शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले नेताले मागे माधवसँग सुवासको पक्षमा मत, नेपालले दिए धन्यवाद !

बिहीबार, १८ फागुन २०७९, १२ : ५४
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरूले एकीकृत समाजवादीका नेताहरूसँग राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत मागेका छन् । बिहीबार नेम्वाङलाई मत माग्न एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए ।

त्यस क्रममा एमाले नेताहरुले अध्यक्ष माधवकुमार नेपालसहित सो पार्टीका पदाधिकारीहरूसँग लामो कुराकानी गरेका छन् । आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको दुई पार्टीका नेताहरूको भेटमा एमाले नेताहरूले मत माग्नुका साथै पार्टी एकताको प्रस्ताव गरेका थिए । 

भेटवार्तापछि एमाले उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल चलाउने पार्टी निर्णय अनुसार एकीकृत समाजवादीका नेताहरूसँग पहिलो भेटवार्ता गरेको बताए । त्यस क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सबै पदाधिकारीसँग कुराकानी गर्दै सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल गरेको बताए । 

subash ekirit

‘सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल र आग्रह गर्‍यौँ, कुराकानी सकारात्मक कुरा भयो’, गुरुङले भने, ‘अव दुई पार्टीबीचको एकता प्रक्रिया अघि बढाउन चुनौतिकाबीचमा अवसर प्राप्त भएको छ । त्यो अवसरलाई अधिकतम प्रयोग गर्नुपर्छ भन्ने कुरा हाम्रोबीचमा एक खालको सहमति भएको छ ।’ 

उनले यही अवसरलाई समातेर फेरि पनि भेटघाट र छलफल गर्दै अघि बढ्ने साझा सहमति बनाउन दुवै पक्षबीच सहमति भएको दाबी गरे । उनले विगतका आग्रहपूर्वाग्रह, रिसराग द्वेष छाडेर अघि बढ्न दुवै पक्ष तयार भएको बताए । 

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुबीच संवादको थालनी भएको भन्दै यसले सकारात्मक सन्देश दिएको बताए । 

‘राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको प्रतिनिधि मण्डलले हाम्रो पार्टीका नेताहरूसँग भेट गर्दै राष्ट्रपतिमा मतदान गर्न आग्रह गर्नुभयो’, खतिवडाले भने, ‘हाम्रो अध्यक्षले मत माग्न आउनुभयो । कुराकानीहरू भए, सौहाद्रपूर्ण वातावरणका लागि धन्यवाद दिएर बिदा गर्नुभयो ।’ तर भेटमा एकीकृत समाजवादीका नेताहरूले आफूहरू रामचन्द्र पौडेलको प्रस्तावक भएकाले मत दिन नसक्ने बताएका थिए । ‘हामी रामचन्द्र पौडेलको प्रस्तावक भएकाले यसो गर्छौ भन्न सक्ने कुरा भएन । उहाँहरूले पनि बुझिसक्नुभएको छ’, खतिवडाले भने, ‘नैतिक बन्धन साटासाट गर्ने काम भयो ।’ 

एमाले नेताहरू राष्ट्रपति पदका उम्मेदवार उपाध्यक्ष सुवास नेम्वाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,रघुवीर महासेठ र विमला राई समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेट्न आलोकनगर पुगेका हुन् । एमाले नेताहरूले बिहीबारै राप्रपा र रास्वपाका अध्यक्षलाई भेटेर मत माग्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप