बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

विद्यार्थी सङ्गठनहरू स्ववियु निर्वाचनमा एक्लै भिड्न किन डराउँदैछन् ?

मङ्गलबार, ०९ फागुन २०७९, ०७ : ५१
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्दैछ । त्यसका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । 

त्रिविले निर्वाचनको तयारी थालेको छ भने विद्यार्थी सङ्गठनहरूले समेत तयारीलाई तीव्रता दिएका छन् । उनीहरूले निर्वाचन घोषणापत्र लेख्नेदेखि लिएर क्याम्पसहरूमा आफ्नो अवस्था बुझ्ने सम्मको काम थालेका छन् । 

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थी सङ्गठनहरू एक्ला एक्लै भिड्न भने डराइरहेका छन् । उनीहरूले आवश्यकताका आधारमा तालमेल गर्ने रणनीति बनाएका छन् । यसअघि मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरू गठबन्धन गरेर निर्वाचन लडेका थिए । विद्यार्थी सङ्गठनहरू समेत तालमेल गरेर अगाडि बढ्ने मनसाय बनाइरहेका छन् । 

नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले तालमेल नगरी निर्वाचन एक्लै भिड्ने निर्णय गरेको थियो । तर, नेताहरू आवश्यकताको आधारमा तालमेल गर्ने मनस्थितिमा पुगेका छन् । 

त्यस्तै गरी नेपाल विद्यार्थी सङ्घ पनि गठबन्धन नगर्ने तर, तालमेल गरेर अगाडि बढ्ने मनसायमा छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गठबन्धन नगर्ने तर, आवश्यकताको आधारमा तालमेल गर्न सकिने बताए । विगतमा नेविसंघले जितिरहेको ठाउँमा पनि अहिले सङ्गठनको अवस्था हेरेर तालमेल गर्ने वा एक्लै भिड्नेबारे निर्णय गरिने उनको भनाइ छ । 

नेविसंघले अहिले स्ववियु निर्वाचनका लागि घोषणापत्र लेखनको कार्य अगाडि बढाइरहेको छ । घोषणापत्रको आधारमा तालमेल गर्ने वा एक्लै भिड्ने भनेर निर्णय गरिने उनको भनाइ छ । 

त्यसका लागि सुरुमा त्रिविका आङ्गिक क्याम्पसबाट तथ्याङ्क विश्लेषण गरिनेछ । ‘आङ्गिक क्याम्पसबाट सरसल्लाह गरेर अगाडि बढाउने छौँ । त्यसका लागि संयोजक तोकेका छौँ । त्यसको आधारमा अगाडि बढ्छौँ,’ उनले भने । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्नो सङ्गठनसँग एजेन्डा मिल्ने र स्प्रिट मिल्ने सङ्गठनहरूसँग तालमेल गर्न सकिने बताए । 

‘हामीसँग एजेन्डा मिल्ने, स्प्रिट मिल्ने सङ्गठनसँग तालमेल हुनसक्छ । त्यसका लागि हामीले सदैव बाटो खुल्ला हुन्छ । त्यसका लागि नमिल्ने भन्ने त छैन,’ अध्यक्ष बडालले भने । 

तालमेलका लागि पहिलो प्राथमिकता प्रगतिशील विद्यार्थी सङ्गठनहरूसँग एलायन्सका लागि जोड दिइने उनको भनाइ छ । सबै ठाउँमा तालमेलका अवस्था नहुन सक्ने उनको भनाइ छ । 

अहिले कोमामा पुगेको स्ववियुलाई जोगाउनुपर्ने दायित्व रहेको भन्दै त्यसका लागि लचक हुनुपर्ने ठाउँमा लचक हुने उनको भनाइ छ । सहज ढङ्गबाट विजय प्राप्त गर्ने ठाउँमा त्यही आधारमा अगाडि बढ्ने अनेरास्ववियुको तयारी छ । 

तल्ला कमिटीबाट आएको सुझाव र प्रतिवेदनको आधारमा तालमेलबाट निर्णय गरिने उनको भनाइ छ । त्यसका लागि फागुन १३ गतेसम्म प्रतिवेदन पेस गर्ने कार्यादेश छ ।  

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता मिलन एमसीले स्ववियु निर्वाचनमा कुनै तालमेल नगर्ने निर्णय गरेको बताए । ‘सिंगल नै लड्ने भन्ने पदाधिकारी बैठकले निर्णय गरेको छ । कुनै ठाउँमा त्यस्तो परिस्थिति आयो भने छुट्टै हुन्छ ।’ उनले भने । 

अखिल क्रान्तिकारीले सबै प्रदेश र जिल्लाको बैठक सम्पन्न गरेको छ । अहिले कलेजहरूमा केन्द्रित भइरहेको छ । कलेजमा आफ्नो उपस्थितिका आधारमा तालमेल गर्न सकिने उनको भनाइ छ । 

अखिल क्रान्तिकारीले अहिले घोषणापत्र लेख्ने काम गरिरहेको छ । घोषणापत्र सार्वजनिक भएपछि उम्मेदवारको छनौट गरिने उनको भनाइ छ । कुनै अर्को सङ्गठनले तालमेलको लागि प्रस्ताव गरेको खण्डमा छलफल गरेर अगाडि बढ्ने उनले बताए । 

अन्य विद्यार्थी सङ्गठनहरूले समेत तालमेल गरेर अगाडि बढ्ने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप