बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

माओवादीसँग एकता गर्ने विषयमा महिन्द्र नेतृत्वको नेसपामा विवाद

श्रेष्ठ समूहले बोलायो केन्द्रीय समिति बैठक
बिहीबार, ०८ जेठ २०८२, १२ : २३
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • महिन्द्रराय यादवको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) भित्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा विवाद भएको छ।
  • सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरूले छुट्टै बैठक बोलाएपछि यादव समूहले उक्त बैठक आधिकारिक नभएको जनाएको छ।
  • यादव समूहले माओवादीसँग रूपान्तरणसहित एकता गर्न चाहेको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भित्र विवाद भएको छ । सहअध्यक्ष गंगानारायण श्रेष्ठ लगायत माओवादी पृष्ठभूमिका नेताहरूले पार्टी एकताबारे निर्णय लिन जेठ ११ गते केन्द्रीय समितिको छुट्टै बैठक बोलाएपछि विवाद भएको हो ।

यादव समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । 

‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबिच एकताको सन्दर्भमा रूपान्तरण सहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु’, विज्ञप्तिमा भनिएको छ ।

यद्यपि पार्टीभित्र कुनै विवाद नभएका दुवै पक्षले दाबी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै सहअध्यक्ष श्रेष्ठले सिङ्गो पार्टी नै एकता गर्ने गरी तयारी भइरहेको जिकिर गरे ।  ‘जेठ १२ गते एकताको विषयमा टुङ्गो लगाउने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो । ढिलोमा जेठ मसान्तसम्म एकता गर्ने केन्द्रीय कार्यकारिणी बैठकले निर्णय गरिसकेको छ’, उनले भने । 

माओवादी पृष्ठभूमि र गैरमाओवादी पृष्ठभूमि भनेर पार्टी विभाजनको रेखा नकोरिएको भन्दै श्रेष्ठले अध्यक्ष यादवसहित सिङ्गो पार्टी नै एकताका लागि तयारी गरिरहेको बताए ।  यता महासचिव रमेशप्रसाद यादवले पार्टी एकताको विषय माओवादीका अध्यक्ष प्रचण्ड काठमाडौँ फर्केर आएपछि टुङ्गो लाग्ने स्पष्ट पारे । माओवादीसँग पार्टी एकताका लागि हामीबिच कुने विवाद नभएको उनले दाबी गरे । 

‘माओवादीसँग पार्टी एकता गर्ने कुरा हामीले १५ महिना अगाडि नै टुङ्ग्याएको विषय हो । गंगाजी अलि हतार गरिरहनुभएको छ । रूपान्तरणसहित एकता गरौँ भनेर हामीले भनिराखेका छौँ  । प्रचण्डजी काठमाडौँ आउनुभएपछि छलफल गर्छौं’, उनले भने । 

नेसपाका तत्कालीन अध्यक्ष बाबुराम भट्टराई सहित माओवादीसँग पार्टी एकता गर्ने विषयमा विवाद हुँदा २०८० चैत ३ गते पार्टी विभाजन भएको थियो । विभाजनपछि अर्का अध्यक्ष यादवको नेतृत्वमा नेसपा पुनर्गठन भएको थियो । नेसपामा अहिले १७० केन्द्रीय समिति र २७ सदस्य केन्द्रीय कार्यकारिणी समिति रहेको महासचिव यादवले जानकारी दिएका छन् । एकताको विषय टुङ्ग्याउन जेठ ११ गते अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ सहितका नेताहरूले प्रचण्डसँग छलफल गर्दैछन् ।

nesapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप