन्धरको धारणा छ ।

२०७७ रिलिज शून्य

विश्वमा फैलिएको कोरोना महामारीका कारण वर्ष २०७७ फिल्म रिलिजका हिसाबले सुनसान रह्यो । २०७६ चैत्र ११ गतेदेखि लागू गरेको लकडाउन र त्यसपछिको विभिन्न परिस्थितिका कारण यो वर्ष वर्ष भरिनै फिल्म रिलिज हुन सकेन ।

करिब एक अर्ब डुब्दै आएको फिल्म क्षेत्रका लागि यो वर्ष लाभदायक मान्नु पर्दछ । किनभने यो वर्ष कुनै पनि फिल्म रिलिज नहुँदा लगानी पनि डुबेन ।

२०७८ मा १५ करोड डुब्यो

वर्ष २०७८ नेपाली मनोरञ्जन क्षेत्रका लागि लाभदायक सिद्ध हुन सकेन । कोरोनाले फिल्म निर्माण, छायाङ्कनमा र रिलिजमा समेत असर रह्यो । २०७८ मा नेपाली फिल्मले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन । नेपाली बक्स अफिसमा कोरोनाले डराएको दर्शकलाई हलसम्म फर्काउने काम बलिउड फिल्मले गर्‍यो । वर्षको सुरुमै ठप्प हुन पुगेको फिल्म क्षेत्र मध्यान्तरमा आएर चलायमान त बन्यो ।

यो वर्ष असोजबाट नेपाली फिल्मको प्रदर्शन सुरुवात भयो । असोजमा ‘डाँडाको वरपीपल’ देखि चैत्र २५मा आएको ‘मैले आइ लभ यू भन्न नै सकिन’सम्म आउँदा १३ वटा नेपाली फिल्म प्रदर्शनमा आए । जसमा ‘डाँडाको वरपीपल’, ‘धूम ४’, ‘ओभरडोज’ ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट–३’, ‘म यस्तो गीत गाउँछु–२’, ‘लप्पन छप्पन–२’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ रहेका छन् । यी मध्य ‘कठपुतली’ र ‘म यस्तो गीत गाउँछु’ ले लगानीको केही प्रतिशत सुरक्षित गर्न सके पनि अन्य फिल्मको लगानी सबै डुब्यो । १३ फिल्मले करिब १५ करोड डुबाएको निर्माता तथा वितरक गोपाल कायस्थ बताउँछन् ।

२०७९ मा ६ वटा सफल, ३६ करोड डुब्यो

कोरोनापछि अझै नेपाली फिल्मको व्यवसाय राम्रो फस्टाउन सकेको देखिँदैन । वैशाखदेखि माघसम्म १० महिनामा करिब २७ फिल्म फिल्म रिलिज भए । रिलिज भएका मध्य लगानी सुरक्षित गर्न भने  ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिँगे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’ र ‘महापुरुष’ गरेर ६ फिल्म सफल भएका छन् ।

गत वैशाखदेखि माघ अन्तिमसम्म ‘ए मेरो हजुर ४’, ‘मन्त्र’, ‘षट्कोण’, ‘लक्का जवान’, ‘कबड्डी ४ः द फाइनल म्याच’, ‘कौसीद’, ‘चिसो मान्छे’, ‘सिल्ली फो’, ‘कृष्ण–लीला’, ‘लाखे’, ‘झिँगे दाउ’, ‘बाबरी’, ‘प्रेमगञ्ज’, ‘द सिक्रेट अफ राधा’, ‘प्रकाश’, ‘२ नम्बरी’, ‘डेसान’, ‘सोल अफ द कमाण्डो’, ‘सरी मम’, ‘डिसेम्बर फल्स’, ‘ची मुसी ची’, ‘गुञ्जन’, ‘तिम्रो मेरो साथ’, ‘लुङ्गा’ ,‘मनसँग मन’ र ‘आँधितुफान २’ लगायत फिल्म रिलिज भए । यो वर्ष अहिलेसम्म रिलिज भएका फिल्म हेर्दा लगानी करिब ३५ करोड डुबेको अनुमान गर्न सकिने निर्माता वितरक सुनिल मानन्धर बताउँछन् ।

के भन्छन् समीक्षक ?

सामीप्य तिमिल्सेना

उपाध्यक्ष, समीक्षक समाज नेपाल

नेपालमा निर्माण भएका धेरै फिल्म डुबेका छन् । फिल्मको लगानी जति नै डुबे पनि निर्माण हुने क्रम भने बढ्दो छ । त्यसका केही कारण छन् । ती मध्य पहिलो कारण यो क्षेत्रको ग्ल्यामर प्रतिको आकर्षण हो । फिल्ममा आउने मानिसले छिट्टै र सजिलै मिडियामा मनग्य चर्चा कमाउन सक्छ । जग्गा दलाली होस् वा अन्य कुनै माध्यमबाट पैसा कमायो । अब नाम र चर्चा चाहिएको छ भने सबैले थाहा पाउने गरेर, छिटो चर्चा हुने माध्यम कुन हो भन्दा फिल्म निर्माण हो । त्यसैले पैसा कमाउन भन्दा पनि नाम र चर्चाको लागि फिल्म निर्माणमा आउँछ । पैसा कमाए पनि नाम र सन्तुष्टि भएन । कसैले चिन्दैन । चिनिनका लागि सजिलो माध्यम भनेको फिल्म निर्माण भयो ।

दोस्रो कारण अहिले जति पनि फिल्म निर्माण भएको छ । प्राय सबै नयाँ निर्माताले बनाएका छन् । उनीहरूलाई आफ्नो कथा भन्नुपरेको हुन्छ । त्यो सारा मानिसलाई मनपर्छ भन्ने भ्रम पनि हुन्छ । आफ्नो कथामा लगानी आफै गरेर भित्रिएका छन् । अहिले बनेको धेरै फिल्मका कथामा निर्माताकै नाम पनि देख्न सकिन्छ । आफूलाई मनपरेका कथामा फिल्म आफै बनाउन पनि निर्माता भित्रिएका छन् ।

कतिपय मानिसहरू फिल्म क्षेत्रको मानिससँग ठोक्किँदा उनीहरूले फिल्मले यति कमाएको, सबैको हाइहाइ भएको लगायत चलचित्रको अनेक आकर्षण र आम्दानीको डाटा समेत देखाउँछन् । ६/७ महिनामा करोडौँ कमाउने देखाउँछन् । त्यसले गर्दा पनि मानिसहरू यसतर्फ आकर्षित भएर लगानी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप