बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

फागुन १८ देखि कान्ति लोकपथ पूर्ण रूपले बन्द

मङ्गलबार, १६ फागुन २०७९, १० : २९
मङ्गलबार, १६ फागुन २०७९

मकवानपुर । सडक मर्मतका लागि हेटौँडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ पूर्ण रुपमा बन्द हुने भएको छ । सडक स्तरीकरणका लागि भन्दै बागमती प्रदेश सरकारको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सो सडक खण्ड बन्द गरेको हो ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ देखि चैत १० गतेसम्म सो सडक पूर्ण रूपमा बन्द गर्ने जनाएको हो । प्रदेश सरकारको सिफारिस अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको बैठकले २३ दिनका लागि सो सडक बन्द गर्ने निर्णय गरेको हो ।

सो सडक खण्डमा दुईतर्फी सवारी आवागमन बन्द गरेर सडक मर्मत सम्भार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

यसअघि प्रदेश सरकारको सिफारिसमा प्रशासन कार्यालयले हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको भैँसे–भीमफेदी, कुलेखानी–फाखेल र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्ड पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई हटाउँदै सो सडक संचालन गरेर कान्ति लोकपथ सडक बन्द गरी मर्मत गर्ने निर्णय गरिएको उनले बताए ।

प्रदेश सरकारको सिफारिस अनुसार भैँसे–भीमफेदी फाखेल र भैँसे–भीमफेदी–सिस्नेरी सडक सञ्चालन गरेर कान्ति लोकपथ सडक बन्द गरिएको उनको भनाइ छ । कान्ति लोकपथ सडक बन्द भएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्गसमेत निर्धारण गरिएको उनले बताए ।

उनका अनुसार हेटौँडा–काठमाडौं जानका लागि एकतर्फी रुपमा हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी रुट र काठमाडौंबाट हेटौँडा आउने सवारीका लागि एकतर्फी थानकोट–चित्लाङ–मार्खु–भीमफेदी सडक प्रयोग गर्ने निर्णय गरिएको हो ।

६६ वर्ष बित्यो तर बनेन सडक

हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक एवम् उपयुक्त मार्गको रुपमा रहेको सो सडक निर्माण सुरु भएको ६६ वर्ष बितिसकेको छ । दुरीका हिसाबले छोटो मानिएको उक्त सडकले निर्माण सुरु भएको ६६ वर्षसम्म पूर्णता पाउन सकेको छेन ।

सो सडक हालसम्म पनि निर्माणाधीन अवस्थामै छ । सो सडक निर्माणका लागि छुट्टै आयोजनाको रुपमा राखेर काम सुरु गरिएको थियो । कान्ति लोकपथ सडक आयोजना नामकरण गरी निर्माणको काम थालेको वर्षौँ बितिसक्दा समेत सडकले मूर्तरुप लिन सकेको छैन ।

२०१३ सालमा नेपाली सेनाको नेतृत्वमा सो सडकको निर्माणका लागि ट्रयाक खन्न सुरु गरिएको थियो । ३ वर्ष लगाएर सेनाको टोलीले सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरेको थियो । २०१६ सालमा राजा महेन्द्रले उक्त सडकको ट्रयाक उद्घाटन गर्दै हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीकाभैरवसम्म यात्रा गरेका थिए । सोही सयममा उनले सडकको भित्तामा खोपिएको शिलालेख अनावरण गर्दै सडकको उद्घाटन गरेका थिए, जुन अहिले पनि देख्न सकिन्छ ।

कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा हालसम्म पूर्णता पाउन सकेको छैन । सो सडक अन्तर्गत सहज भू–बनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी छ । मकवानपुरतर्फ करिव ४ किलोमिटर र ललितपुरतर्फ १० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप