बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
फिचर

पूर्वजीवित देवी कुमारी समीताको राजनीतिक यात्रा

शनिबार, २० फागुन २०७९, १० : ५४
शनिबार, २० फागुन २०७९

काठमाडौँ । ‘म पूर्व जीवित देवी कुमारी, मिस मंगोल २०२१ को सांस्कृतिक राजदूत, मिस नेशनल २०२२, संगीतकार (सरोद), मेकअप आर्टिस्ट, फेसन कोरियोग्राफर, कराओके इन्टरटेनमेन्टको प्रबन्धक हुँ । कुमारी राष्ट्रकी रक्षक हुन भन्ने सबैलाई थाहा भएकै कारण देशको सेवा गर्ने मेरो गहिरो चाहना छ त्यसैले म राष्ट्रिय प्रजातन्त्र पार्टीमा सामेल भएँ । धन्यवाद अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रीय सदस्य दीपक रञ्जित र खगेश रञ्जितकार सर ।’

बिहिबार पूर्व जीवित कुमारी समीता बज्राचार्यले फेसबुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको तस्बिरहरू राख्दै निम्न कुरा उल्लेख गरेकी थिइन् । 

उनी २०६७ मा पाटनकी जीवित कुमारी भएर २०७० सालमा अवकाश पाएकी समीताले राजनीतिक यात्रा थालेकी हुन् । यसअघिका पूर्व जीवित कुमारी राजनीतिमा नआएको सन्दर्भमा समीताले राजनीतिमा निरन्तर अघि बढ्ने अठोटका साथ अघि बढेको बताएकी छिन् । 

हाल माइतीघरमा रहेको एक कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनको रहेकी उनले स्कुलको ३ वर्षको समय भने घरभित्रै अध्ययन गरेकी थिइन् । अहिले पनि उनले संगीत पढिरहेकी छिन । कक्षा २ सम्म उनले स्कुल पढेकी थिइन भने कक्षा ३ देखि ६ सम्म घरमै अध्ययन गरेकी थिइन् । कक्षा ७ देखि भने उनले फेरी स्कुल जान सुरु गरेकी थिइन् । 

7293_10151568857270590_1587541153_n

कुमारी भएका बेला उनलाई स्कुल जान मिल्दैनथ्यो । घरमै आएर शिक्षकहरूले पढाउने व्यवस्था गरिएको थियो । कुमारी भएका बेला फेसबुक चलाउन, इन्टरनेट चलाउनका लागि सुविधा थियो तर घरबाहिर निस्कन भने नपाइने व्यवस्था हुने उनले सुनाइन् । 

उनले भनिन्–‘घरभित्र सवै कुरा गर्न पाइन्थ्यो तर घरबाहिर भने जान पाँइदैनथ्यो । घरभित्र सबै सुविधा हुन्थ्यो ।’

हाल संगीतकार समेत रहेकी उनले जीवित कुमारी भएकै बेलादेखि नै संगीत सिक्दै आएकी थिइन् । सरद बाजा बजाउने कुरामा उनको विशेष खुबी रहेको छ । उनले सुरेश राज बज्राचार्यसँग संगीत सिक्दै आएकी छिन् । 

samita 2

कुमारी भएका बेला अतिरिक्त गतिविधिका रूपमा उनले सरद भन्ने बाजा सिक्न थालेकी थिइन । 

जीवित कुमारीबाट अवकाश भएपछि उनी विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै आएकी छिन् । 

sanmita

२ वर्षअघि मिस मंगोल प्रतियोगितामा एउटा उपाधि हासिल गरेकी थिइन् भने सन् २०२२ मा मिस मंगोल नेश्नलको अवार्ड पाएकी थिइन् । 

हाल उनी र्‍याम्प कोरियोग्राफी पनि गरिरहेकी छिन् । यस्तै उनी मेकअफ आर्टिष्ट समेत रहेकी छिन् । 

हाल उनी कराओके इन्टरटेनमेन्ट प्रा.लीको म्यानेजरको रूपमा काम गरिरहेकी छिन् । जुन कम्पनीले सौन्दर्य प्रतियोगिताका कार्यक्रमहरू गर्ने गरेको छ । यस्तै जागिर मिलाइदिने ‘जब प्लेसमेन्ट सर्भिस’ को काम पनि गर्ने गरेको उनले सुनाइन् । 

राजनीतिलाई निरन्तरता दिने अठोट 

कराओके इन्टरटेनमेन्ट प्रा.लीका अध्यक्ष एवं नेपाली सेनाबाट अवकाशप्राप्त व्यक्ति खगेश रञ्जितकारको प्रेरणाबाट राप्रपामा प्रवेश गरेको उनले सुनाइन् । 

उनी राप्रपामा लागेपनि उनको पारिवारिक पृष्ठभूमी भने राजनीतिक हैन । पार्टीमा प्रवेश गर्नुअघि उनले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसँग कुराकानी गरेकी थिइन् । लिङ्देनले पार्टीमा आउनुस् भनेपछि पार्टीमा प्रवेश गरेको उनले बताइन् । 

नेपाली जनताको हक अधिकारका लागि, नेपालका मौलिक धर्म संस्कृतिको रक्षा  गर्नका लागि र नेपाललाई समृद्ध बनाउनका लागि आफूले  राप्रपालाई रोजेको बज्राचार्यले रातोपाटीलाई बताइन् । 

307489683_3024258127871486_7774637517358725170_n

उनले आफूले राप्रपाबाट राजनीति सुरु गर्नुको कारण पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट प्रेरित भएको बताइन् । 

उनले भनिन्–‘काठमाडौँ विजय गरेपछि इन्द्रजात्राको दिन जीवित देवीको रूपमा रहेकी नेवारकी छोरीलाई ढोग्ने कि नढोग्ने भन्ने द्विविधा हुँदा गोरखाका राजा पृथ्वीनारायण शाहले कुमारीलाई ढोगेर आफ्नो शासन सुरु गरेका थिए । राज्य सञ्चालन गर्न नेवारको बाहुल्य भएको क्षेत्रमा कुमारीलाई तुलजा अर्थात् तलेजु भवानीको रूपमा पूजा गरी राज्य सञ्चालन र एकीकरण गर्न सहज हुनेछ भनेर बज्राचार्य गुरुसँग सल्लाह लिएर शासन गर्न थालेका थिए ।’ 

धर्म भनेको अनुशासन हो । धार्मिक हुनु भनेको अनुशासित हुनु हो । पूर्व कुमारी भइकन नारी हक हित रक्षाको लागि, धर्म संस्कृति रक्षाको लागि म राजनीतिको क्षेत्रमा प्रवेश गरेको हुँ ।

उनले थप प्रकाश पार्दै भनिन्–‘कुमारी राष्ट्रको रक्षक पनि हो । राजनीति भनेको राज्यको मूल नीति हो तर विना राजनीतिक शास्त्रको शिक्षा नै टायर बाल्ने र ढुङ्गा हान्ने, नेपाल बन्द गर्ने, जनतालाई दुःख दिने काम भइरहेको छ । जनताको सुरक्षा, हित गर्छु भन्ने तर त्यसको विपरीत लक्ष लिएर आफ्नो भुँडी भर्ने, जनतालाई भ्रम बाँड्ने तर आफ्ना छोराछोरीलाई विदेशमा लगेर पढाउने काम गरेर राजनीतिलाई लाजनीतिमा परिवर्तन गरेको अहिलेको सन्दर्भमा राजनीतिमा लागेर केही गर्न खोजेको छु ।’

उनले नेपालमा हिन्दु धर्म संस्कृतिमाथि अतिक्रमण भइरहेको भन्दै अबको नयाँ पुस्ता त्यस्ता कुरामा सचेत हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्–‘धर्म भनेको अनुशासन हो । धार्मिक हुनु भनेको अनुशासित हुनु हो । पूर्व कुमारी भइकन नारी हक हित रक्षाको लागि, धर्म संस्कृति रक्षाको लागि म राजनीतिको क्षेत्रमा प्रवेश गरेको हुँ । सबै राजनीतिक पार्टीहरूले देश बनाउने कुरा त गर्छन् तर देश झन् झन् बिग्रिरहेको छ । नेपालमा हिन्दु धर्मको रक्षा गर्न लागिपरेको राप्रपा पार्टी मन परेर मैले यो पार्टीमा आबद्धता जनाएको हुँ ।’

राजनीतिमा अघि बढ्न राजनीतिक शास्त्रको अध्ययन गर्ने, जनसम्पर्क बिस्तार गर्नका लागि सामाजिक काममा सक्रियता जनाउने उनको विचार छ । 

samita 4

आफू राप्रपामा प्रवेश गरेको विषयलाई घर परिवारले पनि सकारात्मक रूपमा लिएकोले राजनीतिलाई निरन्तर रूपमा अगाडि बढाउने बज्राचार्यले बताइन । 

उनले नेपालको संस्कृति परम्परालाई विश्व समुदायमाझ चिनाउनका लागि नेपाल घुम्न आएका पर्यटकहरूलाई कुमारी प्रथा र काठमाडौंको उपत्यकाका जात्रा, पर्व, संस्कृतिको बारेमा जानकारी गराउँदै आएकी छिन् । पर्यटकहरूको आकर्षणको केन्द्र बनेकी उनले यति ट्राभल्स एजेन्सी मार्फत आएका विदेशी पर्यटकहरूलाई नेपालको कुमारी प्रथाको बारेमा विगतदेखि निरन्तर रूपमा जानकारी गराउँदै आएकी छिन् । अन्य जीवित पूर्व कुमारीहरू पर्यटकहरूसँग बोल्न असहज मान्ने गरेका कारण उनले जीवित कुमारी प्रथा, नेपालको संस्कृतिबारे जानकारी गराउँदै आएकी हुन ।  

पूर्व जीवित कुमारीले बिहे गर्नु हुँदैन भन्ने रुढीवादी परम्परालाई कायम राख्न नहुने उनको धारणा छ । पूर्व जीवित कुमारीले पनि बिहे गरेर घरजम गर्न सक्ने पक्षमा आफू रहेको उनले बताइन् ।

कुमारी प्रथाबारे कतिपय समूहले आलोचना पनि गर्छन् । तर पूर्व कुमारी प्रथाबारे उनी भन्छिन्–‘यदि हामी आफ्ना आमाबुवालाई मान्छौँ भने कुमारीलाई पनि मान्नुपर्ने हुन्छ । यो हाम्रो आमाबुवा जतिकै महत्त्वपूर्ण संस्कृति हो ।’

भर्खर राजनीतिमा प्रवेश गरेकी पाटनकी पूर्वकुमारी समीताले राजनीतिलाई कसरी अगाडि बढाउँछिन् त्यो भने प्रतीक्षाको विषय रहेको छ । उनी छिट्टै राजनीतिक प्रशिक्षणहरू लिएर अघि बढ्ने तयारीमा छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप