बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

मुख्यमन्त्री शाहलाई पूर्वमुख्यमन्त्री रावलको सुझाव– आफ्नै प्रतिबद्धता पूरा गर्नुस्

मङ्गलबार, २३ फागुन २०७९, ०९ : ४३
मङ्गलबार, २३ फागुन २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढल्यो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

शाह मुख्यमन्त्री बनेसँगै केन्द्रमा राजनीतिक समीकरण पनि फेरियो । परिणामस्वरुप प्रदेशसभामा उनले दुई तिहाइ बहुमत सदस्यबाट विश्वासको मत पनि पाए । गत मंसिरमा सम्पन्न निर्वाचनपछि गठित प्रदेशसभा अनुसार छोटो समय मुख्यमन्त्री बनेका रावलले मुख्यमन्त्री शाहलाई ११ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्न सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् । करिब एक महिना मुख्यमन्त्री बनेका रावलसँग राजनीतिक समीकरण परिवर्तन, सरकार गठन र विश्वासको मत लिन नसक्दाका अनुभवहरुबारे रातोपाटीकर्मी लखन चौधरीले संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, पूर्व मुख्यमन्त्री रावलसँग गरिएको कुराकानीको सम्पादित अंश -

तपाईको नेतृत्वमा रहेको सरकार ढलेपछि मुख्यमन्त्री बन्नुभएका कमल बहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभयो । नयाँ सरकारबाट तपाईले कस्तो अपेक्षा गर्नुभएको छ ?

मुख्यमन्त्रीज्यूले आइतबार विश्वासको मत माग्दै गर्दा संसदमा ११ बुँदे प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हामी चाहन्छौँ, उहाँका प्रतिवद्धताहरुले साकार रुप लिऊन् । मैले उहाँलाई आइतबार नै बधाइ दिइसकेँ– तपाई आफ्नो प्रतिवद्धता आरामले पूरा गर्नुस् । जनताका आवाजहरु पूरा गर्नुस् भनेर शुभकामना दिइसकेको छु ।

मेरो आफ्नै सवाल पनि छ, जुन मैले सुरुका दिनमा पनि भनिसकेको छु । मैले पढाइ, कमाइ र दबाइको मुद्दा उठान गरेको थिएँ । साथै पानी र जवानीको कुरा भनेको थिएँ । यो मुद्दामा आमजनताको शिक्षाको अवसरको सवाल छ । जुन अहिले पनि वञ्चितीकरण छ । शैक्षिक संस्थाको पूर्वाधारको अभाव छ । स्वास्थ्य संस्थाको अभाव छ । यहाँको शिक्षा नीति बन्न सकेको छैन । राष्ट्रिय नीति पनि बन्न सकेको छैन । राष्ट्रिय ऐन पनि बन्न सकेको छैन । शैक्षिक क्षेत्रको विस्तार अझै पनि सुदूरपश्चिमका गाउँ बस्तीमा हुन सकेको छैन ।

हाम्रा जनशक्ति कुल्लीका रुपमा विदेशमा बेचिरहेका छौँ । स्याउ टिप्ने, काला पहाडमा तल्लो स्तरको श्रमिकको रुपमा श्रम बगाउँछन् । यसबाट छुट्कारा दिलाउन तथा उहाँ (मुख्यमन्त्री)ले गरेका प्रतिबद्धताले सार्थकता पाउन् भन्ने शुभकामना दिन चाहन्छु । आमजनताको जनजीविका जर्जर छ । अस्ति भर्खर बाजुराको हिमाली ग्रामीण भेग पुगेर आएँ । आमजनतासँग भलाकुसारी गरेर आएँ । त्यहाँका जनताका जीवनस्तर जर्जर अवस्थामा छ । भूस्खलनको समस्या त्यतिकै छ ।

हामीले उहाँको कार्यकालमा यी यावत् समस्याको निदानले फड्को मार्ने विश्वास लिएका छौँ । भ्रष्टचारको मुद्दामा शून्य सहनशीलता अपनाउनेमा उहाँ आफै पनि प्रतिवद्ध हुनुहुन्छ । योजना बेचबिखन गर्ने प्रचलनदेखि कमिसनखोरको अन्त्यमा गम्भीरतापूर्वक लाग्नुहुन्छ भन्नेमा पनि मैले विश्वास लिएको छु ।

समृद्ध सुदूरपश्चिमका लागि के कस्तो ‘गेम चेन्जर’ नीति तथा कार्यक्रमको आवश्यकता छ ?

यो सवालमा सर्वप्रथम सरकारको नीति तथा कार्यक्रम के रहन्छ भन्ने हो । यो सवाल सरकारलाई राख्दा राम्रो होला । अहिले हामी ‘वाच डग’को अवस्था र भूमिका छौँ । यसबारे त हामीले सदनमै सरकारलाई सल्लाह दिउँला नि । हामीले कहाँनिर सल्लाह दिनुपर्छ, हामीलाई सोच्न बाध्य पनि बनाउँछ ।

Rajendra Rawal (1)

सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्रीको रुपमा आफ्नो नाम दर्ज गराउनुभयो । एक महिना प्रदेश सरकारको नेतृत्व गरिरहँदा कस्तो अनुभूति रह्यो ?

हामीले नीतिगत सुधारको रुपमा केही कार्ययोजना लिएका थियौँ । हामीले जनतालाई ठग्ने काम गरेका छैनौँ । इमानको धरातलमा उभिएर काम गर्ने प्रयत्नमा थियौँ । हामीले पहिलो दिनमा पनि मन्त्रिमण्डल विस्तारको क्रममा विभाग तोकेनौँ । विश्वासको मत नलिइकन मन्त्री पठाउने काम गरेनौँ । मन्त्रालय बाँडेनौँ । रोजीरोजी मन्त्रालय लिने कार्यलाई निरुत्साहित गरेका थियौँ । हामीले विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेका थियौँ ।

आफ्नो कामको प्रारम्भ नै ह्विलचियर वितरणको कार्यबाट सुरु गरेको थिएँ । छोटो समयमा पनि निमुखा, गरिब,  दलित, जनजातिको बीचमा केही गर्ने मौका पाएँ । यो मेरो लागि नयाँ लेसनको रुपमा रह्यो । यसलाई मैले भोलिका दिनमा पनि अगाडि लैजाने छु ।

भिजनको सवालमा, त्यहाँका योजना आयोगको काम गरिरहेको नीति योजना अनुसन्धान प्रतिष्ठानको सवालमा तथा काम गर्ने शैलीलाई हेर्दा त्यहाँ कार्यकर्ताहरुलाई जागिर खुवाउने थलोको रुपमा रहेको हामीले फेला पारेका छौँ । हाम्रो लागि नयाँ सिकाइ भएको छ । जिल्ला विकास समितिको जस्तो पनि प्रदेशसभा चल्न सकेको रहेनछ भन्ने पायौँ । जनताको शक्ति भन्दा व्यक्तिको प्रधानता हाबी देखियो । त्यसैले आमजनताप्रति सरकार उत्तरदायी हुनुपर्छ भन्ने हो । यो नै हाम्रो लागि सिकाइ हो ।

पदमा पुग्दा र बाहिर हुँदामा के फरक छ ?

मलाई त्यस्तो केही लागेन । सरकारमा रहँदा पनि नरहँदा पनि हामी जनताको सेवक हौँ । सदैव जनताको सेवकको रुपमा काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । हाम्रो ग्रास रुटको कार्यक्रममा पनि आमजनताको पीडा सुन्ने, बुझ्ने कार्यक्रम हो । जनता माझ जाने अवसर प्राप्त भएको छ । जनतामाझ गइरहँदा नेतामुखी योजनाको परिपाटी कसरी बदल्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छु ।

यो बीचमा नयाँ अनुभूति पनि भयो । राजनीतिका भित्री खेलहरु पनि देख्न पायौँ । कुन शक्तिको इशारामा मानिसहरु चल्दैछन् भन्ने अनुभूति पनि भयो । बाह्य शक्तिको चलखेल पनि देखियो । राष्ट्र र राष्ट्रियता विरुद्ध कुठाराघातको क्रियाकलाप र आफ्नो पद र प्रतिष्ठाको लागि जे पनि गर्ने प्रवृत्ति देख्यौँ ।

मुख्यमन्त्री शाहलाई तपाईको कस्तो सहयोग रहन्छ ?

सुदूरपश्चिममा म प्रमुख प्रतिपक्षी दलको नेता हुँ । त्यसकारण सरकारलाई रचनात्मक र क्रिटिकली विश्लेषणको आधारमा हेर्छौँ । उहाँको गुण र दोषको आधारमा सहयोग रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप