बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद दिवसमा ओलीको वक्तव्य : सत्ता प्राप्ति र भागबण्डाका लागिमात्रै राजनीति भन्ने गलत मान्यता स्थापित हुँदैछ

आइतबार, २१ फागुन २०७९, १६ : २८
आइतबार, २१ फागुन २०७९

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीति भनेकै सत्ता प्राप्तिका लागि र सत्ता भनेकै भागबण्डाका लागि भन्ने गलत मान्यता स्थापित गर्न लागिरहेको बताएका छन् ।  सहिद स्मृति दिवसका सन्दर्भमा आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले केही दलहरुको त्यस्तो सोचाइका कारण मुलुक असामान्य परिस्थितिबाट गुज्रिरहेको टिप्पणी समेत गरेका छन् ।

‘विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्ति राष्ट्रहरूका प्रतिष्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ’, ओलीले भनेका छन्, ‘राजनीतिमा देखा परेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएका छन् ।’

उनले विगतमा अवलम्बन गरिएका कतिपय आर्थिक विचलन र हानिकारक नीतिहरूका कारण अन्तर्राष्ट्रिय वित्त क्षेत्रमा नेपालको विश्वसनीयता र प्रतिष्ठामाथि प्रश्नचिह्न खडा भएको भन्दै विकास र समृद्धिको यात्रालाई अवरूद्ध पारिँदा, जनताको सेवा प्रवाहमा वाधा सिर्जना गरिँदा, राजनीति भनेकै जसरी पनि सत्ता प्राप्तिका लागि हो र सत्ता भनेकै भागबण्डाका लागि हो भन्ने जस्ता गलत मान्यता स्थापित हुँदैछन् भनेका छन् ।

‘राजनीतिमा जवाफदेहिता, पारदर्शिता, विश्वसनीयता र मूल्यहरूको केही अर्थ छैन भन्ने जस्ता विकृतिहरूलाई संस्थागत गरिँदा जनतामा नैराश्य निरन्तर बढिरहेको छ । सामाजिक सद्भाव, सौहार्दता र मौलिक मूल्यहरूको विघटन तीव्र बन्दै गएको छ । यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्तिहरू सलबलाई रहेका देखिन्छन् भने अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको छ’, ओलीले बलियो राष्ट्रिय शक्तिको नेतृत्वमा मात्रै यी चुनौतीलाई चिर्न र मुलुकलाई सही दिशाबोध गर्न सम्भव हुने बताएका छन् ।

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप