शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन लबिङ

जनमत पनि दाउमा
शनिबार, २० फागुन २०७९, २२ : ५९
शनिबार, २० फागुन २०७९

काठमाडौँ । जब–जब देशमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको चयनको प्रक्रिया सुरुवात हुन्छ तब तब लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा आउने गरेको छ । काँग्रेसमा हुँदा उपसभामुखदेखि विभिन्न मन्त्रालय सम्हालेका अध्यक्ष ठाकुरको चाहना पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सभामुख बन्ने  नै हो । उनले त्यसका लागि प्रयास पनि गर्दै आएका छन् । 

काँग्रेस छाडेर २०६५ मा मधेस राजनीतिमा आएका अध्यक्ष ठाकुरले मन्त्री बन्ने चाहना कहिले राखेनन्, जबकि उनको पार्टी पटक–पटक सरकारमा गयो । उनको इच्छा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सभामुख बन्ने नै थियो । 

काँग्रेसबाट डा.रामवरण यादव राष्ट्रपति बनेपछि धेरैले भनेका थिए, काँग्रेस नछाडेको भए अहिले राष्ट्रपति महन्थ ठाकुर नै बन्थे । पार्टीमा डा.रामवरण यादवभन्दा महन्थ ठाकुर धेरै नै सिनियर नेता थिए । पार्टी नछाडेको भए रामवरणले पाएका अवसर महन्थले पाउने थिए भन्नेहरू धरै थिए । यो प्रसंग बेलाबेलामा उठ्ने गरेको छ । 

२०६५ पछि पटक–पटक सरकार परिवर्तन हुँदा अध्यक्ष ठाकुरको नाम प्रधानमन्त्रीको रूपमा चर्चामा आउँथ्यो । यद्यपि अध्यक्ष ठाकुरले आफैले त्यसको बारेमा बोलेका छैनन् । उनी निकट नेताहरूले भने उनलाई चर्चामा ल्याउने गर्थे । 

२०७४ मा राष्ट्रपति चयन हुँदा पनि महन्थ ठाकुरको नाम उपराष्ट्रपतिका लागि चर्चामा आएको थियो । तर भागबण्डामा उपराष्ट्रपति माओवादीको भागमा परेको थियो । 

राष्ट्रपतिका लागि हामी प्रस्ताव गरेका थियौँ । तर त्यसमा सहमति जुटेन । त्यो एपिसोड नै सकियो ।

पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीको रूपमा संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिका कारण उनले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि नयाँ सरकारका लागि भएका दौडधुपमा प्रधानमन्त्रीका लागि महन्थ ठाकुरको निकै चर्चा भएको थियो । डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतले उनको नाम प्रधानमन्त्रीका लागि अघि सारेका थिए । विवाद चले पनि त्यतिबेला जसपा विभाजन भएको थिएन ।तर  त्यतिबेला ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा सर्वसम्मत प्रधानमन्त्री बनेका थिए । 

२०७९ सालको चुनावपछि बनेको नयाँ सरकारका लागि महन्थ ठाकुरको नाम प्रधानमन्त्रीमा चर्चा नभए पनि राष्ट्रपतिमा निकै चर्चा भयो । लोसपाले आधिकारिक निर्णय नै गरेर सबै दललाई भेटेर राष्ट्रपतिका लागि प्रस्ताव गरेको थियो । तर महन्थ ठाकुरले दलहरूबाट आश्वासन मात्र पाए । जब यसबारे छलफल भयो, त्यसमा कसैले पनि उनलाई समर्थन गरेनन् । आठ दलीय गठबन्धनबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायो । लोसपाले पनि पौडेललाई नै समर्थन गरेको छ । राष्ट्रपतिको चुनाव चैत ५ गते हुँदैछ ।

अहिले पुनः उपराष्ट्रपतिमा उनको चर्चा सुरु भएको छ । सामाजिक सञ्जालदेखि लिएर विभिन्न सञ्चारमाध्यममा उनको नाम उपराष्ट्रपति आउन थालेको छ । यसअघिझैँ यस विषयमा हालसम्म ठाकुरले केही बोलेका छैनन् ।

आफूले उपराष्ट्रपति पाउने सहमति भइसकेको बताउँदै आए पनि आठ दलीय गठबन्धनका साना दलहरूले भने यस बारेमा गठबन्धनमा कुनै छलफल नभएको बताउँदै आएका छन् ।  

सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारी भने उपराष्ट्रपतिमा महन्थ ठाकुरको चर्चा अनावश्यक रूपमा भइरहेको प्रतिक्रिया दिए । अहिले पार्टीमा वा अन्य ठाउँमा उपराष्ट्रपतिका बारेमा कुनै छलफल नै भएको छैन, तर बेमतलबको चर्चा भइरहेको छ,’ उनले भने, ‘राष्ट्रपतिका लागि हामी प्रस्ताव गरेका थियौँ । तर त्यसमा सहमति जुटेन । त्यो एपिसोड नै सकियो । उपराष्ट्रपतिको बारेमा अहिले पार्टीभित्र कुनै किसिमको चर्चा छैन ।’

आठ दलीय गठबन्धनमा पनि राष्ट्रपतिबाहेक अरू कुनै विषयमा चर्चा नभएको उनले भने । ‘त्यहाँ राष्ट्रपतिको मात्र कुरा भयो । राष्ट्रपतिको चुनाव सकेपछि मात्र उपराष्ट्रपतिको विषय प्रवेश हुन्छ,’ उनले भने । 

तर आठ दलीय गठबन्धनमा उपराष्ट्रपतिको विषय टुंगिसकेको बताइएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वयम् पनि उपराष्ट्रपति आफ्नो पार्टीले पाउने सहमति भइसकेको प्रतिक्रिया दिइसकेका छन् । काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले पनि उपराष्ट्रपति जसपाको भागमा परेको भन्दै आएका छन् । 

त्यही बीचमा महन्थ ठाकुरको नाम चर्चामा ल्याइएको हो । जसपाले लगभग पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने निश्चित गरिसकेको छ । बारा–२ बाट प्रतिनिधि सभा चुनाव जितेका उनलाई राजीनामा दिन लगाएर उपराष्ट्रपति बनाएपछि त्यहाँ हुने उपचुनावमा उपेन्द्र यादव उम्मेदवार बन्ने तयारी गरिएको छ । जसपाको तयारी चलिरहेको बेला जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पनि उपराष्ट्रपतिमा दाबी गरेको समाचार बाहिर आएको छ । 

उनले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै जसपाले मधेस प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति दुवैमा दाबी गर्न नमिल्ने बताउँदै आफूले पनि उपराष्ट्रपति उठाउने भनेका छन् । 

एकातिर जसपाले आफूले उपराष्ट्रपति पाउने सहमति भइसकेको बताउँदै आए पनि आठ दलीय गठबन्धनका साना दलहरू जनमत, नागरिक उन्मुक्ति पार्टी, लोसपाले भने यस बारेमा गठबन्धनमा कुनै छलफल नभएको बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप