शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुमा हल्का वर्षासँगै हिमपात

आइतबार, १४ फागुन २०७९, २० : ३०
आइतबार, १४ फागुन २०७९

 सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो ।

आइतबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो । हाल जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयहरूले भने राहत महसुस गरेका छन् । हिउँविहीन बनेका हिमालहरू हिउँ परेसँगै सेताम्मे भएका छन् । 

जिल्लाका पत्ताले, पिके, नाम्चे, खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ । हिउँदयामभरि हिउँ नपर्दा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरूमा चिसो महसुस हुन थालेको छ । यद्यपि विगतका वर्षहरूमा झैँ बाक्लो हिउँ नपरेको स्थानीयवासी प्रकाश मगरले बताए ।

नाम्चे बजार क्षेत्रमा भने बिहान केही बेर मात्रै हिमपात भएको थियो । बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ । कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे भएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । उनका अनुसार हिउँ बाक्लो नपरेकाले जमिनमा भने हिउँ जम्न सकेको छैन । 

हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरूले राहत महसुस गरेका छन् । हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा परेकाहरू आकासे पानी परेसँगै उत्साहित बनेको नेचा सल्यान गाउँपालिकाका कृषक दीपक बस्नेतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप