बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
सुरक्षा

एआईजीमा बढुवा हुन तीव्र प्रतिस्पर्धा

एक महिनापछि ५ जनामध्ये एक हुनेछन् आईजीपी
मङ्गलबार, ०९ फागुन २०७९, १८ : १२
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपाल प्रहरीमा ५ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ । फागुन ७ बाट एआईजी पूजा सिंहले अवकाश पाएकी छन् । 

प्रहरी ऐन अनुसार अतिरिक्त महानिरीक्षक पदमा ५६ वर्ष पुरा भएपछि सिंह अनिवार्य अवकाशमा गएकी हुन् । प्रशासन तर्फको पहिलो महिला एआईजी सिंहको अवकाशसँगै नेपाल प्रहरीमा ५ एआईजी पद रिक्त भएको छ ।

गृह मन्त्रालयले रिक्त पदमा बढुवाको तयारी गरेको छ । गृह–सचिव विनोद प्रकाश सिंहका अनुसार ‘केही दिन’मा एआईजीको बढुवा हुनेछ । रातोपाटीसँग कुरा गर्दै सिंहले भने,‘रिक्त पदमा केही दिनमा बढुवा होला ।’

प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यबीच तीव्र प्रतिस्पर्धा छ । एआईजीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । 

प्रतिस्पर्धीहरु मध्येमा जो एक नम्बरमा अतिरिक्त महानिरीक्षकमा बढुवा हुनेछन्  तिनै एक महिनापछि महानिरीक्षक (आईजीपी) हुने सम्भावना बलियो हुन्छ । डिआईजीको मेरिट लिस्टमा वसन्त बहादुर कुँवर एक नम्बरमा छन् । दुई नम्बरमा टेक प्रसाद राई, तेस्रोमा अशोक सिंह र मेरिट लिस्टको चौंथो नम्बरमा दीपक थापा छन् ।  

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै उनका ब्याचमेटहरु २०७९ चैत ११ मा अवकाशमा जाँदै छन् । सिंहको अवकाशसँगै अहिले बढुवा हुने एआईजी मध्येबाट आईजीपी बन्नेछन् । पहिलो नम्बरमा एआईजी हुने अधिकारीको आईजीपीमा बढुवा हुने सम्भावना बलियो हुन्छ । त्यसैले  डिआईजीहरुबीच एक नम्बरमा बढुवा हुन तीव्र प्रतिस्पर्धा छ । 

आईजीपी सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका मसाउद आलम खाँ, नल प्रसाद उपाध्याय र मोहन कुमार आचार्य पनि डिआईजी पदमा कार्यरत छन् । तर, उनीहरु एआईजीको प्रतिस्पर्धाबाट ‘रिङ आउट’ छन् । एक महिनापछि अवकाशमा जान लागेकाले उनीहरुलाई सरकारले बढुवा नगर्ने जानकारहरु बताउँछन् । 

बढुवाको मुख्य प्रतिस्पर्धीहरु वसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दीपक थापा २०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।

 सिंहको उमेर विवाद 

डिआईजी अशोक सिंह उमेर विवादमा तानिएका छन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ । प्र्रहरी प्रधान कार्यालयको अभिलेखमा २०२५ पुस १६ लाई मान्यता दिएको छ । नागरिकता र शैक्षिक प्रमाणपत्रमा १ वर्ष ६ महिना २४ दिन फरक भएको बारेमा के निर्णय हुन्छ भन्नेबारे अन्योल देखिएको छ । 

बढुवा प्रतिस्पर्धी श्यामलाल ज्ञवालीको पनि नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरक देखिएको छ । ज्ञवालीको नागरिकतामा जन्ममिति २०२४ चैत २१ उल्लेख छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ साल भदौ २६ उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार उनको उमेर ५ महिना ६ दिन फरक परेको छ ।

पुराना नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ । प्रहरी प्रधान कार्यालयको अभिलेखमा सिंहको जन्ममिति २०२५ पुस १६ र ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ लाई मान्यता दिइएको छ । 

उमेर विवादका कारण सिंह र ज्ञवालीलाई सरकारले बढुवा नगरेमा सन्दीप भण्डारी र मिरा चौधरीले एआईजी बढुवामा अवसर पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप