बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
चुनाव

स्ववियु चुनावमा विद्यार्थी संगठनका थरीथरी गठबन्धन

शुक्रबार, १९ फागुन २०७९, ११ : ४८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । आउँदो चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुने निश्चित भएपछि विभिन्न विद्यार्थी सङ्गठनका नेताहरू आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । त्रिभुवन विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसहरूमा आफ्नो अस्तित्व जोगाउन विद्यार्थी सङ्गठनहरू आफू अनुकूलका गठबन्धन बनाउन थालेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ गते र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव हुने कार्यतालिका सार्वजनिक भएको छ । 

सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी सङ्गठनले गठबन्धन गरेर चुनाव लड्ने तयारी गरेका छन् । सत्तारूढ आठ दलनिकट विद्यार्थी सङ्गठनको मोर्चा बनाउने निर्णय भइसकेको छ ।

यस्तै नेकपा एमाले निकट अनेरास्ववियु र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले चुनावमा तालमेल गर्न छलफल अघि बढाएका छन् । यद्यपि एमाले र विप्लव नेतृत्वको नेकपा विद्यार्थी सङ्गठनको स्ववियुको चुनावी तालमेलका विषयमा निर्णय भइसकेको छैन । 

यस्तै विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवाद, ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा समाजवादी माओवादी विद्यार्थी सङ्गठनले मोर्चाबन्दी गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् । विप्लवसहित चार पार्टीले मुद्दा मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेपछि स्ववियु चुनावमा समेत गठबन्धन बनाएर चुनाव लड्ने निर्णय गरेका हुन् । 

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल निकट विद्यार्थी सङ्गठनले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् । 

आगामी स्ववियु चुनावमा सत्तारूढ आठ दल निकट विद्यार्थी सङ्गठन, एमाले र विप्लव नेतृत्वको नेकपाबीचको गठबन्धन, एमालेबाहेक विप्लवले अरू चार पार्टी निकट विद्यार्थी सङ्गठन, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहित तीन पार्टी निकट विद्यार्थी सङ्गठनले गठबन्धन बनाएका छन् । स्ववियु चुनावमा विभिन्न दलले चारवटा  गठबन्धन बनाएर चुनाव लड्ने तयारी गरेका छन् ।

स्ववियु चुनावमा उम्मेदवारको २८ वर्षे उमेर हद तोकिएको छ । उमेर हदका कारण धेरै आकाङ्क्षी चुनावबाट वञ्चित हुनुपरेको छ । यसले विद्यार्थी राजनीति गर्न इच्छुकहरूमा चुनावको रौनक पनि हराउँदै गएको छ । यसअघि २०७३ सालमा स्ववियु निर्वाचन भएको थियो । छ वर्षपछि विद्यार्थी अहिले चुनाव हुँदैछ । 

विद्यार्थीको हक हितका लागि स्थापित स्ववियु निर्वाचनमा आआफ्नै सङ्गठनबाट उम्मेदवार नबनेर अरूको टेको लाग्न थालेको भन्ने प्रश्नमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा चुनावमा गठबन्धन बनाउनेभन्दा पनि विचार मिल्नेसँग सहकार्य गर्न खोजिएको बताउँछन् । ‘हामीले चुनावमा गठबन्धन बनाउन खोजेका होइनौँ । विचार मिल्नेसँग सहकार्य गर्न खोजेका हौँ । अहिलेको सरकार जुन जुन पार्टीहरू सहभागी छन् ती पार्टी निकट विद्यार्थीसँग सहकार्य गर्दै छौँ,’ रातोपाटीसँग शेर्पाले भने, ‘हामीले सकेसम्म सबै क्याम्पसमा साझा उम्मेदवार बनाउने प्रयासमा छौँ । सहमती नभएका क्याम्पसमा मित्रवत् प्रतिस्पर्धा गर्छौं ।’ 

यसअघि एमाले माओवादीसहित पार्टीहरू सरकारमा हुँदा मिलेर चुनाव लड्न खोज्दा आफूहरू एक्लै चुनाव लड्ने तयारी गरेको सेर्पाले बताए । तर अहिले स्ववियु चुनावमा सहकार्य गरेर चुनाव लड्नु अन्यथा नभएको बताए । ‘उहाँहरू (एमाले, माओवादीसहितको सात दल) सहकार्य गरेर चुनाव लड्न थाल्नुभएको थियो । त्यो बेला हामी एक्लै चुनाव लड्न तयारी अवस्थामा थियौँ,’ शर्माले भने, ‘अब आठ दलले चुनावी सहकार्य गर्दा आत्तिनु पर्दैन । यो सहकार्य राष्ट्रिय आवश्यकता  हो ।’ सत्ता साझेदार दलबीच विश्वासिलो मापदण्ड बनाएर स्ववियु निर्वाचनमा उम्मेदवार छनोट गरिने शेर्पाले बताए । 

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले सत्तारूढ आठ दलनिकट विद्यार्थी सङ्गठन मिलेर जाने विषयमा समझदारी मात्रै भएको बताए । स्ववियु चुनावमा कसरी सहकार्य गर्ने ? कस्तो मापदण्ड बनाउने भन्ने विषयमा फाइनल भई नसकेको पुनले बताए । ‘विचार र एजेन्डा मिल्नेहरूबीच गठबन्धन गरेर चुनाव लड्ने विषयलाई अन्यथा लिनु हुँदैन,’ पुनले भने, ‘चुनावमा सहकार्य गर्नेलाई गठबन्धन बनाउने वा एकका विरुद्ध अर्को हराउने होइन । त्यसलाई स्वाभाविक प्रतिस्पर्धाका रूपमा लिइनुपर्छ ।’ 

यस्तै अनेरास्ववियुका अध्यक्ष समिक बडालले मुद्दा मिल्ने विद्यार्थी सङ्गठनसँग सहकार्य हुन सक्ने बताए । तर कुन कुन विद्यार्थी सङ्गठनसँग मोर्चाबन्दी गर्ने भन्ने फाइनल भई नसकेको बडालले बताए । ‘हामी स्ववियु चुनावको तयारीमा छौँ । क्याम्पसमा विद्यार्थीको अवस्था कस्तो छ भनेर रिपोर्ट लिइरहेका छौँ,’ बडालले भने, ‘आवश्यकता र औचित्यका आधारमा मुद्दा मिल्ने विद्यार्थी सङ्गठनसँग सहकार्य गरेर जानेमा ढोका खुला राखेका छौँ ।’ 

आफ्नो सङ्गठन बलियो भएको क्याम्पसमा भने एक्लै चुनावी प्रतिस्पर्धा गर्ने बडालले बताए । तर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफूहरू स्ववियु चुनावमा कुनै गठबन्धन नबनाएको जिकिर गरे । ‘हामीसहित धर्मेन्द्रजी र सन्तबहादुर नेपाली कमरेडसँग पार्टी एकता गर्ने विषयमा छलफल जारी छ । ढिलोचाँडो तीन पार्टी एकता गर्ने तयारीमा छौँ,’ गजुरेलले भने, ‘पार्टी एकता गर्ने भएपछि विद्यार्थी सङ्गठन मिलेर चुनाव लड्नेलाई मोर्चाबन्दी वा गठबन्धन भन्न मिल्दैन ।’ आफूहरू स्ववियु चुनावमा गठबन्धन नगरेर शिक्षा क्षेत्रका विकृति र विसङ्गतिविरुद्ध प्रहार गर्ने गजुरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप